‘सबैको पहुँचमा बजेट’ –मेयर तामाङ

दिनेश दुलाल
असार ४, मेलम्ची, (सिन्धुपाल्चोक) । मेलम्ची नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम तर्जुमा गर्दा समाजका सबै वर्ग, क्षेत्र र लिङ्गको वास्तविक आवश्यकतालाई उच्च प्राथमिकतामा राख्ने भएको छ ।

मेलम्ची नगरपालिकाका मेयर आईतमान तामाङले सबैको प्रतिनिधित्व हुने गरी बजेट विनियोजन गरिने प्रतिबद्धता जनाएका छन् ।

नगरपालिकाको आयोजनामा बजेट, नीति तथा कार्यक्रम निर्माणका लागि आयोजित सुझाव संकलन तथा प्रगति समीक्षा कार्यक्रममा बोल्दै मेयर तामाङले यस्तो बताएका हुन् । कार्यक्रममा उनले ‘माया, समानता र समावेशिता’ नै समृद्ध मेलम्चीको मुख्य आधार भएको बताए ।

मेयर तामाङले सिमित स्रोत र साधनको अधिकतम, पारदर्शी र मितव्ययी प्रयोग गर्दै नगरबासीको जीवनस्तर उकास्ने खालका योजनाहरू ल्याइने स्पष्ट पारे । उनले कसैलाई पनि पछाडि नछोडी विकासको प्रतिफल सबै समुदायसम्म पु¥याउन नगरपालिका निरन्तर लागिपर्ने धारणा राखे ।