ठाडोखोला–कालढुङ्गा झोलुङ्गे पुल निर्माणले दुई वडालाई जोड्यो, जनतालाई सहज

चैत्र ४, थाङपालधाप । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं. ७ र ८ लाई जोड्ने ठाडोखोला–कालढुङ्गा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ ।

नाम्लाङ खोलामा बनेको नब निर्मित पुलको बुधबार पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामाले उदघाटन गरेका हुन् । वडा नं. ८ का वडा अध्यक्ष विष्णुबहादुर खड्काको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न वडाका अध्यक्ष, सदस्यहरू, गाउँकार्यपालिका सदस्य, सुरक्षा निकायका प्रतिनिधि, अस्पताल प्रमुख डा. प्रवेश गजुरेल लगायतको उपस्थिति रहेको थियो ।

पाँचपोखरी थाङपाल गाउँपालिका तथा कादुरी एग्रिकल्चर एण्ड एसोसिएसन -ब्रिटिस गोर्खाज नेपाल) को सहयोगमा निर्माण भएको उक्त पुलले स्थानीय बासिन्दाको आवतजावतलाई सहज बनाएको छ ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष टासी लामाले पुल निर्माण आफ्नो दीर्घकालीन सपना रहेको उल्लेख गर्दै कादुरी संस्थाप्रति विशेष धन्यवाद दिए । भविष्यमा सोही खोलामा थप दुईवटा पुल निर्माण गर्न संस्थासँग अनुरोध गर्दै उनले जग्गादाता मरिचमान तामाङ, चतुर्मान तामाङ र दमै सिंह तामाङ लगायतलाई धन्यवाद दिए ।

त्यस्तै वडा नं. ८ का वडा अध्यक्ष विष्णुबहादुर खड्काले विगतमा स्थानीयले भोग्दै आएका कठिनाइहरू अब अवसरमा परिणत भएको उल्लेख गर्दै आगामी दिनमा थप दुईवटा पुल निर्माणका लागि पहल गरिने र संस्थासँग निरन्तर सहकार्यको अपेक्षा गरिएको बताए । यस्ता कार्यक्रमहरूले स्थानीय स्तरमा रहेका साधारण समस्याहरूलाई समाधान गर्न सके भविष्यमा विकासको क्षेत्रमा अगाडि बढ्न सकिने उनको तर्क छ ।

वडा नं. ८ का पशु स्वास्थ्य प्राविधिक राजेश खड्काले र राजन भुजेलले सञ्चालन गरेको कार्यक्रममा संस्थाको तर्फबाट प्रोजेक्ट म्यानेजर रमेश कुमार श्रेष्ठले पुललाई औपचारिक रूपमा हस्तान्तरण गरेका थिए । कादुरी संस्थाले हालसम्म नेपालभर ६०० भन्दा बढी झोलुङ्गे पुल निर्माण गरिसकेको र प्रत्येक वर्ष करिब १४ वटा पुल निर्माण गर्दै आएको जनाएको छ । सिन्धुपाल्चोक जिल्लामा भने उक्त संस्थाले पहिलोपटक पुल निर्माण गरेको हो ।

यस पुलको प्रारम्भिक लागत एक करोड २४ लाख रुपैयाँ अनुमान गरिएको भए पनि निर्माण कार्य सम्पन्न हुँदा लागत घटेर एक करोड ११ लाख रुपैयाँमा सम्पन्न भएको संस्थाले जनाएको छ । पुल निर्माणमा गाउँपालिका अध्यक्ष, वडा अध्यक्षहरू तथा स्थानीयवासीहरूको उल्लेखनीय योगदान रहेको थियो ।

कार्यक्रममा स्थानीय लोक कलाकारहरूले लोकदोहोरीमार्फत आफ्ना अनुभव र भावना प्रस्तुत गर्दै संस्थाप्रति आभार व्यक्त गरेका थिए ।