अन्तरिम सरकारको पहिलो महिला प्रधानमन्त्री सुशीला, आजै सपद खुवाईदै
भदौ २७, काठमाडौं । जेन–जी पुस्ताद्वारा गरिएको आन्दोलनबाट पूर्व प्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बन्ने भएकी छिन ।
नेपालकै इतिहासमा पहिलो महिला प्रधानमन्त्री बन्न लागेकी पूर्व प्रधानन्यायाधीश कार्कीलाई राष्ट्रपति कार्यालय शितल निवासमा भर्खरै भएको सहमति अनुसार आज राति ९ बजे अन्तरिम सरकार प्रमुखका रूपमा शपथग्रहण गराइने भएको छ।
राष्ट्रपति कार्यालयले दिएको जानकारी अनुसार कार्कीको नियुक्ति र शपथलगत्तै मन्त्रिपरिषदको पहिलो बैठक बस्नेछ।
त्यही बैठकले प्रतिनिधिसभा विघटनको निर्णय गर्ने र स्वीकृतिको निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सहमति भएको छ।
आन्दोलनरत जेन–जी युवाहरूको मागअनुरूप संसद विघटन गरी कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमति जुटेको हो।
राष्ट्रपति रामचन्द्र पौडेल र जेन–जी युवाहरूबाट प्रधानमन्त्रीमा प्रस्तावित पूर्वप्रधानन्यायाधीश कार्कीबीच कसको सिफारिसमा संसद भंग गर्ने भन्नेबारे कुरा मिल्न नसकेपछि प्रधानमन्त्री नियुक्तिमा विलम्ब भइरहेको थियो।
राष्ट्रपति पौडेलले कार्कीलाई ’म तपाईंलाई प्रधानमन्त्री नियुक्त गर्छु’ र प्रधानमन्त्री भएपछि पहिलो मन्त्रिपरिषद बैठकबाटै संसद विघटन र निर्वाचन मिति निर्णय गरी ल्याउनू भनेका थिए।
तर आन्दोलनरत जेन–जीका प्रतिनिधिहरू संसद विघटन गरेर मात्र अन्तरिम सरकार गठन हुने मागमा अडिग रहे। त्यही आधारमा वार्ता लम्बिँदै गएको थियो। तर आज उक्त सहमति भएसंगै मुलुकको रिक्तता रहेको सरकारले पूर्णता पाउने भएको छ ।

