विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघ सिन्धुशाखाद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
बैशाख १० -२०८३), चौतारा । तीनै तहका सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र उपलब्ध गराउने सरकारको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घले देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको उक्त निर्णय र परिपत्र प्रेस स्वतन्त्रता, संविधानको भावना र खुला बजार अर्थनीतिविपरीत रहेको ठहर गर्दै महासङ्घले दबाबमूलक अभियान सुरु गर्ने भएको हो ।
सोही अनुसार नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । जिल्लाका क्रियासिल विभिन्न सञ्चारमाध्याममा आवद्व सञ्चारकर्मीहरु बिहिबार जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र वुझाएको पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका अध्यक्ष ध्रुव दंगालले जानकारी दिए ।
तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विभेदकारी निर्णय विरुद्ध नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको शाखाका अध्यक्ष दंगालले बताए । उनको नेतृत्वमा बिहिबार जिल्ला प्रशासन कार्यालय पुगेर महासंघले सहायक प्रमुख जिल्ला अधिकारी सुर्दशन श्रेष्ठ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको हो ।
यसअघि चैत २३ गते सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदा पनि सरकारले चासो नदेखाएपछि महासङ्घले चरणबद्ध आन्दोलनका कार्यक्रम ७७ वटै जिल्लाहरुमा गरेको छ ।
त्यस्तै, वैशाख ११ गते सबै सञ्चारमाध्यमलाई सम्पादकीय ऐक्यबद्धतामार्फत विरोध जनाउन आह्वान गरिएको छ भने सोही दिन बिहान ८ बजे सामाजिक सञ्जालमार्फत व्यापक विरोध प्रदर्शन गरिनेछ ।
आन्दोलनको क्रममा वैशाख १४ गते राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसँग छलफल गर्ने र वैशाख १५ गते नगरपालिका तथा गाउँपालिका महासङ्घमार्फत सबै स्थानीय तहलाई सङ्घीय सरकारको निर्णय अवज्ञा गर्न आह्वान गर्दै ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ। यी कार्यक्रमबाट पनि माग सम्बोधन नभए महासङ्घले थप कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएको छ ।

