सिन्धुपाल्चोकमा यस्तो छ पछिल्लो विवरण , संक्रमित संख्या ४ सय ६५, सक्रिय संख्या १ सय ६६

कार्तिक १३, चौतारा (सिन्धुपाल्चोक) । देशभर कोरोना संक्रमितको संख्या बढेसंगै सिन्धुपाल्चोकमा समेत संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ ।
राजधानी काठमाडौं लगाएत उपत्यकामा बढि मात्रामा देखिएको कोरोना भाईरसका संक्रमितहरु अहिले स्थानीय तह सम्म फैलिएका छन् ।
पछिल्लो प्राप्त विवरण अनुसार सिन्धुपाल्चोकमा संक्रमितको संख्या ४ सय ६५ पुगेको छ । त्यस्तै सक्रिय संख्या १ सय ६६ पुगेको छ । यो आज सम्मको जिल्ला स्वास्थ्य कार्यालयले निकालेको तथ्याङ्क हो । पछिल्लो समय सिन्धुपाल्चोकमा दैनिक सरदर १५ जना सम्मको कोरोना पोजेटिभ आउने गरेको वरिष्ट जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापाँगाईले सिन्धुज्वालालाई बताए । उनका अनुसार जिल्लामा हालसम्म ५ हजार ६ सय ९८ जनामा नमुना स्वाब लिएर परिक्षण गराउँदा ४ सय ६५ मा कोरोना पोजेटिभ देखिएको हो । सक्रिय संख्या १ सय ६६ रहेपनि २ स ८८ जना निको भएर घर फर्किएको उनले जानकारी दिए । संक्रमित १ सय ६६ मध्ये १४ जना आईसोलेसनमा र बाँकी होम आईसोलेसनमा रहेको उनले बताए । १४ जना जिल्ला भित्रको आईसोलेसनमा र २१ जना जिल्ला बाहिरको आईसोलेसनमा रहेको समेत उनले बताए । उनका अनुसार जिल्ला भित्र १ सय १६ जना होम आईसोलेसनमा र १८ जना जिल्ला बाहिर रहेका छन् । जसमध्ये जिल्लामा स्वास्थ्यकर्मी १७ जना र सुरक्षाकर्मी ३४ जना रहेको समेत उनले जानकारी दिए ।