बाँदर धपाउन थापेको करेन्टको पासोमा परेर सिन्धुपाल्चोकमा किसानको मृत्युः

राज्यको उदासीनता र किसानको बाध्यताको एउटा दुःखद परिणाम

असार ६, मेलम्ची, (सिन्धुपाल्चोक) । २०८३ बाँदरको आतङ्कबाट आजित भई अन्नबाली जोगाउन खेतमा थापेको विद्युतीय पासो (करेन्ट) मा परेर सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१० बगुवाका ६६ वर्षीय किसान भीमप्रसाद दुलालको दुःखद निधन भएको छ । खेतमा धानको बीउ राख्न जाने क्रममा आफ्नै खेतबारीमा बाँदर धपाउन राखिएको करेन्टको पासोमा पर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक भिमप्रसादका भतिज राजेन्द्र दुलालका अनुसार घरबाट करिब ५०० मिटर टाढा रहेको खेतमा मृत अवस्थामा भेटिएका दुलाललाई उनका दाजु टोमशंकर दुलालले देखेपछि प्रहरीलाई खबर गरेका थिए । ‘उहाँ (काका) बिहानै सात बजे खेतमा बिउको व्याड बनाउन झार उखेल्न खेतमा जानु भएछ । बिहानै शीतमा बाँदरलाई धराप राखेको करेन्ट जमिनमा समेत लाग्दा उहाँको ज्यान गयो’, राजेन्द्रले सिन्धुज्वालासंग भने ।

५ गते बिहान ७ बजे करेन्ट लागेर ढलेका भिमप्रसादलाई शनिबार अर्थात ६ गते १२ बजे मात्रै मृत अवस्थामा फेला पारिएको राजेन्द्रले बताए । उनका अनुसार सोही दिन मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरी दाहासंस्कार गरिएको हो ।

स्मरण रहोस उक्त घटना केवल एउटा भवितव्य दुर्घटना मात्र होइन, बरु नेपाली किसानले दैनिक भोग्दै आएको पीडा, बाध्यता र राज्यको नीतिगत कमजोरीको एउटा डरलाग्दो ऐना हो । लठ्ठीदेखि करेन्टसम्मको बाध्यता गाउँघरमा बाँदरको आतङ्क यसरी बढेको छ कि किसानहरूले आफ्नो वर्षभरि खाने अन्न जोगाउन अनेकौँ उपायहरू अपनाउन बाध्य छन् ।

सुरु–सुरुमा लठ्ठीले धपाउने, त्यसपछि ढुङ्गा र गुलेलीको प्रयोग गर्ने र पछिल्लो समय आवाज आउने मेसिन वा बन्दुक पड्काएर बाँदर भगाउने प्रयास गरे पनि बाँदरहरू निकै चलाख भइसकेका छन् । यी कुनै पनि उपायले काम नगरेपछि अन्ततः निराश बनेका किसानहरू आफ्नो खेती जोगाउन खेतबारी वरिपरि नाङ्गो तारको विद्युतीय पासो (करेन्ट) छोड्न बाध्य हुन्छन् । तर, विडम्बना ! बाँदर मार्नका लागि थापिएको त्यही ‘मृत्युको पासो’ मा आज किसान स्वयं पर्न पुगेका छन् ।

‘सरकार भन्छ बाँदर नमार, किसान भन्छन् हामीलाई मार’ नेपालमा वन्यजन्तु संरक्षण सम्बन्धी कडा कानुनी व्यवस्था छ । सरकारको नियम अनुसार बाँदरलाई मार्न वा घाइते बनाउन पाइँदैन । तर, अर्कोतर्फ किसानहरूको दर्दनाक आवाज छ—‘सरकार भन्छ बाँदर मार्नु हुन्न, तर बाँदरले बाली सखाप पारेर हामी भोकभोकै मर्न लाग्दा कसले हेर्ने ? बाँदर नमारे बरु हामीलाई नै मार’, एक किसानले यसरी दुःखेसो पोखे । वर्षभरिको मिहिनेत र जीविकोपार्जनको एकमात्र स्रोत रहेको अन्नबाली बाँदरको बथानले आँखा अगाडि नष्ट पारिदिँदा किसानहरू मानसिक र आर्थिक रूपमा विक्षिप्त बन्ने गरेका छन् ।

एकातिर अन्न जोगाउनै पर्ने बाध्यता र अर्कोतिर वन्यजन्तु संरक्षणको सरकारी नीति— यही दुई ढुङ्गाको बीचमा चेपिएका किसानहरू आज आफ्नै खेतबारीमा असुरक्षित बन्न पुगेका छन् । बढ्दो जोखिम र सुरक्षा चिन्तायो घटना सिन्धुपाल्चोकको मात्र एक्लो उदाहरण होइन । बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो समय विभिन्न जिल्लाहरूमा खेतबारीमा बाँदर तथा जंगली जनावर धपाउन प्रयोग गरिने असुरक्षित विद्युतीय पासोका कारण मानवीय क्षति बढ्दै गएको छ ।

काभ्रेको पनौतीमा पनि यस्तै प्रकृतिको घटनामा एक वृद्धाको ज्यान गएको छ । प्रहरीले यस्ता जोखिमपूर्ण विद्युतीय पासोहरू प्रयोग नगर्न अनुरोध गरे पनि किसानहरूसँग बाँदर नियन्त्रणको अन्य कुनै प्रभावकारी विकल्प नहुँदा यस्ता दुर्घटनाहरू दोहोरिइरहेका छन् । मृतक भीमप्रसाद दुलालको यो असामयिक र पीडादायी निधनले सिङ्गो मेलम्ची क्षेत्र र देशैभरिका किसानहरूलाई स्तब्ध र दुःखी बनाएको छ । यस घटनाले अब वन्यजन्तु व्यवस्थापन र किसानको बाली सुरक्षाका लागि सरकारले ठोस, वैज्ञानिक र व्यवहारिक समाधान खोज्नै पर्ने कुरालाई पुनः गम्भीरताका साथ उठाएको जानकारहरु बताउँछन् ।