यस बर्षको एसईईमा सिन्धुपाल्चोकका ७ विद्यालयको नतिजा शून्य

बैशाख २९ -२०८३), चौतारा । यस वर्षको माध्यमिक शिक्षा परीक्षा -एसईई) मा सिन्धुपाल्चोक जिल्लाका सात वटा विद्यालयको नतिजा शून्य आएको छ । सामुदायिक ती विद्यालयबाट साधारण तर्फ परीक्षामा सहभागी भएका कुनै पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन् ।
जस अनुसार जिल्लाका लिसंखुपाखर गाउँपालिकाका दुई, चौतारा साँगाचोकगढी नगरपालिकाको एक, बलेफी गाउँपालिकाको एक, भोटेकोशी गाउँपालिकाका दुई र हेलम्बु गाउँपालिकाको एक विद्यालयमा एकजना पनि विद्यार्थी सफल हुन नसकेको शिक्षा विकास तथा समन्वय इकाइ सिन्धुपाल्चोकले जनाएको छ ।
समन्वय इकाइ सिन्धुपाल्चोकका अनुसार लिसंखुपाखर गाउँपालिकास्थित बुद्धोदय माध्यमिक विद्यालय र धर्मोदय माध्यमिक विद्यालयको नतिजा शून्य आएको हो । त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिकाको वनदेवी माध्यमिक विद्यालय चौतारा, बलेफी गाउँपालिकाको वनसाँघु माध्यमिक विद्यालय, भोटेकोशी गाउँपालिकाको मार्मिङ माध्यमिक विद्यालय र भिमसेन माध्यमिक विद्यालय तथा हेलम्बुको हेलम्बु बोधिसत्व मोडल स्कुलमा साधारण तर्फ सबै विद्यार्थी ननग्रेडेड भएका छन् ।
यीमध्ये लिसंखुको बुद्धोदय मावि, भोटेकोशीको भिमसेन मावि र हेलम्बुको हेलम्बु बोधिसत्व मोडल स्कुलमा प्राविधिक धारको समेत पठनपाठन हुने गरेको छ । प्राविधिक धारतर्फ भने केही विद्यार्थी मात्र ग्रेडेड भएका थिए ।
स्मरण रहोस सिन्धुुपाल्चोकमा १२९ सामुदायिक, ११ संस्थागत र ३ खुला विद्यालय गरी जम्मा १४३ विद्यालयले माध्यमिक शिक्षा परीक्षा २०८२ मा सहभागिता जनाएका थिए ।

