नेपालको सुधारमुखी राजनीति र आधुनिक पूँजी बजार

महेन्द्र पराजुली (अधिवक्ता)

नेपाल परिवर्तनको मोडमा उभिएको देश हो । दशकौंदेखि देशलाई पछाडि तानेको पुरातन सोच, राजनैतिक खिचातानी र कमजोर आर्थिक संरचनाबाट बाहिर निस्कने आकांक्षा अहिले समाजभर देखिन थालेको छ । नयाँ पुस्ताले केवल सरकार परिवर्तन मात्र होइन, सोच, प्रणाली र आर्थिक दृष्टिकोणमै परिवर्तन खोजिरहेको अवस्था छ । यही कारण सुधारमुखी राजनीति, आधुनिक अर्थतन्त्र र पारदर्शी वित्तीय प्रणालीप्रति जनताको चासो बढ्दै गएको छ ।

हाल बनेको नयाँ सरकार र अर्थ मन्त्रालयप्रति पनि जनतामा केही आशा देखिएको छ । देशको अर्थतन्त्रलाई चलायमान बनाउने, निजी क्षेत्रलाई प्रोत्साहन गर्ने, पूँजी बजारप्रति सकारात्मक दृष्टिकोण अपनाउने र लगानीमैत्री वातावरण निर्माण गर्ने संकेत प्रविष्ट गरेको छ । यद्यपि आशा मात्रले पर्याप्त हुँदैन, ती प्रतिबद्धता व्यवहारमा कार्यान्वयन हुनु अझ महत्त्वपूर्ण विषय हो । आजको विश्वमा कुनै पनि राष्ट्र पूँजी बजारप्रति गम्भीर नभई दीर्घकालीन आर्थिक रूपान्तरणमा सफलता हासिल गर्न सक्दैन । पूँजी बजार केवल शेयर किनबेच हुने स्थान मात्र होइन, यो लगानी, उद्यमशीलता, नवप्रवर्तन, औद्योगिक विकास र आर्थिक समृद्धिको आधार स्तम्भ हो । जुन देशहरूले आफ्नो वित्तीय प्रणालीलाई आधुनिक बनाएको छ, ती देशहरूले विश्वव्यापी लगानी आकर्षित गरेको छ, रोजगारी सिर्जना गरेको छ र नागरिकको जीवनस्तर उकासेको छ । नेपालमा पनि अहिले आर्थिक आधुनिकीकरण, संरचनागत सुधार र लगानीमैत्री वातावरणको आवश्यकता गम्भीर रूपमा महसुस हुन थालेको छ । देशले वित्तीय पूर्वाधारलाई आधुनिक बनाउनुपर्छ, स्वदेशी तथा विदेशी लगानीलाई आकर्षित गर्नुपर्छ, लगानीकर्ताको विश्वास बलियो बनाउनुपर्छ र प्रविधिमैत्री नीति तथा नियम ल्याउनुपर्छ । तव मात्र नेपालले आधुनिक विश्व वित्तीय प्रणालीसँग जोड्ने दीर्घकालीन दृष्टिकोण तय गर्छ ।

यही सन्दर्भमा नेपालको शेयर बजारप्रति युवाहरूको आकर्षण बढिरहेको छ । पछिल्ला केही वर्षहरूमा हजारौं नयाँ लगानीकर्ता बजारमा प्रवेश गरेका छन् । डिजिटल प्रविधिको विस्तार, अनलाइन कारोबार प्रणाली र वित्तीय पहुँचले शेयर बजारलाई आम जनताको पहुँचमा पुर्यायको छ । तर अझै पनि धेरै युवाहरू सही समयमा लगानी कसरी गर्ने ? र लगानीलाई कम्पाउन्डिङमार्फत कसरी वृद्धि गर्ने ? भन्ने विषयमा स्पष्ट जानकारी खोजिरहेका छन् । पछिल्ला वर्षहरूमा लगानीकर्ताको संख्या उल्लेखनीय रूपमा बढे पनि बजार अझै अस्थिर, सीमित र नीतिगत रूपमा कमजोर देखिन्छ । डिजिटल प्रविधिको प्रयोग र अनलाइन कारोबार प्रणालीले बजारलाई केही आधुनिक बनाएको भए पनि सूचना असमानता, हल्लाको आधारमा लगानी गर्ने प्रवृत्ति, सीमित वित्तीय उपकरण र कमजोर नियमनजस्ता समस्याहरू अझै विद्यमान छन् । यही कारण बजारमा दीर्घकालीन स्थायित्व निर्माण हुन सकेको छैन । शेयर बजारमा सही समय चिन्नु सजिलो काम होइन । बजार कहिले बढ्छ र कहिले घट्छ भन्ने कुरा आर्थिक, राजनीतिक र मनोवैज्ञानिक कारणले निर्धारण गर्छ । तर सफल लगानीकर्ताहरूले केही आधारभूत पक्षमा ध्यान दिन्छन्, कम्पनीको वित्तीय अवस्था, व्यवस्थापन क्षमता, बजारको अवस्था, सरकारी नीति र भविष्यको सम्भावना । बजार घटेको समयमा राम्रो कम्पनीमा धैर्यपूर्वक लगानी गर्नेहरू दीर्घकालमा प्रायः सफल हुने गरेका छन् । र यहींबाट कम्पाउन्डिङको वास्तविक शक्ति सुरु हुन्छ । कम्पाउन्डिङ भनेको लगानीबाट आएको नाफालाई पुनः लगानी गर्दै पूँजीलाई समयसँगै गुणात्मक रूपमा वृद्धि गर्नु हो । यदि कसैले नियमित रूपमा राम्रो कम्पनीमा लगानी गरेर प्राप्त लाभांश र नाफालाई पुनः लगानी गर्दै जान्छ भने केही वर्षपछि सानो रकम पनि ठूलो सम्पत्तिमा रूपान्तरण हुन सक्छ । सफल लगानीकर्ताहरूले धैर्य, अनुशासन र दीर्घकालीन सोचलाई सम्पत्ति निर्माणको मुख्य आधार मानेका छन् ।

नेपालको पूँजी बजारलाई बलियो बनाउन कानूनी र नीतिगत सुधार अत्यन्त आवश्यक छ । हाल नेपालमा धितोपत्र बोर्ड (क्भ्द्यइल्), नेपाल स्टक एक्सचेञ्ज (ल्भ्एक्भ्) र केन्द्रीय निक्षेप प्रणाली (ऋम्क्ऋ) जस्ता संस्थामार्फत बजार सञ्चालन भइरहेको छ । धितोपत्र ऐन, कम्पनी ऐन र विभिन्न निर्देशिकाले बजारलाई नियमन गरिरहेका छन् । तर यतिले मात्र बजार सुरक्षित र विश्वसनीय बन्न सक्दैन भन्ने प्रश्न अझै उठिरहेको छ । त्यसैले अब सरकारले केही महत्त्वपूर्ण सुधारहरूमा ध्यान दिन आवश्यक छ । पहिलो, नियामक निकायलाई राजनीतिक प्रभावबाट मुक्त र पूर्ण व्यावसायिक बनाइनुपर्छ । दोस्रो, लगानीकर्तालाई छिटो, पारदर्शी र विश्वसनीय सूचना उपलब्ध गराउने प्रणाली विकास गर्नुपर्छ । तेस्रो, विदेशी लगानी तथा संस्थागत लगानीकर्तालाई आकर्षित गर्ने स्पष्ट र स्थिर नीतिको अबलम्वन गर्नुपर्छ । चौथो, नयाँ वित्तीय उपकरण, प्रविधिमैत्री कारोबार प्रणाली र डिजिटल सुरक्षालाई अझ मजबुत बनाइनुपर्छ । पाँचौँ र महत्वपूर्ण वित्तीय साक्षरतालाई विद्यालय र विश्वविद्यालय तहदेखि नै पाठ्यक्रमसँग जोड्नु पर्छ । यसका साथै, अहिले सरकारले उत्पादनमूलक क्षेत्र, ऊर्जा, पर्यटन, सूचना प्रविधि र पूर्वाधारका क्षेत्रमा लगानी विस्तार गर्ने संकेत दिएको छ । यदि यी नीतिहरू प्रभावकारी रूपमा कार्यान्वयन भए भने नेपालको पूँजी बजारले पनि नयाँ गति लिन सक्छ । निजी क्षेत्र र सरकारबीच सहकार्य बढेमा आर्थिक गतिविधि विस्तार हुने, रोजगारी सिर्जना हुने र दीर्घकालीन आर्थिक स्थायित्व निर्माण हुने सम्भावना बलियो देखिन्छ ।

नेपालसँग अझै अपार सम्भावना छ । जलस्रोत, पर्यटन, कृषि, सूचना प्रविधि र युवा जनशक्ति हाम्रो सबैभन्दा ठूलो शक्ति हो । तर सम्भावनाले मात्र परिवर्तन ल्याउँदैन । कार्यान्वयनविहीन दृष्टिकोण अन्ततः अर्को राष्ट्रिय निराशामा परिणत हुन्छ । त्यसैले, जनताले अब केवल नारामा परिवर्तन खोजेका होइनन्, अब प्रणाली, संस्था र सोचमै वास्तविक परिवर्तनको अपेक्षा गरेका छन् । यदि नेपालले सुधारमुखी राजनीति, पारदर्शी आर्थिक नीति र आधुनिक पूँजी बजार निर्माण गर्न सक्यो भने भविष्यमा देशले ठूलो आर्थिक रूपान्तरण हासिल गर्न सक्छ । त्यसैले समृद्ध नेपाल केवल कल्पनामा सीमित विषय होइन, सही नेतृत्व, स्पष्ट दृष्टिकोण, पारदर्शी नीति र प्रभावकारी कार्यान्वयन भए त्यो अवश्य सम्भव छ ।