नेपाली सेनाद्वारा तीन महिना नपुदै पुल निर्माण, गृहमन्त्री खाँणद्वारा उद्घाटन
दिनेश दुलाल
माघ २२, चनौटे (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको पर्यटकी क्षेत्र हेलम्बुलाई जोड्ने चनौटे स्थित मेलम्ची खोला माथि बनेको रातो पुल निकै चर्चामा थियो ।
गत असार १ र १६ गते मेलम्ची खोलामा आएको बाढीले चनौटे बजार स्थित उक्त रातो पुल मात्रै बगाएन दर्जनौको ज्यान लियो भने अरबौंको सार्वजनिक र निजी सम्पतिको नोक्सान बनायो । पुलको कारण हेलम्बुलाई नै विच्छेद बनाउन पुगेको गाउँपालिकाको– २ र ७ जोड्ने उक्त पुल नेपाली सेनाले बनाएको हो । नेपाली सेनाले तीन महिना नपुग्दै निर्माण सम्पन्न गरेको पुलको आज गृहमन्त्री बालकृष्ण खाँणले पुल (बेलिब्रिज) उदघाटन गरेका हुन ।
पुल उद्घाटन पछि संक्षिप्त कार्यक्रमलाई सम्बोधन गर्दै गुहमन्त्री खाँडले जनतालाई परेको विपद्मा सरकारले टुलु टुलु हरेर बस्ने नभई जनताका आवश्यकता पुरा गर्दै जाने बचन दिए । बाढी प्रभावित मेलम्ची र हेलम्बु क्षेत्रलाई सरकारले विशेष प्राथमिकता राखेर योजना बनाएको समेत उनले जानकारी गराए । कार्यक्रममा विभिन्न राजनैतिक दलका नेताहरु, प्रमुख जिल्ला अधिकारी लगाएत सहभागि थिए ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले कात्तिक ४ गते पुल निर्माण गर्न नेपाली सेनालाई जिम्मा दिएको थियो ।
४८.७७ मिटर लम्बाइ र ४.२० मिटर चौडाइ रहेको उक्त पुल उद्घाटन संगै सडक विभागलाई हस्तान्तरण गरिएको हो ।
बाढी आएर पुल बगाएपछि खोला वारिपारि गर्न निकै कष्ट बेहोर्दै आएका थिए । यसअघि पुलको संरक्षणको लागि भन्दै पूर्व सामाजिक विकास मन्त्री युवराज दुलालको पहलमा पुल बचाउ अभियान थालिएको थियो तर १६ गतेको बाढीले रातो पुल बगायो ।
त्यसपछि स्थानीयवासीलाई नयाँ पुल निर्माणपछि अत्यावश्यक खाद्य सामग्री ओसारपसार र बिरामी हुँदाका बखत उपचारका लागि काठमाडौँ लगायतका स्थानमा जान निकै कठिनायी भएको थियो । पुल निर्माणको तागेता गर्नको लागि गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा निकै खटिएका थिए ।
आफू रातो दिन लागेर नै पुल निर्माणले सार्थकता पाएको गाउँपालिका अध्यक्ष शेर्पा बताउँछन् । केही राजनैतिक दलका नेताहरुको पहलमा पुल निर्माण गरिएको भनेर हल्ला गरिएपनि पुल निर्माण छिटो सम्पन्न गर्न आफू निकै लागि परेको पालिका अध्यक्ष शेर्पाको कथन छ । पुल निर्माण संगै बाढीका कारण क्षति पुगेको सडकको समेत स्तर उन्नतीको लागि पहल भईरहेको उनले जानकारी दिए ।