सिन्धुपाल्चोकमा हाईड्रोपावर विरोधी गतिविधि बढ्दै, आन्दोलनको नाममा अराजकता

दिनेश दुलाल
जेठ २, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा कालिका हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको ४६ मेगावाट क्षमताको भोटेकोशी–५ जलविद्युत् आयोजनाविरुद्ध स्थानीय बासिन्दाहरू आन्दोलित भएका छन् । माग पूरा गराउन भन्दै आन्दोलनकारीले अरनिको राजमार्गमा चक्काजाम सहित अवरोध गर्दा जनजीवन र यातायात प्रभावित भएको छ । स्थानीयले विरोध प्रदर्शन र चक्काजाम गर्दा अरनिको राजमार्गको बाह्रबिसे खण्ड शनिबार प्रभावित हुन पुगेको हो ।

हालै सम्पन्न भई उत्पादनमा रहेको १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको टेलरेस -पानी बाहिरिने स्थान) बाट निस्कने पानीलाई पुनः सुरुङमार्फत फर्काएर भोटेकोशी–५ आयोजना बनाउने कालिका हाइड्रोपावरको योजना छ । नदीको पानी लगातार सुरुङभित्र मात्रै लैजाँदा प्राकृतिक सन्तुलन बिग्रने स्थानीयको तर्क छ ।

भोटेकोशी नदीको पानी सुरुङ मार्गबाट मात्र बगाउँदा ऐतिहासिक बाह्रबिसे बजार क्षेत्र सुख्खा हुने र यसले बजारकै पहिचान मेटिने भन्दै स्थानीय बासिन्दा -बाह्रबिसे बजार, मानेश्वरा, राम्चे लगायतका क्षेत्र) आन्दोलित भएको बताईन्छ । यद्यपि बाह्रबिसे बजारको ऐतिहासिकताई नबिगारीकन चेडड्याम सहितको बजारलाई हरियाली सहित सुन्दर बनाउने आयोजनाको योजना छ । स्थानीय सन्तकुमार लामाको नेतृत्वमा भइरहेको आन्दोलनले वातावरणीय प्रभाव मूल्यांकन -एइअ) प्रक्रियामा गम्भीर त्रुटि भएको आरोप लगाएको छ ।

यता आयोजनाका पक्षले भने सबै कानुनी र प्राविधिक प्रक्रिया पूरा गरेको दाबी गरेको छ । कालिका इनर्जी प्रा.लीका अध्यक्ष मोहनविक्रम कार्कीले यो आयोजना केवल विद्युत उत्पादनका लागि मात्र नभई स्थानीय रोजगारी र दीर्घकालीन समृद्धिका लागि सुरु गरिएको बताए । स्थानीय प्रभावितले ‘गो व्याक कालिका’ भनेर विकास विरोधी हुनुभन्दा ‘कम ब्याक कालिका’ भनेर त्यस क्षेत्रको विकास र समृद्विको लागि आयोजनालाई जोगाउन लागि पर्ने तर्क राखे । उनका अनुसार बाह्रबिसे बजार, कल्लेरी, खडाबोटे, जम्बु, नेपालगाउँ, सिरिसे र सिगर्छेका सरोकारवालाहरूसँग सम्झौता भइसकेको छ । ईजी रिसर्च एण्ड ट्रेनिङ प्रालिमार्फत अति प्रभावित घरधुरीको सर्वेक्षण गरी रिपोर्ट तयार पारिएको समेत उनले बताए । सम्भव त आउँदो सोमबार सिन्धुपाल्चोकमा कुनै ठाउँमा दुवै पक्षलाई राखेर छलफल गराईने सिन्धुपाल्चोक सायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा सिन्धुज्वालालाई जानकारी दिए ।

आन्दोलनकारीले अरनिको राजमार्गमा विरोध प्रदर्शन र यातायात अवरुद्ध गरेपछि काठमाडौँबाट सिन्धुपाल्चोक हुँदै तातोपानी नाका -चीन) सम्म चल्ने मालवाहक कन्टेनर तथा यात्रुबाहक सवारी साधनहरू अलपत्र परेका थिए । यद्यपि प्रहरी र स्थानीय प्रशासनको पहलमा आन्दोलनकारी बिच छलफल भएपछि तत्कालका लागि राजमार्ग खुलेको हो ।

राजनीतिकरण र स्वार्थ समूहहरू ः

कतिपय अवस्थामा स्थानीय समिति वा राजनीतिक दलका कार्यकर्ताहरूले आफ्नो दलीय वा व्यक्तिगत फाइदाका लागि -जस्तैः ठेक्कापट्टा पाउन, रोजगारीका लागि, वा चन्दा मागका लागि) पनि आयोजनाका कामहरूमा अनावश्यक अवरोध र तालाबन्दी गर्ने गरेको हाइड्रो प्रवद्र्धकहरूको आरोप छ ।

आयोजनाले गत २०८२ साल भदौ ३ गते सार्वजनिक सुनुवाइ बाह्रबिसेको सभाहलमा आयोजना गरेको थियो । तर उक्त सार्वजनिक सुनुवाइ औपचारिक रूपमा जानकारी नगराई आयोजना सुरु गरिएको उनीहरुको दावी छ । यद्यपि ३ महिना अघि उक्त जलविद्युत आयोजनाले निर्माण काम थालिसकिएकोले कम्पनीले कबुल गरेअनुसारको काम गर्ने समय बाँकी छँदै आयोजनाले केही गरेन भनेर हाइड्रो विरुद्व गतिविधि गर्नु विकास विरोधी गतिविधि भएको जानकारहरु बताउँछन् । यस्ता गतिविधिले जलविद्युत मार्फत समृद्व सिन्धुपाल्चोक निर्माण अभियानमा आँच पुग्ने उनीहरुको ठम्याई छ ।