क्रसर व्यवसायी संघ सिन्धुपाल्चोकको प्रथम साधारणसभा सम्पन्न

दिनेश दुलाल
बैशाख ८, मेलम्ची । क्रसर व्यवसायी संघ सिन्धुपाल्चोकको प्रथम साधारण सभा मेलम्चीमा सम्पन्न भएको छ । संघको शुक्रबार भएको प्रथम साधारण सभाको क्रसर तथा खानी उद्योग माहासंघका केन्द्रीय अध्यक्ष सिताराम न्यौपानेको प्रमुख आतिथ्यतामा भएको हो ।

मेलम्चीको रिभरसाईड ईन रिसोर्टमा गरिएको साधारणसभाको उदघाटन गर्दै केन्द्रीय अध्यक्ष न्यौपानेले नागरिकको आवश्यकता पूरा गर्न हामी एक आपसमा मिलेपनि कार्यन्यन हुन नसकेको बताए । व्यवसायीलाई सिध्याउने हिसाबले कानुन बनाउन लागेको आरोप लगाउँदै न्यौपानेले सरकारले उद्योगलाई विस्थापित नै गर्ने योजना रहेको जिकिर गरे । क्रसर व्यवसायीमा यतिबेला आर्थिक रुपमा चरम संकट झेलेको स्मरण सुनाउँदै न्यौपानेले राज्यपक्षबाट व्यवसायीहरु पीडित बनेको दुःखेसो पोखे । उद्योग र कच्चा पदार्थको फरक फरक मापदण्ड बनाउन स्थानीय सरकारसंग माग गर्दै उनले सरकारको दोहोरो चरित्र प्रर्दशन नगर्न आग्रह गरे ।

कार्यक्रमका विशेष अतिथि बागमती प्रदेशसभा सदस्य तथा क्रसर व्यवसायी संघ सिन्धुपाल्चोकका पूर्व अध्यक्ष किरण थापाले क्रसर उद्योग नभईदिएको भए स्थानीय सरकारको आन्तरिक स्रोत नहुने ठोकुवा गर्दै स्थानीय सरकारले क्रसर उद्योगलाई संरक्षण गर्नुपर्ने धारणा राखे । गाउँपालिकाको आन्तरिक स्रोत भएन भने बिकास निर्माणका काम हुन नसक्ने समेत उनले ठोकुवा गरे ।

सिमा विवादका कारणा व्यवसायी गर्नेहरूलाई समस्या भएको भन्दै संयुक्त ठेक्का लगाउँदा मात्र व्यवसायीको हित हुने प्रदेश सांसद थापाले सुझाब दिए । यसैगरी मेलम्ची नगरपालिकाका प्रमुख आईतमान तामाङले ईन्द्रावती र मेलम्ची नगरपालिकाको बीचमा मात्र विवाद नभई व्यवसायी बीचमै देखिएको भन्दै छिमेकी पालिका बीचमा संयुक्त ठेक्का लगाउन आफू तयार भएको उनले बताए ।

त्यस्तै ईन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले मुलुक निर्माणको निमित्त क्रसर उद्योग मेरूदण्ड भएको बताउँदै व्यवसायीहरुले दुःख र पीडाले व्यवसाय चलाएको स्मरण सुनाउँदै उनले भने, ‘पालिका अध्यक्ष भएको नाताले के कस्तो निमार्ण सक्छु गर्ने छु ।’
नदि तथा क्रसर उद्योग संरक्षण गर्न ६२ लाखको तारजाली ईन्द्रावती गाउँपालिकाले खर्च गरेरे ईन्द्रावती वगर संरक्षण गरेको दावी गरे । व्यवसायीहरुले प्रतिश्पर्धा गर्नुपर्ने अवस्थामा मिलेर टेन्डर हाल्दा गलत नजिर बसेको भन्दै खुलेर प्रतिश्पर्धा गर्न उनले सुझाए ।
यसैगरी जिल्ला घरेलु उद्योग कार्यालयका प्रमुख विश्वनाथ काफ्ले, नेपाल पत्रकार माहासंघका जिल्ला सचिव विदुर आचार्य लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

साधारणसभाका सभापति सिन्धुपाल्चोक क्रसर व्यवसायी संघका अध्यक्ष कृष्णगाेपाल तामाङले क्रसर व्यवसाय गर्नेहरूलाई अपराधीहरूले मात्रै गर्ने जस्ताे राज्यले व्यवहार गरेकाे भन्दै गलत दृष्टिकाेरणलाई चिर्न सकिएन भने व्यवसायी गर्न नसकिने बताए ।
प्रतिदिन ३० लाख भन्दा बढि क्रसर उद्योगका कारण सिन्धुपाल्चोकलाई अाम्दानी दिन सकिएकाे दावी गर्दै अध्यक्ष तामाङले उद्योगलाई राज्यले संरक्षण गर्नुपर्ने अाैल्याए ।
यसैबीच प्रथम साधारणसभाले कृष्णगोपाल तामाङको नेतृत्वमा रहेको ९ सदस्यीय जिल्ला कार्यसमितिलाई अनुमोदन गरेको कार्यालय सचिव कृष्ण ढकालले सिन्धुज्वालालाई जानकारी दिए । उनका अनुसार वरिष्ठ उपाध्यक्ष विदुर प्रसाद पराजुली, उपाध्यक्ष बद्रिप्रसाद पराजुली, सचिव सुर्दशन गिरी, सहसचिव निर्मला आचार्य र कोषाध्यक्ष सन्दिप कुमार अग्रवाल रहेका छन् । यसैगरी सदस्यहरुमा राजेन्द्र आचार्य, तुलसीप्रसाद नेपाल र श्याम खड्का रहेका छन् । साधारणसभामा अध्यक्ष, सचिव र कोषाध्यक्षले पेश गरेको प्रतिवेदन साधारणसभाले पास गरेको समेत कार्यालय सचिव ढकालले जानकारी दिए ।
यसैबीच संघका पूर्व अध्यक्ष किरण थापा बागमति प्रदेश सदस्यमा निर्वाचित भएकाे भन्दै संघले सम्मान गरेकाे हाे ।

स्मरण रहोस क्रसर व्यवसायी संघ सिन्धुपाल्चोक गठन भएको एक दशक भन्दा बढी भएपनि भूकम्पका कारण अस्थव्यस्थ भएपछि संघले पहिलो साधारणसभा गरेको हो ।