तिर्थालुहरुको सेवाका लागि वाइसीयलको स्वयसेवक दस्ता पाँचपोखरी यात्रामा
साउन २२, भोताङ । ‘नेपाल यात्रा २०८२’ को नाम दिएर धार्मिक तथा पर्यटकीय स्थलहरुको यात्रा थालेको वाईसीयल नेपालको स्वयसेवक दस्ता पाँचपोखरीको तर्फ लागेको छ । पहिलो यात्रा रसुवाको गोसाइकुण्ड पुगेर तिर्थालु तथा पर्यटकहरुका लागि स्वयसेवकीय भूमिका निर्वाह गरेर फर्किएको उक्त दस्ताले धार्मिक तथा पर्यटकीय स्थल पाँचपोखरीमा जनैपूर्णिमा लाग्ने मेलाको लागि सहयोगार्थ स्वयसेवकको लागि दोस्रो यात्रा तया गरिएको वाईसीयल नेपालले जनाएको छ ।

उक्त टोलीको नेतृत्व पूर्व सामाजिक विकासमन्त्री एवंम वाग्मति प्रदेश सांसद युवराज दुलालले गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्–‘नेपाल यात्रा २०८२” को दोस्रो यात्रा “यात्रा पॉचपोखरी २०८२” आजबाट सुरु भएको छ । पॉचपोखरी तिर्थालुहरुको सेवाका लागि स्वयसेवक वाइसीयल सहित हामी ३ दिन यस क्षेत्रमा रहनेछौं ।’

उनका अनुसार उक्त टोलीले पाँचपोखरी पुग्ने तिर्थालुहरुको लागि सुरक्षा, लाईन बस्न सहयोग, तर्थाली बिरामी पर्दा सहयोग लगाएत कामको सहजीकरण गर्नेछन् । टोली त्याहाँ तीन दिन बसेर २४ गते बेलुका फर्कने छ । टोलीलाई पाँचपोखरी थाङपाल गाउँपालिकाको थाङपालधाप, गुन्सा, भोताङ र छिम्दीका स्थानीयले भव्य स्वागत गरेका थिए । पाँचपोखरी पुग्ने तिर्थालुहरु बिहिबारबाटै त्यसतर्फ सयौंको संख्यामा प्रस्थान गरेको पाँचपोखरी थाङपाल गाउँपालिकाले जनाएको छ ।

एकातिर सिन्धुपाल्चोकको मेलम्ची, भोताङ हुँदै पाँचपोखरी पुग्न सकिकन्छ भने अर्को तर्फबाट चौताराबाट स्याउले हुदै पर्यटकीय गाउँ ओखरेनी हुँदै पदयात्रामा दुई दिनको दुरीमा पर्ने पाँचपोखरी सिन्धुपाल्चोक जिल्लाको उत्तर पश्चिम स्थित साविक भोताङ गाविसको वडा नं १ मा अवस्थित छ । यो हाल पाँचपोखरी थाडपाल गाउँपालिकामा पर्दछ ।
काठमाडौंबाट मेलम्चीसम्मको बस यात्रापछि तिपेनी थाङपालधाप बाट पनि एकदेखि डेढ दिनमा पाँचपोखरी पुग्न सकिन्छ । भैरवकुण्ड, सरस्वती कुण्ड, गणेशकुण्ड, स”र्यकुण्ड र नागकुण्ड गरी पाँचवटा कुण्ड अर्थात पोखरी रहेकोले यस स्थानको नाम पाँचपोखरी रहन गएको हो ।
हरेक बर्ष जनै पुर्णिमाका अवसरमा यहाँ एक हप्ता मेला लाग्छ । यस मेलामा विशेष गरी तामाङ जातिका झाँक्रीहरु बढी जाने र झाँक्री पहिरनमा ढ्याङग्रो बजाएर नाच्ने गर्छन् । हिजोआज महिला झाँक्रीको संख्या पनि उल्लेख्य रुपमा बढ्दै गएको पाइन्छ । दुइतीन पटकसम्म उक्त मेला भरेर फर्केपछि मात्र झाँक्रीहरु विशेष रुपमा पारङगत भएको मान्ने चलन यहाँ रहेको पाइन्छ ।
इन्द्रावती र ब्रम्ह्मायणी (बलेफी) नदीको उद्गम स्थलका रुपमा रहेको पाँचपोखरीमध्ये सबैभन्दा ठूलो पोखरी सरस्वती कुण्ड हो । यो कुण्ड बीच भागमा पर्दछ । वैज्ञानिक रुपमा कुण्डको गहिराई मापन नभएकोले ठ्याक्कै यति गहिराइ नै हो भन्न नसके यसको चारैतिर परिक्रमा गर्न लाग्ने झण्डै एक घण्टा भन्दा बढी समयले यो कुण्ड निकै नै गहिरो हुन सक्ने अनुमान गरिएको छ ।

