यस्ता पो नगरपिता ! जनतालाई शोक पर्दा दशैं पनि भन्दैनन्


दिनेश दुलाल
असोज २८, चौतारा (सिन्धुपाल्चोक) । नेपालीहरुको महान चाड बडा दशैंको चारैतिर रौनक छाएको छ । विभिन्न कामको शिलशिलामा जिल्ला बाहिर तथा देश बाहिर गएका सबै आफ्ना प्रियजन घर फर्किएर गाउँघरनै उज्यालो बनेको छ ।

मृतकका परिवारलाई नगरबाट किरिया खर्च बापत प्रदान गरिने पाँचहजार आश्रित परिवारलाई प्रदान गर्नुहुँदै मेयर तामाङ

सबैका घर–घरमा फुलपाती भित्र्याई रहेका छन् । नगरपालिका लगाएत विभिन्न सरकारी कार्यालयहरु बन्द भएर कर्मचारीहरु विदा लिएर आफ्ना परिवारसंग बसीरहेका छन् । तर चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङलाई भने सरकारी विदाको कुनै प्रवाह छैन् । नगर कार्यालय दशैंको विदामा बन्द भएपनि उनलाई जनताको घरदैलोमा पुग्न कुनै विदा मिलेको छैन् ।

मृतकका परिवारलाई १३ नम्बर वडा कार्यालयको तर्फ प्रदान गरिएको समवेदना पत्र

प्राय जनप्रतिनिधिहरु चाडपर्वको बेला लामो समय सरकारी विदा हुँदा कि चियापान कार्यक्रममका सरिक हुन्छन् कि आफ्ना कार्याकर्तासंग राजनैतिक छलफलमा व्यस्त हुन्छन् । तर मेयर तामाङलाई यतिबेला आफ्ना नगरभित्र शोकमा परेका नागरिकलाई भेट्न भ्याईनभ्याई छ ।
विभिन्न कारणले निधन भएका नगर भित्रका आफ्ना नागरिक प्रति श्रद्धाञ्जली अर्पण गर्दै नगरको कार्यक्रम अनुसार प्रति मृतक परिवार ५ हजार प्रदान गरिने काममा मात्र गएका होईनन् मियेर तामाङ । शोकमा परेका परिवारलाई समवेदना सहित सान्त्वना समेत दिन गएका हुन् ।
सिरिफ ५ हजार दिने मात्र काम भएको भए मेयर तामाङले कसैलाई पठाईदिन्थे वा दशैंपछि पुगेर प्रदान गर्थे होलान । तर मुख्य चाडपर्वका दिन आफ्ना परिवारसंग नबसी मेयर तामाङ फुलपातीको दिनदेखि शोकमा परेका जनतासंग सुखदुःख साट्न हिँडेका छन् । ‘जनतालाई शोक पर्नु भनेको नगरलाई पनि शोक पर्नु हो’,नगरप्रमुख तामाङले भने । अष्टमीको दिन ठूलोसिरुवारीमा क्यान्सरका कारण निधन भएकी ७८ वर्षीय धनमाई दुलालको शोकमा परेका परिवारलाई भेट्न पुगेका मेयर तामाङले भने‘, नगरपिता भनेको आफ्ना नगरका सबै सन्तानको हेरचाह गरेसी मात्र पुरा हुन्छ ।’ नगरभित्रका नागरिकको शोक आफुलाई पनि परेकोले चाडपर्व नभनी शोकमा परेका नागरिकका घरघरमा पुग्ने गरेको मेयर तामाङले सुनाए ।

मेयर तामाङका स्वकीय सचिव रोहित शर्माका अनुसार नगरभित्र विभिन्न कारणले निधन भएका नागरिकका परिवारलाई भेट्न मेयर तामाङ फुलपातीको दिन देखि गाउँअभियानमै छन् । मृतकका परिवार भेट्न सोमबार पर्ने फुलपातीको दिनमा सानोसिरुवारी र साँगाचोक तथा अष्टमीको दिन ईर्खु र ठूलोसिरुवारी पुगिएको शर्माले जानकारी दिए । टीकाको दिन सम्म यो कार्यक्रलाई निरन्तरता दिने शर्माले बताए ।
उनका अनुसार नगरको आर्थिक वर्ष २०७८÷०७९ को नीतिगत कार्यक्रम अनुसार साउनदेखि छुट्याईएको आर्थिक सहायता प्रत्येक मृतकका परिवारका घरमा पुगेर प्रदान गरिएको हो । नगरको उक्त कार्यक्रम निकै लोकप्रिय र जनतामैत्री रहेको १३ नम्बर वडाका पूर्व जनप्रतिनिधि क्षेत्रबहादुर दुलालको तर्क छ ।

स्मरण रहोस प्रत्येक सर्वसाधारणको विभिन्न कारण मृत्यु हुँदा तिनका परिवारलाई आर्थिक सहायता गर्ने कार्यक्रम १२ स्थानीय तह मध्ये चौतारा साँगाचोकगढी नगरपालिकाको पहिलो कार्यक्रम हो । नगरले गरेको उक्त कार्यक्रमको सुरुवातले सर्वसाधारण निकै उत्साहित देखिएका छन् ।