एमालेबाट वडाअध्यक्ष उम्मेदवारनै उत्रिए खुकुरी प्रहारमा, ३ गम्भिर घाईते

बैशाख १८, भोटेनाम्लाङ (सिन्धुपाल्चोक) । पाँचपोखरी थाङपाल गाउँपालिकाको भोटेनाम्लाङमा वडाअध्यक्षका उम्मेदवारले खुकुरी प्रहार गरी ३ जना घाईते बनाएका छन् ।

खुकुरीको प्रहारबाट टाउकोमा गम्भिर चोट लागेका जीवन पुरी

वडा नम्बर ७ बाट वडा अध्यक्ष उम्मेदवार सुके तामाङ र राप्रपाबाट वडा सदस्य उम्मेदवार देवराज गुरुङले सोहीका जीवन पुरी, विनोद गिरी र रोहित गिरीलाई खुकुरी प्रहार गरि गम्भिर घाईते बनाएको नेकपा( माओवादी केन्द्र) सिन्धुपाल्चोक समन्वय कमिटिका जिल्ला संयोजक गोविन्द पराजुली ‘अविशनास’ ले जानकारी दिए । ३ जना मध्ये जीवन पुरीको अवस्था सिकिस्त रहेको उनले बताए ।

उनका अनुसार घाईते तीनजना माओवादी केन्द्र निकट वाईसीएल नेपालको प्रचार प्रसार समितिका सदस्यहरु हुन् । चुनावी प्रचारप्रसारमा हिडीरहेका वाईसीएल सदस्यहरुलाई वडाअध्यक्ष उम्मेदवार सुके तामाङ लगाएतले शनिबार साँझ खुकुरी प्रहार गरी गम्भिर घाईते बनाएको माओवादी केन्द्रले जारी गरेको प्रेस वक्तव्यमा उल्लेख छ ।

जारी गरिएको विज्ञप्ति अनुसार वाईसीयलका कार्यकर्ताले प्रयोग गरेको ९६ प ५२२३ नम्बरको मोटर साईकल समेत पूर्ण रुपमा नष्ट बनाएका छन् ।
टाउकोमा गम्भिर चोट लागेका घाईते तीनै जनाको न्युरो अस्पतालमा उपचारको लागि भर्ना गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार खुकुरी प्रहारमा संलग्न मध्ये एमालेबाट वडाअध्यक्ष उम्मेदवार सुके तामाङलाई प्रहरीले नियन्त्रणमा लिईसकेको छ । अर्का संलग्न देवराज गुरुङलाई भने प्रहरीले फेला पार्न सकेको छैन् ।

यसैबीच घाईतेका आफन्त ईलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दिन नसकी जिल्ला सदरमुकाम चौतारामा पुगेका छन् । घाईतेका एक आफन्तले दिएको जानकारी अनुसार मेलम्चीमा उजुरी दर्ता गर्न जाँदा एमालेका कार्यकर्ताले अवरोध पु¥याएका थिए । त्यसपछि उनीहरु सिधै जिल्ला सदरमुकाम चौतारा पुगेका छन् ।

यसैबीच न्युरो अस्पतालमा उपचार गराईरहेका घाईहरुलाई पूर्व सामाजिक विकासमन्त्री, बागमति प्रदेश सांसद युवराज दुलाल ‘शरद’ पुगेका छन् । विरामीको अवस्था बुझेर फर्किएका सांसद दुलालले दिएको जानकारी अनुसार टाउकोमा गहिरो चोट भएकोले रिस्क हुनसक्ने उपचारमा संलग्न डाक्टरहरुले बताएका थिए । दुईदिन पछि पुनः सिटि स्क्यान गरेपछि मात्र अवस्थाको बारेमा भन्न सकिने आफूलाई डाक्टर मार्फत जानकारी आएको दुलालले बताए ।