एसइइ २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

जेष्ठ १४, चौतारा । नेपाल राष्ट्रिय शिक्षक संगठन तथा शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि द्वारा संयुक्त रुपमा आयोजित एसइइ २०८२ उत्कृष्ट विद्यार्थी सम्मान तथा बधाई कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८२ मा उत्कृष्ट जिपिए हासिल गर्ने जिल्लाभरिका विद्यार्थीहरूलाई सम्मान गर्दै उनीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिएको थियो ।

कृष्णबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका सदस्य एवं शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ प्रमुख अतिथि रहेका थिए । त्यस्तै, विशेष अतिथिका रूपमा राष्ट्रिय समिति सदस्य मैया पौडेलको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पालिकागत, जिल्लागत उत्कृष्ट प्राप्त गरेका विभिन्न विद्यालयका विद्यार्थीहरूलाई नगद सहित मेडल, सम्मानपत्र, खादा तथा बधाई ज्ञापन गरिएको थियो । जिल्लाका अन्य उत्कृष्ट नतिजा ल्याउने १६ जना विद्यार्थीहरूलाई सम्मानित गरिएको हो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेपाल शिक्षक संघकी उपाध्यक्ष निर्मला तिमल्सिनाले विद्यार्थीहरूको मेहनत, अनुशासन र लगनशीलताले समाज र राष्ट्रलाई सकारात्मक दिशा दिने बताइन ।

त्यसैगरी नेपाल शिक्षक महासंघका उपाध्यक्ष नमराज नेपालले विद्यार्थीहरूलाई निरन्तर अध्ययन, सिर्जनशीलता र नैतिक शिक्षातर्फ अग्रसर हुन प्रेरित गरिन ।

अभिभावकको तर्फबाट बोल्दै डम्बर रसिक भारतीले विद्यार्थीहरूको सफलतामा अभिभावकको जिम्मेवारी महत्वपूर्ण हुने उल्लेख गर्दै आगामी दिनमा पनि बालबालिकालाई सकारात्मक वातावरण दिनुपर्ने आवश्यकता औंल्याए ।
सम्मानित विद्यार्थीहरूको तर्फबाट बाल शिक्षा माध्यमिक विद्यालय, खाडीचौरकी छात्रा अनिषा पराजुलीले मन्तव्य राख्दै शिक्षक, अभिभावक तथा विद्यालयप्रति आभार व्यक्त गरे । उनले विद्यार्थीहरूको सफलतामा परिवार, शिक्षक र समाजको संयुक्त योगदान रहने धारणा व्यक्त गरे ।

लेखनाथ भट्टराईद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रममा स्वागत मन्तव्य, शुभकामना आदानप्रदान, सम्मान वितरण तथा धन्यवाद ज्ञापनसहित समापन गरिएको थियो । कार्यक्रममा विभिन्न शिक्षक संगठनका प्रतिनिधि, स्थानीय तहका अध्यक्षहरू, पत्रकार तथा शिक्षा क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा थप उत्साह, प्रेरणा र प्रतिस्पर्धात्मक भावना विकास गर्ने विश्वास व्यक्त गरेका थिए ।