गंगाले भेट्टाएको सुन यसरी गरिन हस्तान्तरण

भदौ १०, चौतारा । भनिन्छ, ’धन देख्दा महादेवको पनि तीन नेत्र‘, वास्तवमा यो भनाई समाजमा मेल खाने गरेको छ । धन प्रति मानिसको लोभ लालचा बढ्नु स्वभाविकै जत्तिको भएको छ । धनकै कारण कयौं घटनाहरु घटेका छन् । अझ सुन लगाएर हिंडेका कयौं नारीहरुको एकान्तमा सुन लुटेर ज्यानै लिने गरेको उदाहरण कयौं छन् । दोबाटोमा पैसा वा सुन भेट्टाउँदा पीडितलाई फिर्ता गर्ने मानिस भेटिन गाह्रो छ । तर चौताराका एक दम्पतिले बाटोमा भेट्टाएको सुन पीडितलाई नै हस्तान्तरण गरेका छन् ।

उक्त सुन पत्रकार तथा साहित्यकार अमित घिमिरेले बाटोमा फेला पारेका थिए । उनी आज विहानै पैदल यात्रा गरेर फर्किदा मंगलसुत्र फेला परेका हुन् । कुनै महिलाको घाँटीबाट भारी बोक्दै गर्दा वा मोटरसाइकलमा सवार हुँदा उक्त मंगलसुत्र खसेको हुन सक्ने अड्कल गर्दै घिमिरेले घरमा ल्याएका थिए । त्यसपछि लगत्तै फेसबुक मार्फत सुन भेट्टाएको कुरा सार्वजनिक गरेका थिए । सुन हराउने पीडितलाई घिमिरेले आफ्नो घरको ठेगाना र सम्पर्क नम्बर समेत सार्वजनिक गरेका थिए । सोही सम्पर्क नम्बर पाएर चौताराकी सुनिता थापा घरमै पुगेकी थिईन । फेला पारिएको उक्त सुन दावी गरेकी सुनिताको हो भन्ने पुष्टि भएसंगै अमितकी जीवनसंगीनी गंगाले उनलाई हस्तान्तण गरेकी हुन् । हराएको सुन भेट्टाउँदा सुनिता निकै खुशी भईन । उनले घिमिरे दम्पतिलाई धन्यवाद समेत दिईन ।
कुनै नारीको सौभाग्यको प्रतीक फिर्ता गर्न पाउनु जस्तो अहोभाग्य अरु संसारमा कुनै पुण्य कर्म नहुने लागेर पीडिलाई सुन फिर्ता गरिएको साहित्यकार घिमिरेले बताए । आज विहान भेटिएको मंगलसुत्रका बारेमा फेसबुकमा पोष्ठ गरेपछि सोही आधारमा हकवाला सुनिता थापा घरमा नै आएर आफ्नो मंगलसुत्र बुझिलिएको घिमिरेले जानकारी दिए । उनले फिर्ता गरेको हालको सुनको मूल्य झण्डै एकलाख पर्न आउँछ । भट्टाएको सुन सम्बन्धित धनीलाई नै हस्तान्तरण गरेको घटना सार्वजनिक सञ्जालमा छ्याप्छ्याप्ती भएपछि घिमिरे दम्पतिले हाई हाई पाएका छन् ।