आठौं पाँचपोखरी टी–२० मा हेलम्बु र पाँचपोखरीको विजयी सुरुवात

सिन्धुपाल्चोकको प्रतिष्ठित पाँचपोखरी टी–२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको आठौं संस्करण मंगलबार तल्लो मुलपानी क्रिकेट मैदानमा सुरु भएको छ । उद्घाटनको दिन हेलम्बु गाउँपालिका र पाँचपोखरी क्रिकेट क्लबले विजयी सुरुवात गरेका छन् ।

पाँचपोखरी क्रिकेट क्लबले थाङपाल भ्याली माध्यमिक विद्यालयमाथि एकतर्फी जित निकाल्यो । पहिले ब्याटिङ गरेको थाङपाल भ्याली १५.५ ओभरमा ६२ रनमा समेटियो । टोलीका लागि फिन्जु लामाले सर्वाधिक १९ रन बनाए भने आशिष तामाङले १३ रन जोडे। तर शीर्ष क्रम पूर्ण रूपमा असफल हुँदा टोली ठूलो संकटमा परेको थियो। पहिलो पाँच विकेट मात्र १० रनमा गुमाएपछि थाङपाल भ्याली खेलमा फर्कन सकेन।

पाँचपोखरी क्रिकेट क्लबका प्रतिक श्रेष्ठले घातक बलिङ गर्दै ४ ओभरमा केवल ९ रन खर्चेर ६ विकेट लिए । उनी खेलको प्लेयर अफ द म्याच भए । मनोज खड्काले ३ विकेट थपेपछि थाङपाल भ्याली सानो योगफलमा सीमित भयो ।

जवाफमा पाँचपोखरी क्रिकेट क्लबले लक्ष्य मात्र ३.४ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो। कप्तान सार्थक धितालले १२ बलमा २८ रन तथा रोशन विकले ११ बलमा अविजित २३ रन बनाउँदै टोलीलाई १० विकेटको सहज जित दिलाए । पाँचपोखरी क्रिकेट क्लबले उपाधि दाबेदारीको बलियो संकेत दिएको छ ।

त्यसअघि हेलम्बु गाउँपालिकाले चौतारा साँगाचोकगढी नगरपालिकालाई ७० रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको हेलम्बुले निर्धारित १५ ओभरमा ७ विकेट गुमाउँदै १२७ रन बनाएको थियो । हेलम्बुको जितमा सचिन लेखक नायक बने। उनले केवल ३५ बलमा ६ चौका र ६ छक्काको मद्दतमा विष्फोटक ८० रन बनाए । अन्य ब्याटरले ठूलो योगदान दिन नसके पनि सचिनको आक्रामक इनिङ्सले टोलीलाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्यायो ।

१२८ रनको लक्ष्य पछ्याएको चौतारा साँगाचोकगढीको ब्याटिङ भने सुरुदेखि नै दबाबमा रह्यो। कप्तान अशोक पौडेलले १५ तथा सुदर्शन पुरीले १२ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् । चौतारा १२.२ ओभरमै ५७ रनमा अलआउट भयो । हेलम्बुको बलिङमा सचिनले नै ३ ओभरमा मात्र ७ रन खर्चेर ३ विकेट लिए । उद्धव तिमल्सिना र पेम्बा शेर्पाले पनि महत्वपूर्ण साथ दिए। ब्याट र बल दुवैमा उत्कृष्ट प्रदर्शन गरेका सचिन लेखक खेलका प्लेयर अफ द म्याच बने।

सिन्धुपाल्चोकको सबैभन्दा प्रतिष्ठित क्रिकेट प्रतियोगितामध्ये एक मानिने पाँचपोखरी टी–२० को आठौं संस्करण असार २ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा जिल्लाका सात टोली सहभागी छन् भने विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । हरेक टिममा सिन्धुपाल्चोक जिल्लाबाहिरका तर बागमती प्रदेशका २ खेलाडी खेल्न पाउने प्रावधान छ ।