अन्तिम सुचिमा अटाए सिन्धुका लालकान्छा तामाङ

२८ पुस, काठमाडौं । तामाङ समुदायका इमान्दार नेता लालकान्छा तामाङ लाई नेपाली कम्युनिष्ट पार्टीले उम्मेदवारको रुपमा अगाढी बढाएको छ । पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको अन्तिम सूचीमा सिन्धुपाल्चोकका लालकान्छा तामाङको नाम समावेश गरेको छ ।

तामाङ तत्कालिन नेकपा(माओवादी) ले सञ्चालन गरेको जनयुद्धकालदेखि नै पार्टीमा पंक्तिबद्ध रहेका उनी संघर्षशील जीवन बिताएका नेतामा पर्दछन् । तामाङले जेल–नेल तथा विभिन्न प्रकारका यातनासमेत भोगेका छन् । उनी निरन्तर भुइँमान्छे, श्रमिक मजदुर वर्ग, पार्टी नीति तथा वर्गीय पक्षधरताका पक्षमा योगदान पुर्याउँदै आएका सादगी नेता हुन् ।
लामो समयदेखि पार्टी संगठन, जनसम्पर्क र वैचारिक आन्दोलनमा सक्रिय उनको भूमिकालाई पार्टी नेतृत्वले उच्च मूल्याङ्कन गर्दै समानुपातिक तर्फको उम्मेदवारका रूपमा अघि सारेको प्रत्यक्षतर्फ एकल सिफासि भएका उमेदवार एवं पूर्व सांसद माधव सापकोटा सुबोधले जानकारी दिएका छन् । सूचिलाई अन्तिम रुप दिन सिन्धुपाल्चोकका नेताहरु सापकोटाका साथै केशब नेपाल, सरल सहयात्री पौडेल, सिन्धुलीका लेखनाथ दाहाललगायतका नेताहरु पार्टी संयोजक प्रचण्ड निवास पुगेका थिए ।
यस अधि उक्त पार्टीले निर्माण गरेको जातीय मोर्चासंगठनहरु मध्ये तामाङ राष्ट्रिय मुक्ति मोर्चामा रहेर जिल्लादेखी केन्द्रसम्मको नेतृत्व सम्हालेका थिए । समावेशी प्रतिनिधित्व, त्याग र संघर्षको सम्मान तथा जनताको आवाज संसदमा प्रभावकारी रूपमा उठाउने उद्देश्यले तामाङलाई अगाढी बढाईएको पार्टीले जनाएको छ ।

यस निर्णयले सिन्धुपाल्चोकका नेकपाका पार्टी कार्यकर्ता र समर्थकहरूमा उत्साह थपिएको छ । उनले सिन्धुज्वालासंगको कुराकानीमा यो जनविस्वास बटुल्ने अवसरको रुपमा लिएका छन् । उनी संसदमा पुगेको खण्डमा हालको अवस्थालाई सुधार गर्दै स्थाई शुशासनको लागि कानुनी मोर्चामा होमिने बताउछन् ।
उनलाई उम्मेदवारको रुपमा नेकपा सिन्धुपाल्चोक प्रतिनिधी सभा क्षेत्र नम्बर १ को गत पौष ४ गते खाडिचौरमा सम्पन्न बैठकको निर्णयले उम्मेदवारको रुपमा सर्वसम्मत रुपमा सिफारिस गरेको थियो ।
उनलाई पूर्व मन्त्री एवम बागमती प्रदेश सभा सदस्य युवराज दुलालले समेत आफ्नो फेसबुक पेजबाट शुभकामना व्यक्त गरेका छन् ।