पर्यटकीय नगरी सुकुटे करिडोरमा सरसफाई अभियान सुरु, बन्देउ देखि बलेफी सम्म आकार्षक बनाइने (फोटो फिचर सहित)
दिनेश दुलाल
चैत्र २८ -२०८२), सुकुटे । सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र सुकुटे करिडोरलाई सफा र आकर्षक बनाउन बन्देउदेखि बलेफीसम्मको सडक खण्डमा सरसफाई अभियान सुरु गरिएको छ ।

सुनकोशी नदी किनारको यस क्षेत्रमा फोहोर बढेपछि नदी तट र सडक आसपासको क्षेत्र सफा पारी पर्यटक आकर्षण गर्ने उद्देश्यले यो पहल गरिएको हो । बन्देउदेखि बलेफी सम्म गरिने सरसफाई अभियान सिन्धु सुकुटे पर्यटन व्यवसायी संघ सिन्धुपाल्चोकको आयोजना तथा सडक डिभिजन कार्यालय चरिकोटको सहयोगमा थालिएको हो । सरसफाई अभियानमा होटल तथा पर्यटन व्यवसायीहरु, स्थानीय र सशस्त्र प्रहरी बल १६ नम्बर गण बन्देउबाट दुइदर्जन प्रहरी खटिइएका थिए । बन्देउदेखि बलेफीसम्मको पर्यटकीय सडक र नदी किनारमा सरसफाई गरिएको थियो ।

सुकुटे करिडोरलाई फोहोर व्यवस्थापन, पर्यटकीय सुन्दरता कायम र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सरसफाई अभियान थालिएको सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिंह थापाले बताए । उनका अनुसार शनिबारबाट बन्देउदेखि थालिएको अभियानमा सडकका दायाँ बायाँ अवरोध हटाउने, झाडी पन्छाउने, ट्राफिक चिन्न राख्ने, सडक रंगरोगन लगाएत कार्यहरु सडक डिभिजन कार्यालय चरिकोटले गर्नेछ । त्यस्तै ठाउँ–ठाउँमा डस्बीन तथा सरसफाई जनचेतना सम्बन्धी होर्डिङ वोर्ड लगाएत सामाग्री स्थानीय सरकारको सहयोगमा सिन्धु सुकुटे पर्यटन व्यवसायीले गर्नेछ ।

सडक डिभिजन कार्यालय चरिकोटले उपलब्ध गराईएको दुईवटा जेशिभी र टिपर प्रयोग गरेर सडकको दायाँ–बाँया सरसफाई थालिएको संघका उपाध्यक्ष अन्जन खड्काले जानकारी दिए । यो अभियानले सुकुटे क्षेत्रको पर्यटकीय महत्त्व अझ बढाउने संघका सचिव कृष्ण सापकोटा बताउँछन् ।

सरसफाई अभियान पहिलो दिनमै उत्साहजनक रहेको कफी सहकारी संघ सिन्धुपालचोककी अध्यक्ष तथा सुकुटे व्युटिफुल क्याफेकी सञ्चालिका मन्दु थापाले प्रतिक्रिया दिइन ।

आउँदै गरेको २०८३ लाई पर्यटन वर्षको अवसरमा पर्यटकलाई आकर्षित गर्न सरसफाई महत्वपूर्ण भएकोले यसलाई अभियानकै रुपमा सुरुवात गरेको सरसफाई अभियन्ता पर्यटन व्यवसायी रञ्जन न्यौपाने बताउँछन् । स्थानीयलाई समेत सहभागी गराएर सरसफाई अभियान निरन्तर गर्नुपर्ने उनको जोड छ ।
सरसफाई अभियानमा सशस्त्र प्रहरी बल बन्देउको उल्लेख्य सहभागिता रहेको र निरन्तर रहने सशस्त्र प्रहरी बल १६ नम्बर गण बन्देउका गणपति एसपी हरी नारायण श्रेष्ठले बताए ।
जिल्लाका ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सम्पदाहरु समाजका अमुल्य सम्पति भएकाले यसको संरक्षण संवद्र्धन र सरसफाइ नियमित गर्नुपर्ने कार्यक्रममा सहभागीहरुले बताए ।

