बाह्रबिसे नगरपालिकाद्वारा करिब ७५ करोडको बजेट सार्वजनिकः शिक्षा, विपद् व्यवस्थापन र वडा विकास प्राथमिकता
दिनेश दुलाल
असार ९, बाह्रबिसे । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले आर्थिक वर्ष २०८३÷०८४ का लागि कुल रु. ७४ करोड ८६ लाख १० हजार ९ सय ५० को अनुमानित बजेट सार्वजनिक गरेको छ ।

नगरपालिकाकी उपप्रमुख मन्जु तामाङले १९ औं नगर सभामा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम उक्त वार्षिक बजेट तथा कार्यक्रम पेस गरेकी हुन । प्रस्तुत बजेटले गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य र सिन्धुपाल्चोकको भौगोलिक संवेदनशीलतालाई ध्यानमा राख्दै मनसुनजन्य विपद् व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखेको जनाइएको छ ।
आय तर्फको मुख्य विवरण ः नगरपालिकाले विभिन्न शीर्षकबाट स्रोत परिचालन गर्ने अनुमान गरेको छ, । जसका मुख्य बुँदाहरू संघीय सरकार वित्तीय समानीकरण अनुदानः रु. १३ करोड ९ लाख, संघीय ससर्त अनुदान रु. २४ करोड ६६ लाख, बागमती प्रदेश राजश्व बाँडफाँडः रु. ५ करोड २४ लाख ४० हजार ७ सय ४० रहेको छ ।
सामाजिक सुरक्षा भत्ताः रु. १५ करोड ६० लाख १५ हजार ७ सय ५०, स्थानीय कर व्यवसाय, सिफारिस दस्तुर रु. ७६ लाख ९५ हजार रहेको छ ।

यस्तै खर्च (विनियोजन) तर्फका प्रमुख क्षेत्रहरूमा सार्वजनिक बजेटलाई नगरबासीको आवश्यकता र समानुपातिक विकासका आधारमा यसरी बाँडफाँड गरिएको छ । वडास्तरीय विकास बजेटमा ९ वटा वडाहरूका लागि प्रतिवडा रु. ५० लाखका दरले कुल रु. ४ करोड ५० लाख समानुपातिक रूपमा विनियोजन गरिएको छ ।
शिक्षा क्षेत्रको विकासमा नगरपालिकाले उच्च प्राथमिकता दिँदै शिक्षा क्षेत्रका लागि रु. ४ करोड छुट्याएको छ । यसबाट कक्षा १० सम्म दिवा खाजा र कक्षा १२ सम्म निःशुल्क शिक्षा कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख छ ।
यस्तै समपूरक कोषको लागि संघ र प्रदेश सरकारसँगको लागत साझेदारीका कार्यक्रमहरू चलाउन रु. २ करोड ६० लाख विनियोजन गरिएको छ ।
कृषि तथा पशु विकासमा कृषिको आधुनिकीकरण र पकेट क्षेत्र विकासका लागि कृषि तर्फ रु. ५५ लाख र पशु विकास तर्फ रु. २५ लाख विनियोजन भएको छ । विपद् व्यवस्थापन र आवास पुनर्निर्माणमा मनसुनजन्य जोखिम न्यूनीकरण र घरबारविहीन भएकाहरूको आवास पुनर्निर्माणका लागि रु. ५० लाख छुट्याइएको छ । स्वास्थ्य क्षेत्रको लागि सर्वसाधारणको स्वास्थ्यमा सहज पहुँचका लागि रु. ५० लाख बजेट विनियोजन गरिएको छ । कार्यालय सञ्चालन तथा चालु खर्चको अलागि कर्मचारीको पारिश्रमिक, इन्धन, मर्मत सम्भार र प्रशासनिक कार्यका लागि रु. १६ करोड ३३ लाख ८० हजार २ सय विनियोजन गरिएको छ ।
कर्मचारीलाई प्रोत्साहन र बचाउको अपिलबजेट वक्तव्य प्रस्तुत गर्दै उपप्रमुख तामाङले नेपाल सरकारको नीति अनुसार वृद्धि भएको कर्मचारीको तलब र नगरपालिकाले पहिलेदेखि दिँदै आएको प्रोत्साहन भत्तालाई निरन्तरता दिने घोषणा गरेकी छिन । साथै, मनसुन सुरु भइसकेकाले सम्पूर्ण नगरबासीहरूलाई प्राकृतिक विपद्बाट बच्न चनाखो र सुरक्षित रहन समेत उनले अपिल गरिन । बाह्रबिसे कबर्ड हलमा मंगलबार सम्पन्न १९ औं नगरसभामा विभिन्न वडाका वडाअध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत गणेश नेपाली लगाएत कर्मचारीहरु कार्यपालिका सदस्यहरुको सहभागीता रहेको थियो ।
यो पनि पढ्नुहोस

