एमाले भित्र बालुवा पेलेर तेल निकाल्ने कसरत

संसद विघटन पछि आन्दोलनमा होमिएका एमाले नेता माधव कुमार नेपालले प्रत्येक भाषणमा भन्ने गरेका थिए–‘केपी बा’ सच्चिनु भनेको बालुवा पेलेर तेल निकाल्न खोज्नु जस्तै हो ।’ ओलीले हुँदाखाँदाको दुईतिहाई बहुमत पुगेको नेकपाको सरकार रहेको संसद मात्रै विघटन गरेनन् । सबैभन्दा ठूलो नेपालको कम्युनिष्ट पार्टी समेत विघठन गराए । यो घटनाले लोकतान्त्रिक गणतन्त्र सहितको संविधान नै धरापमा पर्यो । असंबैधानिक ‘कु’ का विरुद्व नेकपा भित्रकै एउटा दल (प्रचण्ड माधव पक्ष) आन्दोलनमा होमियो । प्रतिपक्ष दल नेपाली कांग्रेस र जसपा समेत छुट्टा छुट्टै आन्दोलनमा लागे । ओलीले विघटन गराएका संसद पुर्नस्थापना भयो तर ओली कहिल्यै सच्चिएनन । प्रचण्डसंग आन्दोलनमा सहकार्य गरेका नेता नेपालले बाराम्बार यो कुरा दोहो¥याएका थिए की ओली कुनैपनि हालतमा सच्चिदैनन् । किनकी ओली व्यक्ति थिएनन् एउटा प्रवृति थिए । ओली प्रवृति निर्मम संघर्ष र आत्माआलोचना नगरी सामन्य समन्वय र चोचोमोचो मिलाएर सच्चिने कुरा थिएन । यहि देखेर नेता नेपालले भनेका थिए वालुवा पेलेर तेल निकाल्न सकिदैन ।
राजनीति घटनाक्रममले केही नयाँ मोड लियो । प्रचण्ड र माधव संगै सहकार्य गर्ने अवस्था रहेन किनकी नेपाल कम्युनिस्ट पार्टीको नाममा प्रश्न उठाउँदै दायर रिटमा सर्वोच्च अदालतले फागुनको अन्तिम साता नेकपा एमाले र माओवादी केन्द्रलाई एकीकरणअघिकै अवस्थामा ब्युँताइदिएको थियो । सर्वोच्च अदालतको फैसलाले नेकपा पूर्ववत अवस्थामा फर्किएपछि एमाले र माओवादीको अस्तित्व पुरानै अवस्थामा रह्यो । तर एमालेमा त्यहि पुरानै रोग देखियो जुन नेकपा हुँदा भोग्न परेको थियो । एमालेको आन्तरिक विवाद समाधान गर्न नेताहरूले लामो प्रयास गरेपनि कुनै निचोड निस्कने सम्भावना थिएन ।
बरु गएको जेठ १० गते पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरेको समूहले पार्टीका पूर्वअध्यक्ष झलनाथ खनाल र पूर्व महासचिव माधवकुमार नेपाल सहित ११ जनालाई कारबाही गर्दै पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त ग¥यो ।
तर त्यसयता दुवै पक्षका दोस्रो तहका नेताहरूले एकताको प्रयासको खोजीमा संवादलाई निरन्तरता दिएपनि कुनै उपलब्धी हात लागेको छैन् ।
नेपाल पक्षका नेताहरूले पार्टीलाई २०७५ जेठमा नेकपा माओवादी केन्द्रसँग भएको एकीकरणअघिको अवस्थामा फर्काउन प्रधानमन्त्री तयार भए एकताको वातावरण बन्ने दावी गरेका थिए । यद्यपि त्यो दावी बालुवाबाट तेल निकाल्नु सरह नै थियो ।
माधव नेपाल–झलनाथ खनाल एमालेको ’साधारण सदस्य समेत नरहने गरी निष्कासित हुँदा समेत नेपाल पक्षले ओली प्रवृति चटक्कै भुल्यो । बोलीमा माधव पक्षहरुले ओली प्रवृति विरुद्व खनिए पनि व्यवहारमा भने बालुवाबाट तेल निकाल्ने कसरत मै लागे जुन अहिलेसम्म जारी छ ।
ओलीले जसरी आफ्नै पार्टीका नेताहरु माथि डण्डा बर्साउन थाले । उनी पार्टी विभाजनतर्फ अघि बढिरहे तर माधव पक्षधरलाई कुनै हालतमा टेर्ने वाला छैनन् । बरु ओलीले आफूलाई साथ दिएका माओवादी केन्द्रका नेताहरूलाई पार्टीका विभिन्न कमिटीमा जिम्मेवारी दिएका छन् । पछिल्ला राजनीतिक घटनाक्रमले नेकपा एमालेको विग्रह झन् गहिरो बनाउँदै लगेको छ ।
नेपाल र उनी पक्षका सांसदहरूले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भावी प्रधानमन्त्रीका रूपमा समर्थन गर्दै राष्ट्रपति कार्यालय शीतलनिवासमा हस्ताक्षर बुझाएपछि ओली निकै रुष्ट देखिएका थिए ।
त्यहि भएर उनले देउवालाई दिएको समर्थन फिर्ता लिन नेपाल पक्षलाई पहिलो शर्तको रुपमा राखेका छन् ।
नेपाल पक्षधरले भने विसं २०७५ जेठ २ गतेअघिका पार्टी र जनसङ्गठनका सबै तहका संरचना ब्युँताउने र क्रियाशील बनाउने र त्यसपछि फाल्गुन २३ गतेपछि दुवैतर्फबाट गरिएका राजनीतिक र साङ्गठनिक निर्णयहरूलाई बदर गर्दै सच्याउन माग गरेका छन् ।
पार्टीलाई विधिमा फर्काइए दोस्रो पटक प्रतिनिधिसभा विघटनपछि उब्जिएका समस्याहरू पनि हल गर्न सकिने विश्वास गरेका नेपाल पक्षहरु ओली परिपरि नै चक्कर मारिरहेका छन् । एउटा पक्षले मात्र नभई दुवै पक्षले पार्टीका संस्थागत फैसलाहरू जे हुन्छन् त्यो सर्त मानेर जानुपर्ने हुन्छ तर ओलीपक्ष आफ्नो अडानबाट डेग चलेको छैन् । नेता नेपाल ओली भन्दा जति ईमान्दार छन् तर गतिलो काउन्टर गर्न नसकेका कारण उनी एकपछि अर्को आफ्नो शान र अडानबाट खस्किदै छन् । एमाले पार्टी विभाजन भईदिए हुन्थ्यो भनेर कसैले चाहाना राख्नु राम्रो पक्ष होईन । तर त्यो पार्टी ओली प्रवृति रहेसम्म सुध्रिनेवाला छैन् । साँच्चै एमाले भित्र समस्याको मुल जरो ओली प्रवृति हो भनेर किटान गरेपछि भागवण्डाको अर्थ के ? के भागबण्डा मिलाएर र २०७५ जेठ २ पूर्व पार्टीलाई फर्काउने वित्तिकै ओली प्रवृति हट्छ ? या सबै समस्याको हल हुन्छ ? यदि यहि सोचाई माधव पक्षधरमा छ भने यो उनीहरुमा देखिएको सबैभन्दा ठूलो दृष्टिभ्रम हो । नेता नेपालले प्रत्येक भाषणमा ‘ओली सच्चिदैनन् उनीबाट अपेक्षा गर्नु भनेको बालुवाबाट तेल निकाल्न खोज्नु हो’ भन्ने भनाई आफँैले उल्टाउँदैछन् । र उनी पनि बालुवाबाट तेल निकाल्ने प्रयासमा छन् । यदि ओली आफ्नो पूर्ववत अडानबाट पछि हटेर माधव पक्षले भने जस्तै केही कुरामा सहमत भईहालेछन् र पार्टीको समस्या केही हल गरेर पार्टी एकता जोगाएछन् भनेपनि केही दिनमै यो रोग बल्झिने वाला निश्चित छ । ओली त्यत्तिकै गल्नेवाला मान्छे होईन उनी आम प्रवृति हो । प्रवृति भनेको विरोधीलाई सिध्याउने र आफु पनि सिद्विने हो । ईमान्दार कहिल्यै हुनेछैन् । नेपाल पक्षधरहरु जसरी बालुवाबाट तेल निकाल्ने अझै प्रयास रहनेछन् त्यतिबेला सम्म धेरै कुरा उनीहरुको काबुबाट बाहिरी सक्ने छ । सिपाई बिनाको कप्तान भनेझै नेपाल कार्यकर्ता बिनाको नेता हुनेछन् । बरु तिनीहरुले सकेको भए एमालेको समानन्तर कमिटि बनाएर अघि बढ्नु पर्दथ्यो । समानानतर कमिटिमा कार्यकर्ताको ठूलो हिस्सा कायम भएसंगै त्यसकै बलमा ओली प्रवृति विरुद्व मुकाबिला गर्न सकिन्थ्यो । यदि आफ्नो अडानबाट गलेर नेपाल पक्षधर सहमतिको बाहानामा विना संघर्ष समाहित भएभने नरह्यो बाँस नबज्यो बाँसुरी भने झै हुनेछन् । नत बालुवा पेलेर तेल नै निस्कनेवाला छ । यो कुरा माधव पक्षधरले बेलेमा हेक्का राखे राम्रो ।