महेन्द्रोदय माविलाई उद्यमी मोहनविक्रम कार्कीद्वारा बस खरिदका लागि ३५ लाख रुपैयाँ सहयोग

दिनेश दुलाल
असार ७ (२०८३), सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिका वडा नम्बर ६ निवासी प्रतिष्ठित उद्यमी तथा आदरणीय समाजसेवी मोहनविक्रम कार्कीले महेन्द्रोदय माध्यमिक विद्यालयका लागि ३५ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

समाजसेवी कार्कीद्वारा विद्यालयलाई प्रदान गरिएको रु ३५ लाखको चेक
(फोटो सामाजिक सञ्जाल)

विद्यालयमा थप एक थान स्कुल बसको आवश्यकतालाई महसुस गर्दै महेन्द्रोदय मावि पूर्व विद्यार्थी समाजका वरिष्ठ उपाध्यक्ष समेत रहेका कार्कीले उक्त रकम सिधै विद्यालयको खातामा उपलब्ध गराएका हुन् । पूर्व विद्यार्थी समाजको सक्रिय समन्वय भौगोलिक विकटता र टाढाबाट आउने विद्यार्थीहरूको सहजताका लागि बस अपरिहार्य देखिएपछि पूर्व विद्यार्थी समाजले यसको पहल थालेको थियो । विद्यालयलाई महेन्द्रोदय मावि पूर्व विद्यार्थी समाजको विशेष समन्वयमा यति ठूलो परिमाणको सहयोग जुट्न सफल पहिलो अवसर भएको छ ।

विद्यालय परिवारद्वारा हार्दिक कृतज्ञता र सम्मानको घोषणा

उद्यमी कार्कीको यो महान् र उदाहरणीय सामाजिक कार्यप्रति विद्यालय व्यवस्थापन समिति (विव्यस), प्राध्यापक एवं स्टाफ परिवार, विद्यार्थी र अभिभावकहरूका तर्फबाट हार्दिक कृतज्ञता ज्ञापन गरिएको छ । विद्यालय प्रशासनले दाता कार्कीको उज्ज्वल भविष्य, सुस्वास्थ्य, निरन्तर उन्नति र प्रगतिको लाख लाख शुभकामना व्यक्त गरेको छ । साथै, यो अतुलनीय योगदानको कदर गर्दै विद्यालयको तर्फबाट निकट भविष्यमै विशेष कार्यक्रमका बीच कार्कीलाई उचित सम्मान प्रदान गरिने विद्यालयले जनाएको छ । उक्त कार्यलाई निष्कर्षमा पु¥याउन अहोरात्र खटिनुहुने विव्यस अध्यक्ष एवं समाजसेवी चक्र बहादुर बस्नेत, पूर्व विद्यार्थी समाजका उपाध्यक्ष रामकृष्ण थापा, र समग्र पूर्व विद्यार्थी समाज परिवार लगायत सहयोग पु¥याउने सम्पूर्ण सहयोगी हातहरूलाई विद्यालय परिवारले हार्दिक धन्यवाद तथा आभार प्रकट गरेको छ । यो सहयोगले विद्यालयको शैक्षिक वातावरण सुधार गर्न र टाढा–टाढाका विद्यार्थीहरूलाई विद्यालयसम्म सुरक्षित रूपमा आउन–जान ठूलो राहत मिल्ने विश्वास लिइएको जनाएको छ ।

यसैबीच, विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद दंगालले दाता मोहनविक्रम कार्कीप्रति आभार प्रकट गर्दै यो सहयोग महेन्द्रोदय माविका लागि ऐतिहासिक कोशेढुङ्गा साबित हुने बताएका छन् । प्रअ दंगालले भने ‘भौगोलिक विकटताका कारण हाम्रा कैयौँ विद्यार्थीहरू घण्टौँ पैदल हिँडेर विद्यालय आउनुपर्ने बाध्यता छ । थप बसको आवश्यकतालाई महसुस गरी आदरणीय समाजसेवी मोहनविक्रम कार्की ३५ लाख रुपैयाँको अतुलनीय सहयोगले विद्यार्थीहरूको समय बचत मात्र गर्ने छैन, बरु उनीहरूको शैक्षिक गुणस्तर र सुरक्षामा समेत ठूलो टेवा पुग्नेछ । विद्यालय परिवार उहाँको यो निस्वार्थ भावनाप्रति सदैव ऋणी रहनेछ र निकट भविष्यमै हामी उहाँलाई भव्य रूपमा नागरिक अभिनन्दन गर्नेछौँ ।’