नेपालमा चक्रवात ‘मोन्था’को प्रभाव, २६ जिल्लामा ठूलो बर्षासंगै बाढीको आंकलन
कार्तिक १२, काठमाडौं । कार्तिक १३ गते दिउँसोदेखि १५ गते बिहानसम्म नेपालको २६ जिल्लामा ठुलो वर्षासंगै बाढीको सम्भावना रहेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’का कारण नेपालको मौसममा गम्भीर असर पर्ने भन्दै उच्च सतर्कताका लागि अनुरोध गरेको छ ।
मौसम विदमा अनुसार देशका २६ जिल्ला अन्र्तगत काभ्रे, सिन्धुपाल्चोक, दोलखा, काठमाडौ, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन, सिन्धुली, बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी, संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, ईलाम, झापा, मोरङ, सुनसरी जिल्लामा बग्ने स–साना खोला÷नदीहरूमा आकस्मिक बहाब बढ्ने सम्भावना देखिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, यो प्रणालीको प्रभाव कार्तिक १३ गते बिहीबार दिउँसोदेखि कार्तिक १५ गते शनिबार बिहानसम्म रहनेछ। चक्रवात मोन्थाको सीधा प्रभाव कोशी, मधेस र बागमती प्रदेशमा पर्नेछ ।
मधेस र कोशी प्रदेशका धेरै स्थान तथा बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। मधेस र कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।प्रभावित हुने प्रदेश र जिल्लाहरू ः
हिमपातः कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम हिमपातको सम्भावना छ ।
भारी हिमपातः कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको समेत सम्भावना छ ।
नदी बहावः उक्त अवधिमा बागमती, कमला, कोशी र कन्काई नदी र यिनका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्नेछ। कोशी, बागमती र मधेस प्रदेशका महाभारत, चुरे भई बहने स–साना नदीनालाहरूमा आकस्मिक बहाव हुन सक्ने सम्भावना समेत रहेको छ ।
यसैबीच सम्भावित वर्षा र हिमपातका कारण आकस्मिक बहाव, पहिरो लगायतका जोखिमका साथै सडक तथा हवाई यातायात, कृषि, पर्यटन लगायतका क्षेत्रमा समेत प्रभाव पर्न सक्ने सम्भावना रहेको भन्दै प्राधिकरणले सबै सम्बन्धित निकाय र सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
डुबान हुनसक्ने बस्तीका बासिन्दाले उँचो र सुरक्षित स्थानबारे जानकारी लिनु र अरूलाई पनि जानकारी दिनु, आवश्यक पर्नासाथ सुरक्षित स्थानमा जान र प्रभावित हुनसक्ने नदी किनाराका बासिन्दा सतर्क भइराख्न तथा जोखिम देखिए सुरक्षित स्थानमा सर्न भनिएको छ ।
त्यस्तै धान तथा अन्य बाली नकाट्न, काटेको भए तत्काल भित्र्याउन समेत सुझाएको छ ।
प्राधिकरणले तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक लगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी अवस्थामा रहन अनुरोध गरेको छ । त्यसैगरी, पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्थाहरू जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही अलर्टमा रहन भनिएको छ ।


