नेकपाले लामो भाषण गर्न र खादा मालाको प्रयोगमा रोक लगाउँदै
जेठ १ -२०८३), काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले लामो भाषण गर्न र खादामालाको प्रगोगमा बन्देज लगाउने भएको छ । सो पार्टीको हालै बसेको बैठक तथा कार्यक्रमको लागि नेकपाले तय गरेको कार्यविधिमा यस्तो किसिमको प्रावधान राखेको हो ।
सो पार्टीले जनाएअनुसार पार्टीको आन्तरिक तथा वाह्य कार्यक्रममा जो सुकैले पनि सम्बोधनका क्रममा लामो भाषण गर्न पाउने छैनन् । त्यस्तै मञ्चमा अतिथिको नाममा भद्दा सहभागि तथा खादा मालाको फजुल खर्च भएको निश्ष्कर्ष निकाल्दै सो परिपाटीको अन्त्य गर्ने जनाएको छ ।
सो पार्टीले जारी गरेको सर्कुलर अनुसार मञ्च व्यवस्थापन गर्दा अध्यक्ष, प्रमुख अतिथि निर्धारित वक्ता र कार्यक्रम सञ्चालक मात्र बस्ने व्यवस्था मिलाउने धेरै वक्ता नराख्ने नीति लिएको छ । त्यस्तै लामो–लामो भाषण नगर्ने, प्रत्येक वक्ताका लागि निश्चित समय तोक्ने, वक्ता छनोट गर्दा सम्बन्धित विषय तथा कार्यक्षेत्रका व्यक्तिलाई प्राथमिकता दिने, प्रमुख अतिथि पनि सम्बन्धित विषय तथा कार्यक्षेत्रकै व्यक्ति रहने व्यवस्था गर्ने सो पार्टीले जनाएको छ ।
त्यस्तै कार्यक्रम सुरु भइसकेपछि पूर्व निर्धारित प्रमुख अतिथि भन्दा वरिष्ठ व्यक्तिको उपस्थित भएपनि पूर्व निर्णय परिवर्तन नगर्ने, कुनै एक कार्यक्षेत्रका नेता अर्को कार्यक्षेत्रमा जाँदा सम्बन्धित कार्यक्षेत्रका जिम्मेवार नेतासँग सम्बन्धित गरी मात्र जाने, एकअर्काको कार्यक्षेत्रमा हस्तक्षेप गर्ने कार्य नगर्ने, कुनै समस्या देखिएमा माथिल्लो तहलाई जानकारी गराई समाधानमा सहयोग गर्ने र उक्त निर्णयहरू कार्यान्वयनको लागि सो पार्टीले तल्लो कमिटीसम्म सर्कुलर गर्ने जनाएको छ । उक्त निर्णयलाई अक्षरस पालना गरिने सो पार्टीले जनाएको छ ।
स्मरण रहोस् पुराना दलहरूमध्ये खादामालाको प्रयोग तथा लामो भाषण गर्ने परिपाटीलाई नियन्त्रण गर्ने अभियान सम्भवत नेकपाको पहिलो प्रयास भएको जानकारीहरू बताउँछन् । नेकपाको पछिल्लो निर्णयलाई समेत सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले निकै रोचकका साथ हेरेका छन् ।

