अनुदानमा आएको रासायनिक मलको अवैध बिक्री, ४९६ बोरा बरामद
चैत्र २७, बलेफी । सिन्धुपाल्चोक जिल्लाको बलेफीमा अनुदानमा आएको रासायनिक मलको अवैध बिक्री भेटिएको छ ।

रासायनिक मलको अवैध बिक्री गरिएको ४९६ बोरा बरामद गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार गाउँपालिकाका विभिन्न क्षेत्रमा अनुदानित रासायनिक मल अवैध रूपमा बिक्री वितरण भइरहेको अनुगमनका क्रममा भेटिएको हो । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार अनुगमनका क्रममा वडा नं. ७ को खाडिचौर बजार, वडा नं. ५ को कोठे र वडा नं. १ को जलवीरे क्षेत्रबाट ठूलो परिमाणमा मल तथा कृषि सामग्री बरामद गरिएको थियो ।
अनुगमन टोलीका अनुसार नेपाल सरकारबाट अनुदानमा उपलब्ध गराइने मल व्यक्तिगतरूपमा बिक्री वितरण भइरहेको सूचना पाएपछि दुई दिनसम्म निरन्तर अनुगमन गरिएको थियो । सो क्रममा युरिया, पोटास, डीएपी, फस्फोरस लगायतका मल तथा अन्य सामग्री अवैध रूपमा भण्डारण गरी बिक्री गरिँदै आएको पाइएको छ ।
बरामद गरिएको विवरण अनुसार जलवीरे क्षेत्रबाट करिब ५० केजीका १९६ बोरा बराबर सामग्री, खाडिचौरबाट २६४ बोरा युरिया र फस्फोरस तथा कोठे क्षेत्रबाट ३६ बोरा विभिन्न प्रकारका मल फेला परेको छ । यसरी जम्मा ४९६ बोरा मल बरामद गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
बरामद गरिएको सामग्री नियन्त्रणमा लिई गोदाममा तालाबन्दी गरिएको आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यस्ता गतिविधि नियन्त्रण गर्न अनुगमनलाई अझ कडाइका साथ निरन्तरता दिने उसको भनाई छ ।

