भाेटेकाेशीमा ११ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, पाँच पक्राउ


२o८२ असार १३ शुक्रबार २१:२८
ताताेपानी । सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका– ५ मार्मिङ छ्यादीका विद्यालय पढ्दै गरेकी नाबालिकालाई सामुहिक बलत्कार पछि हत्या गरिएकाे छ । कलेज पढ्दै गरेका पाँच युवा गाउँमै छ्याङ, रक्सी र गाँजा सेवन गरेपछि नशामा लठ्ठिएर नजिकै रहेको कोलगाउँकी ११ वर्षीया नाबालिकालाई बोलाएर सामुहिक बलत्कार पछि हत्या गरिएकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानएकाे छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले आज उक्त घटनाकाे सन्दर्भमा पत्रकार सम्मेलन गरि जानकारी गराएकाे हाे । प्रहरीका अनुसार गाउँकै विद्यालयमा कक्षा ७ मा अध्ययनरत नाबालिका आफ्नै ठुलोबाउका छोराले बोलाएकाले बाहिर गएकी थिइन ।

भोटेकोशी– ५ मार्मिङका २१ वर्षीय निमा तेन्जिङ तामाङ, २२ वर्षीय वाङ्निमा तामाङ, ३२ वर्षीय नाम्ग्याल शेर्पा, २० वर्षीय दावा तामाङ र २३ वर्षीय लाक्पा पासाङ तामाङ मिलेर बालिकालाई घरबाट चार सय मिटर पर मकैबारीमा लान्छन् र सामूहिक बलात्कार गर्छन्। बलात्कारको कुरा लुकाउन घाँटी थिचेर बालिकाको हत्या गर्छन्।

असार ११ गते बिहान ९ः३० मा प्रहरीलाई बालिका हत्याको खबर आएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताए । उनकै कमान्डमा तालिम प्राप्त कुकुरसहित प्रहरी टोली तत्काल घटनास्थल पुगेकाे हाे । जिल्ला प्रहरी प्रमुख एसपी कार्की भन्छन्, ‘काठमाडौंबाट तालिमप्राप्त कुकुर लिएर गएकाले दोषी पक्राउ गर्न ठूलो मद्दत भयो।’ छ्यादी जंगलमा च्याउ टिप्न गएका मानिसले बालिकाको शव भिरको रुखमा अल्झिरहेको देखेपछि प्रहरीलाई सूचना दिएका थिए।

नशामा लठ्ठिएका पाँच युवा मिलेर सामुहिक बलात्कार गरेपछि हत्या गरेर नाबालिकालाई घिसार्दै लगेर जंगलको भिरबाट लडाएको प्रारम्भिक बयानको क्रममा खुलेको उनले बताए। ‘बालिकालाई मकैबारीमै बलात्कारपछि हत्या गरेको अनुसन्धानमा खुलेको छ,’ उनले थप भने, ‘केही गरी घाइते मात्रै हुँदा सबै पोल खुल्ने डरले घिसार्दै जंगलमा लगेर ढुंगाले किचेर भिरबाट लडाएको बयानको क्रममा खुलेको छ।’
घटनास्थल पुगेको प्रहरी टोलीले सुरुमा शंका लागेको एक युवालाई पक्राउ गरेको थियो। ती युवकले घटनास्थल मकैवारी र भिर देखाएका थिए। घटनास्थल देखाएर फर्केपछि उनले प्रहरीलाई छक्याउन लुगा परिवर्तन गरेका थिए। तर, तालिमप्राप्त कुकुरले तिनै युवकलाई पक्रेको थियो। त्यसपछि उनैले अन्य चारजनाको पनि सुराक दिए।

पक्राउपछि पाँचैजनालाई जिल्ला प्रहरी कार्यालय चौतारा ल्याइएको छ। मुलुकी अपराधसंहिता ०७४ को करणी र ज्यानसम्बन्धी कसुरमा जिल्ला अदालतबाट सात दिनको म्याद थपेर दोषीउपर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय चौताराका सूचना अधिकारी डिएसपी माधवराज खरेलका अनुसार नाबालिकाको बुबाआमा दुवै बैदेशिक रोजगारका लागि इराकमा छन्। उनी दिदीको घरमा बसेर पढ्दै थिइन्।