जुगल हिमश्रृङ्खला विश्वको १० गन्तव्यभित्र, आउँदो अप्रिलमा पर्यटकको ओईरो लाग्ने

दिनेश दुलाल
माघ १९, चनौटे । सिन्धुपाल्चोक जिल्लामा पर्ने जुगल हिमश्रृङ्खला सन २०२४ को लागि विश्वको १० गन्तव्यभित्र पर्न सफल भएको छ । ‘दि लिडिङ म्यागाजिन फर ट्रेकर्स एण्ड माउन्टेनियर्स’ नामक चर्चित बेलायती पत्रिकाले १० गन्तव्य भित्र जुगल हिमश्रृङ्खलालाई राखिएको जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबोले जानकारी दिए । उनका अनुसार बेलायती पत्रिकाले जुगल हिमाललाई ‘काहाँ जान्छौं’ भन्ने शीर्षकमा विश्वको नयाँ १० गन्तब्य भित्र राखी प्रचार गरेको हो ।

यसैबीच आउँदो अप्रिल अर्थात बैशाख पहिलो हप्ता कोरिया र बेलायतबाट सयौं पर्यटक जुगल आरोहणमा आउने भएका छन् । कोरियाका ५० भन्दा माथि पर्यटक हिमाल आरोहणको लागि आउन जुगल गाउँपालिकासंग सम्झौता नै भईसकेको गाउँपालिका अध्यक्ष रेशम स्याङबोले जानकारी दिए । उनका अनुसार कोरियाबाट आउने ५० पर्यटक मध्ये १० जनाले जुगल हिमालको आरोहरण गर्नेछन् भने बाँकी अन्तिम बेसक्याम्प सम्म पुगेर फर्कने छन् । बेलायतबाट आउने पर्यटक भने कतिले हिमाल चढ्छन् भन्ने कुरा यकिन हुन बाँकी रहेको उनको भनाई छ ।

स्मरण रहोस ५ वर्ष यता जुगल हिमाल आरोहण गर्ने पर्यटकको संख्या बढ्दो क्रममा रहेको छ । सोही अनुसारको पालिकाले व्यवस्थापनको तयारी पुरा गरेको समेत जनाएको छ ।

यो पनि पढ्नुहोस

पर्यटन भित्र्याउने जुगलको प्रयास, तेम्बाथानमा होमस्टे तालिम