गणतन्त्र दिवसमा पूर्वप्रधानमन्त्री खनाल सम्मानित, ३४ कविता वाचनसहित भव्य साहित्यिक सङ्गम
दिनेश दुलाल
जेठ १६, काठमाडौँ । गणतन्त्र दिवसको अवसरमा पूर्वप्रधानमन्त्री खनाल सम्मानित भएका छन् । खनालका ११ तथा अन्य ३४ कविता वाचनसहित भएको उक्त कार्यक्रम नेपाल सांस्कृतिक पेशाकर्मी सङ्घ केन्द्रीय समितिद्वारा आयोजना गरिएको हो । विशेष कविता वाचन तथा स्रष्टा सम्मान कार्यक्रम शनिबार काठमाडौँको बौद्ध, रामहिटीस्थित साहित्य सदन नेपालको हलमा सम्पन्न भएको हो ।

नेपाल सांस्कृतिक पेशाकर्मी सङ्घका केन्द्रीय अध्यक्ष ईश्वरी अधिकारीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमले साहित्य र कलाका माध्यमबाट गणतन्त्रको महत्त्वलाई उजागर गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालले कविता वाचन गरेर कार्यक्रमको उदघाटन गरेका थिए ।

सो अवसरमा नेपाल सांस्कृतिक पेशाकर्मी सङ्घका पदाधिकारी तथा पेशाकर्मीहरूद्वारा उनलाई विशेष स्रष्टा सम्मान प्रदान गरिएको थियो । सम्मान ग्रहणपछि प्रमुख अतिथि खनाल आफैँले ११ वटा चोटिला कविताहरू वाचन गरेर कार्यक्रममा विशेष रौनकता थपेका थिए । कार्यक्रममा सहभागी भएका २३ जना कविहरूले आफ्ना देशभक्ति, सामाजिक रूपान्तरण र गणतन्त्र केन्द्रित कविताहरू वाचन गरेका थिए । कविता वाचन गर्ने सम्पूर्ण सहभागी कविहरूलाई प्रमुख अतिथि झलनाथ खनालको हातबाट प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पेशागत महासङ्घका अध्यक्ष प्रेमल कुमार खनाल तथा महासंघका उपाध्यक्ष एवं नेपाल सांस्कृतिक पेशाकर्मी सङ्घका इन्चार्ज किशोर नेपालीको गरिमामय उपस्थिति रहेको थियो । खनाल र नेपाली लगाएत पेसागत हकहित र देशको सांस्कृतिक रूपान्तरणमा स्रष्टाहरूको भूमिकाबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा वाचन गरिएका सबै कविताहरूको संक्षिप्त तथा गहन साहित्यिक समालोचना साहित्य सदन नेपालका अध्यक्ष प्रा. डा. हेमनाथ पौडेलले गरेका थिए । कविताहरूमाथि सैद्धान्तिक टिप्पणी गर्दै समालोचक पौडेलले कविता लामो खालको व्याख्यात्मक वा विवरणात्मक हुन नहुने तर्क राखे । उनले सफल कविताका लागि संक्षिप्त सारांश, उत्कृष्ट शिल्पकलाको संयोजन तथा सशक्त विम्ब विधान अनिवार्य हुनुपर्ने कुरामा जोड दिए । वाचन गरिएका रचनाहरूमा बलियो गणतान्त्रिक चेत र सामाजिक रूपान्तरणको स्वर मुखरित भएको बताउँदै उनले प्रमुख अतिथि खनालका कवितामा वैचारिक स्पष्टता र समसामयिक विकृतिमाथि कडा प्रहार गरिएको उल्लेख गरे । कार्यक्रम शानदार रुपमा सम्पन्न भएको संघका अध्यक्ष अधिकारीले प्रतिक्रिया दिए ।

