डेढ महिना पुग्दा समेत खुलेन जुगल क्षेत्रका तीन हाइड्रोपावर, जिल्ला प्रशासन र स्थानीय सरकारले गरे वेवास्ता

जेष्ठ १५, ढाँडे । लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा निर्माणाधीन तीन वटा हाइड्रोपावर कम्पनी डेढ महिना वित्दा समेत खुल्न सकेन ।

डेढ महिना अघि तीनवटा हाइड्रोपवारलाई तत्काल काम रोक्न निकुञ्जले आदेश जारी गरेको थियो । अनुमति बिना आयोजना निर्माण कार्य नगर्न भन्दै लाङटाङ राष्ट्रिय निकुञ्जले ब्रह्मायणी हाइड्रोपावर कम्पनी प्राली काठमाडौँ ब्रह्माणी जलविद्युत आयोजना ३६.५२ मेगावाट उपरोक्त सम्बन्धमा लाङटाङ राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रको सरकारी वन क्षेत्रमा प्रस्तावित आयोजना निर्माण तथा सञ्चालन पूर्व संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणका लागि जग्गा उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८० बमोजिम सरकारी वन क्षेत्रमा रहेका रुखबिरुवा हटाउनका लागि स्वीकृत लिनु पर्ने उल्लेख गरेको छ ।

नेपाल सरकारबाट जग्गाको भोगाधिकार लिइ प्रचलित कानुन बमोजिम प्रक्रिया पूरा गरी आयोजना निर्माण गर्न भन्दै निकुञ्जले निर्माधिन आयोजनामा रोक लगाएको हो । लाङटाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्याम कुमार शाहद्वारा हस्ताक्षरित पत्रमा प्रक्रिया पूरा नगरी गैरकानुनी कार्य गरेमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली २०५२ तथा प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी दिएपछि डेड महिना देखि आयोजनाको काम ठप्प छ । हाइड्रोपावर सञ्चालक तथा प्रतिनिधि क्षेत्र नम्बर १ का संघीय सांसद भरत प्रसाद पराजुलीले निकुञ्ज क्षेत्रमा हाइड्रोपावर निर्माण गर्न इआइए गरेको र नेपाल सरकारको सबै निकायबाट अनुमति लिएको बताए । ‘हामीले सबै प्रक्रिया पूरा गरेर हाइड्रोपावर निर्माण सुरु गरेका हौं, उनले भने ।
आयोजना स्थलमा निर्माण कार्य रोक्न भन्दै नेपाली सेनाको एउटा टुकडी गएर बसेको ब्रह्माणी जलविद्युत कम्पनीका आयोजना प्रमुख श्याम बजगाइले बताए । ‘निर्माण कार्य नगर्नु भनेर उहाँहरु निर्माण स्थलमै बस्नु भएको छ, डेड महिना देखि आयोजनको काम ठप्प छ’, बजगाइले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सिन्धुपाल्चोक क्षेत्र नं. १ का सांसद बनेका भरतप्रसाद पराजुलीको लगानीमा सञ्चालित जुगल गाउँपालिका–२, दिपुमा रहेको ३६ दशमलव ५ मेगावाटको ब्रह्मायणी हाइड्रोपावर, १५ दशमलव १५ मेगावाट अपर ब्रह्मायणी छिन्ताङ र ७ मेगावाटको अर्को हाइड्रोपावरको काम बन्द गरिएको हो ।

हाइड्रोपावर बन्द गर्न आदेश निकुञ्जले दिएको भन्ने कुरा सामन्य जानकारी भएपनि विस्तृतमा बुझ्न बाँकी रहेको सिन्धुपाल्चोक प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताए । यस सन्दर्भमा निकुञ्जका चिफ वाडेन श्यामकुमार शाह संग बुझ्न खोज्दा उनीसंग फोन सम्पर्क हुन सकेन ।

निर्माणको क्रममा रहेका तीन वटै हाइड्रोपावर कम्पनीको निजी तथा सार्वजनिक जमिन जुगल गाउँपालिकाको २ नम्बर वडा तेम्बाथाङ, दिपु, साङलुङदेखि जुगलको फेदीसम्म लाङटाङ राष्ट्रिय निकुञ्ज र वडा नम्बर ३ को हिमाली क्षेत्र गौरीशंकर संरक्षण क्षेत्रभित्र पर्छ । उक्त जमिन रेडलाइन र बफरजोन क्षेत्रमा नपर्ने आयोजनको दावी छ । आयोजना बन्द भएको सन्दर्भमा जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बो संग फोन सम्पर्क गर्न खोज्दा उनले यस बारेमा कुरा गर्न चाहेनन् ।