परिवर्तित समयमा अभिभावकहरुको दायित्व विषयमा वृहत छलफल
जेष्ठ १४, भक्तपुर । अभिभावक संघ नेपाल भक्तपुर जिल्ला कार्यसमितिले परिवर्तित समयमा अभिभावकको दायित्व विषयक वृहत छलफल गरेको छ ।
नेपाल सरकारको शिक्षानीति अनुसार शैक्षिक सत्र शुरु भएसँगै संस्थागत विद्यालयका अभिभावक माथि पहिलेदेखि विनाकारण एउटै विषय अन्तर्गत पर्ने शिर्षक वा उपशिर्षकलाई छुट्टाछुट्टै शिर्षक बनाई शुल्क उठाउने गर्दै आएको प्रवृतिमा खासै तात्विक भिन्नता नआएको गुनासो बढ्न थालेपछि अभिभावक संघ नेपाल भक्तपुर जिल्ला कार्यसमितिले बिहिबार एक समारोह बीच बृहत छलफल कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त अवसरमा अभिभावक संघ नेपालका सङस्थापक अध्यक्ष एवम वर्तमान संरक्षक सुप्रभात भण्डारीले बेथितिबाट आजित युवा जमातको जलनले स्थापित वर्तमान सरकार संग नयाँ पुस्तालेअनुशासनमा आधारित सस्तो , सुलभ र बैज्ञानिक शिक्षाको ठूलो आशा गरेको बताए । पछिल्ला घटनाक्रमले संस्थागत स्कुका संञ्चालकहरुसँग पहिले देखिको मालिक्याईं फेरिएको नदेखिएको उनको ठम्याई छ । मात्र नयाँ परिवेश सँगै मालिक्याईंलाई निरन्तरता दिन छेपारोले झैं रुप बदलेको देखिएको उनको ठहर छ । ‘सिङ्गो अभिभावकहरुका लागि हामी हिजो लड्यौ , आज लड्दै छौ र संघर्षको पाइलामा हाम्रो सक्रियतालाई निरन्तरता दिईरहँछौ’, उनले भने ।
कार्यक्रममा अभिभावक संघ नेपालका केन्द्रीय अध्यक्ष केशव पुरीले अभिभावक संघको लामो ईतिहास खराब कुराको साँक्षि बसेर बनेको नभई अभिभावकहरुको हरेक दुःख , कष्ट, पीडालाई लिएर आफ्नो अग्रसरता देखाउँनु हाम्रो पहिलो कर्तव्य भएको बताए । अर्का वक्ता अभिभावक संघ नेपालका केन्द्रीय उपाध्यक्ष केपी शर्माले अभिभावकहरुले तिर्ने शुल्कको यथार्थ विवरण खुलाई संस्थागत बिल भरपाई दिन आनाकानी गर्नु वा नमान्नु सरासर ठगी भएको बताए ।
नेपाल सरकारको शिक्षा नियमावली विपरित अभिभावकहरुको ढाड सेक्ने गरी शुल्क वृद्धि गरि असुलेको कुरालाई घुमाई फिराई नछोड्ने मनोवृत्ति विरुद्ध अभिभावकहरुको सामूहिक प्रयास र भावना माथि भाँजो हाल्न खोज्ने जस्ता अनैतिक प्रवृत्ति संस्थागत विद्यालयमा देखिंनु अक्षम्य छ भन्दै अभिभावक संघ नेपाल भक्तपुर जिल्ला कार्यसमितिका अध्यक्ष रामकृष्ण प्रजापतिले सञ्चालन गरेको उक्त छलफल कार्यक्रममा उपाध्यक्ष राम सुवाक , सचिव आसराम सुवाल , कोषाध्यक्ष कृष्णप्रसाद दुमरु ,सदस्य घनश्याम लगायत विभिन्न संस्थागत विद्यालयका अभिभावकहरुले पनि स्थानिय निकायले अभिभावक संघ समेतको सहभागितामा विद्यालय अनुगमन गर्नुपर्ने विषयलाई जोडदिन्दै आ– आफ्नो भनाई ब्यक्त गरेका थिए ।

