प्रथम मुडे कविता महोत्सव २०८३ सम्पन्न, जीवन शर्मासँगै यसरी नाचे मुडेबासी

जेठ २६ मुडे । सिन्धुपाल्चोकको मुडे बजारमा आयोजित ‘प्रथम मुडे कविता महोत्सव’ २०८३ जेठ २५ गते भव्यताका साथ सम्पन्न भएको छ । स्थानीय कला, साहित्य र संस्कृतिको उत्थान तथा मुडेको आलु प्रवद्र्धन गर्ने उद्देश्यले सारथि अभियान नेपालको आयोजना र प्रगतिशील लेखक संघ (प्रलेस) को सहकार्यमा यो कार्यक्रम सम्पन्न भएको हो ।

लिसङ्खुपाखर गाउँपालिका–५ मुडे बजारमा आयोजना गरिएको महोत्सवको प्रमुख अतिथिका रूपमा लिशङ्खुपाखर गाउँपालिकाका अध्यक्ष राजु लामा तथा उपाध्यक्ष मिठुदेवी लामाको विशेष आतिथ्यतामा भएको उक्त महोत्सवको विशेष आकर्षणका रूपमा रहेका जनवादी गायक जीवन शर्माको प्रस्तुतिले उपस्थित आम जनमानसलाई भावुक र उत्साहित बनाएको थियो । गायक शर्माले आफ्नो सदाबहार लोकप्रिय जनवादी गीत ’सिमली छायाँमा बसी’ गाउँदा मुडेबासीहरू थामिन सकेनन् । ‘सिमली छायाँमा बसी भरिया लामो सास फेरेको’ बोलको गीत गुञ्जिरहँदा वृद्धवृद्धा, युवायुवती तथा स्थानीय जनप्रतिनिधिहरू समेत गीतको तालमा छमछमी नाचेका थिए । शर्माको क्रान्तिकारी र मर्मस्पर्शी गायकीले मुडे बजार पूर्ण रूपमा गुञ्जायमान बनेको थियो । अर्का गायक आरोह सि को गायनले दर्शकहरुमा निकै हर्रोल्लास छाएको थियो ।

सारथि अभियान नेपालकी अध्यक्ष सुमित्रा अधिकारीको अध्यक्षतामा भएको उक्त, कार्यक्रमको सञ्चालक दिनेश दुलालले गरेका थिए भने स्वागत मन्तव्य स्थानीय समाजसेवी इराज लामाले गरेका थिए ।

कार्यक्रममा विशेष अतिथिः विन्दु शर्मा (सल्लाहकार, प्रगतिशील लेखक सङ्घ – प्रलेस), सीता शर्मा, शोभा दुलाल रहेका थिए । त्यस्तै आमन्त्रित अतिथिहरूमा प्रगतिशील लेखक संघका केन्द्रीय उपाध्यक्ष समिरसिंह (उपाध्यक्ष), अमृता शर्मा, शेखर अर्याल (सचिवालय सदस्य), नमुना शर्मा (पूर्व उपाध्यक्ष), बाबा बस्नेत (पूर्व कोषाध्यक्ष), अगिव बनेपाली, आरोह सी, दुर्गा परियार (संविधानसभा सदस्य) लगाएत लेखक तथा साहित्यकारहरुको सहभागिता रहेको थियो ।

पर्यटकीय क्षेत्र मुडेको पहिचानलाई साहित्यमार्फत उजागर गर्न आयोजित यस महोत्सवमा देशका विभिन्न स्थानबाट आएका कवि तथा साहित्यकारहरूले आ–आफ्ना उत्कृष्ट सिर्जनाहरू प्रस्तुत गरेका थिए । प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राजु लामाले समेत दमदार कविता प्रस्तुत गर्दै स्थानीय कला, साहित्य र संस्कृतिको विकाससँगै मुडेको पर्यटन प्रवद्र्धनमा पालिकाले सधैं अग्रसरता लिने प्रतिबद्धता जनाए । त्यस्तै गाउँपालिका उपाध्यक्ष मिठुदेवी लामाले लिंखुपाखर गाउँपालिकाको लोक साहित्य र संस्कृतिको जगेर्नाको लागि पहिलोपटक यस खालको कार्यक्रम भएको दावी गर्दै आगमी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताईन ।

सारथी अभियान नेपालको आयोजना लिसङ्खु पाखर गाउँपालिकाको आर्थिक सहयोग आलुबाली विकास केन्द्र निगाले र स्थानीय क्लब, महिला सञ्जाल तथा आम समूह रेडक्रस सोसाइटी साथै स्थानीय मुडेबासीहरूको सहयोगमा प्रथम ‘मुडे कविता महोत्सव कविता वाचन तथा सांगीतिक प्रस्तुति कार्यक्रमा लिसंखुपाखर गाउँपालिकाका करिब एक दर्जन विद्यालयका शिक्षक तथा विद्यार्थीहरूले कवितावाचन गरेका थिए । त्यस्तै काठमाडौँबाट आएका करिब डेढ दर्जन साहित्यकारहरूले आफ्नो रचनाहरू प्रस्तुत गरेका थिए । गायक जीवन शर्मा र आरोह सि लगायत कलाकारहरूको बेजोड प्रस्तुतिले कार्यक्रमलाई रोमान्चित बनाएको थियो । कविता प्रस्तुत गर्ने काठमाडौंदेखि आइपुगेका साहित्यकारहरु तथा स्थानीय विद्यालयका शिक्षक तथा विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो भने पाहुनाहरुलाई मायाँको चिनो प्रदान गरिएको थियो । स्थानीय आमा समुहका महिलाहरुले पाहुनाहरुको सत्कारका लागि आलुको प्रयोग तथा स्थानीय जडीबुटी तथा आलुको प्रयोग गरेर माला तयार गरेका थिए । कार्यक्रम निकै भव्य र ऐतिहासिक पूर्ण सफल रहेको आयोजक संस्था सारथि अभियान नेपाले जनाएको छ ।

यसैबीच प्रगतिशील लेखक सङ्घ वैचारिक विमर्श तथा परिसंवाद विभागको आयोजनामा मुडे स्थित आलुबाली विकासकेन्द्र निगालेमा विचार चौतारी–८६ भव्यताका साथ सम्पन्न भएको छ ।

जनगायक जीवन शर्माको उपस्थिति तथा स्थानीय पर्यटन तथा उत्पादनका साथै प्रगतिशील साहित्यलाई समन्वय गर्ने उद्देश्यका साथ विविध साहित्यिक गतिविधिसँगै २०८३ जेठ २४ र २५ सो कार्यक्रम सम्पन्न भएको हो । विचार चौतारी कार्यक्रममा वाग्मति प्रदेश सांसद सरल सहयात्री पौडेल, लिसंखुपाखर गाउँपालिका अध्यक्ष राजु लामाको सहभागिता रहेको थियो । दुईदिने उक्त कार्यक्रमको सिलसिलामा सिन्धुपाल्चोकसँगै र दोलखाको सैलुङमा पनि कार्यक्रम सम्पन्न भएको थियो ।