भिमटारका ५ सय ५९ परिवारले पाए जमिनको अस्थायी निस्सा

माघ १५, भिमटार । इन्द्रावती गाउँपालिका वडा नम्बर १२ भिमटारका ५ सय ५९ परिवारले अस्थायी निस्सा प्राप्त गरेका छन् ।
आईतबार एक कार्यक्रमका बीच बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकास मन्त्री युवराज दुलालले ५४९३ रोपनी जमिनको अस्थायी निस्सा वितरण गरेका हुन् ।

जग्गाधनीलाई अस्थायी निस्सा वितरण गर्नुहुँदै भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल तथा गाउँपालिका अध्यक्ष झम्कनाथ नेपाल लगाएत ।

निस्सा वितरण कार्यक्रमको अवसरमा बोल्दै मन्त्री दुलालले देशमा लामो समय राजनीति परिवर्तनको लडाई भएपनि गरिबी र चरम शोषणको अन्त्य गर्न अझै बाँकी रहेको बताए । जमिन जोत्नेको र कमाउनेको हुनपर्ने उनको तर्क छ । वषौं देखि जोत्नेको र भोगचलन गरिरहेकाहरुले जमिन पाउनु कानुनी र नैसर्गिक अधिकार भएको मन्त्री दुलालको भनाई छ । अहिले दिइएको अस्थायी पुर्जाको विकल्प पूर्ण अधिकार सहितको लालपुर्जा नै रहेकाले तिनै तहका सरकार एक भएर लाग्नुपर्नेमा उनले जोड दिए ।

सोही अवसरमा बोल्दै इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले जोतभोग गर्नेले जमिनको अधिकार पाउनुपर्नेमा जोड दिए । भूमिहीनहरूको भूमि प्राप्त गर्नुपर्छ भनेर गाउँपालिका पनि लागिरहेको उनले ठोकुवा गरे ।

इन्द्रावती १२ को आयोजना र भूमि अधिकार आयोगको समन्वयमा कार्यक्रम भएको भूमि अधिकार आयोगका जिल्ला अध्यक्ष झम्क प्रसाद पराजुलीले जानकारी दिए । स्थानीय राम बहादुर दनुवारले बाउबाजेको पालादेखि भोगचलन गर्दै आएको जमिनको निस्सा पाएकोका खुसी व्यक्त गरे । जमिनको निस्सा नहुँदा जमिन कसको हो भन्ने अन्यौल हुँदा अब समाधान भएको उनले बताए ।

कार्यक्रममा जिल्ला नापी कार्यालयका प्रतिनिधि, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरू लगायत स्थानीयको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । भूमि अधिकार आयोग सिन्धुपाल्चोकको समन्वयमा इन्द्रावती गाउँपालिका वडा नं.१२, भिमटारले कार्यक्रम आयोजना गरेको हो ।