बाह्रबिसे नगरपालिकाले थाल्यो जोखिम बस्तीहरुको भौगोलिक सर्वेक्षण

दिनेश दुलाल
असार १९, बाह्रबिसे (सिन्धुपाल्चोक) । बाह्रबिसे नगरपालिकाले नगरभित्र जोखिम बस्तीहरुको भौगोलिक सर्वक्षण गर्न सुरु गरेको छ ।
शनिबारबाट नगरपालिकाले भू–गर्भविधहरु लगेर जोखिम बस्तीहरुको सर्वक्षण गर्न थालेको हो । घुम्थाङको नागपुजेबाट सुरु गरिएको भौगोलिक सर्वेक्षण नगरका सबै वडाहरुमा गरिने नगरकी उपप्रमुख शुशिला पाख्रिनले सिन्धुज्वालालाई जानकारी दिईन । ‘हामी सबै वडाहरुमा गर्छौ तर पहिलो प्राथमिकता पहिरोबाट अत्यान्त जोखिम बस्तीहरुबाट सुरुवात गर्छौ’, नगर उपप्रमुख पाख्रिनले भनिन ।

उनका अनुसार गत साल नागपुजेमा साउनमा आएको पहिरोले ठूलो जनको क्षति गरेपछि तत्कालै सम्भावित जोखिम बस्तीहरुको भूगर्भविधबाट भौगोलिक सर्वेक्षण गर्न पहल थालेको नगरपालिकाले एकवर्ष पछि मात्रै यो अवसर पाएको हो । ‘हामीले गत साल नै सर्वेक्षण गर्न प्रक्रिया थालेका थियौं तर जिल्ला विपद व्यवस्थापन समितिले गम्भिरतापूर्वक नलिएपछि ढिला हुन पुग्यो’, पाख्रिनले भनिन । भू–गर्भवविध टोली नआएका कारण बर्षा अगवै सर्वेक्षण गर्न नसकिएको उनले बताईन ।

नगरपालिकाका अनुसार उक्त अभियानमा उपप्रमुख पाख्रिनको नेतृत्वमा सम्बन्धित वडाका जनप्रतिनिधिहरु, विज्ञ टोली, ईन्जिनिएर लगाएत नेपाल प्रहरी समेत सहभागी छन् । उपप्रमुख शुशिलाका अनुसार सर्वेक्षण गराउने जिम्मा प्रतिवद्व नामक संस्थाले पाएको हो । नगरपालिको वडा नम्बर ७ को नागपुजेबाट सुरुवात गरिएको जोखिम बस्तीहरुको भौगोलिक सर्वक्षण वडा नम्बर ५ हुँदै क्रम वडाहरुको गरिने उनले बताईन ।
पाख्रिनका अनुसार भू–गर्भविधहरुले सर्वेक्षण गरेसंगै प्रतिवेदनका आधारमा कुन ठाउँमा बस्ती बसाल्न सकिने या नसकिने भन्ने निक्र्यौल हुनेछ । रिर्पोको आधारमा जोखिम बस्तीहरु स्थान्तरण समेत गर्न सकिने उनले बताईन । जिल्लाका लिदी लगाएत स्थानहरुमा समेत भौगोलिक सर्वेक्षण भईरहेको छ ।