चौसागढी नगरपालिकाको १ अर्व २४ करोड २० लाख भन्दा माथिको बजेट
एक घर एक कृषि बगैचा कार्यक्रम
असार १०, चौतारा। जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर उपप्रमुख सीता थापाले १६ औं नगरसभा मार्फत नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन ।
कार्यक्रम प्रस्तुत गर्दै नगर उपप्रमुख थापाले आर्थिक वर्ष २०८१।०८२ मा नगरको अनुमानित आय १ अर्व २४ करोड २० लाख ४७ हजार १ सय ४ रुपैया ४० पैसा र ब्यय १ अर्व २६ करोड ११ लाख ६१ हजार ६ सय ६१ रुपैया रहने बताउनुभयो । आगामी आर्थिक वर्षमा नगरपालिकाको घाटा बजेट १ करोड ९१ लख १४ हजार ५ सय ५६ रुपैया ९४ पैसा पर्न आएको छ ।
नगरपालिकाले एक वडा एक उत्पादन र एक घर एक कृषि बगैचा जस्ता आकर्षक कार्यक्रम ल्याएको छ ।
किसानलाई उद्यमी बनाउदै उत्पादनलाई बजारीकरण गर्ने देखि जति धेरै उत्पादन, त्यति द्येरै अनुदान जस्ता कार्यक्रम नगरपालिकाले अघि सारेको छ ।
प्रकृतिको उपहार, नगरबासीलाई रोजगार कार्यक्रम मार्फत आय मुलक र रोजगार मुलक उद्योग र उद्यम मार्फत रोजगारी प्रदान गर्ने नीति बनाएको छ । नगरपालिकाले आगामी वर्ष लप्सी प्रशोधन उद्यमलाई प्राथमिकतामा राखि कार्यक्रम संचालन गर्ने जनाएको छ । नगर पर्यटन बोर्ड गठन गरेर पर्यटन सम्बन्धी कार्यक्रमलाई ब्यवस्थित गर्दै पर्यटकिय नगरको रुपमा विकास गरीने नीति तथा कार्यक्रममा उल्लेख छ । नगर भित्र रहेका विभिन्न जातजातिहरूको संस्कार, संस्कृति र पुरातात्विक सम्पदाहरुको संरक्षण र पर्यटन प्रवर्धनको लागी घर संस्कृति अध्ययन केन्द्र को सम्भाब्यता अध्ययन गरिने समेत चौतारा साँगाचोकगढी नगरपालिकाले नीति बनाएको छ ।
यस्तै नगरपालिकाले नगरको ईच्छा नारीलाई शिक्षा नारा दिएर बुहारी शिक्षाको नीति अवलम्बन गरेको छ भने शिक्षा, युवा तथा खेलकुदमा महत्वाकांक्षी नीतिसमेत ल्याएको छ । व्यवहारिक शिक्षा हाम्रो प्रतिबद्धता, समयको माग सामुदायिक बिद्यालयमा परिवर्तन, अनिवार्य तथा निशुल्क शिक्षा, उच्च शिक्षामा सबैको पहुँचजस्ता उपशीर्षक राखेर नगरले शिक्षा, युवा तथा खेलकुदको नीति प्रस्तुत गरेको हो । आगामी आर्थिक वर्षमा नगरपालिकाले सहकारी शिक्षालाई वडा स्तरमा अभियानको रुपमा संचालन गर्ने भएको छ । नीति कार्यक्रम प्रस्तुति पश्चात नगरका मेयर कृष्ण प्रसाद सापकोटाले सबैको साथ सहयोगका कारण नगरपालिकाले सम्बृद्धिको गोरेटो कोरिरहेको बताए ।
नगरपालिकामा यस आर्थिक बर्षमा देखिएको बेरुजुलाई केही सञ्चार माध्यामले अनियमिता भएको भनेर गलत प्रचार गरिएको प्रति भने नगरप्रमुख सापकोटाले आपत्ती जनाए । आफ्नो कुनै व्यक्तिगत स्वार्थ नभएको भन्दै नगर प्रमुख सापकोटाले जनताकै विकास र समृद्विको काममा लागि पर्ने प्रतिवद्व जनाए । नगरपालिकाले आगमी असार २६ बजेट पास गर्ने जनाएको छ ।