पत्रकार महासंघ सिन्धुशाखाले पहिलोपटक मनायो ३४ औं स्थापना दिवस
दिनेश दुलाल
मंसिर २५, चौतारा । नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकले ३४ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ ।

महासंघ जिल्ला शाखा स्थापना गरेको ३३ वर्ष पूरा भएको अवसरमा सिन्धु शाखाले पहिलोपटक ३४ औं स्थापना दिवस मनाएको हो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकार र श्रमजीवि पत्रकारहरुको पक्षमा आवाज उठाउँदै आएको महासंघ जिल्ला शाखाले आज पत्रकार सहित विभिन्न व्यक्तित्वहरुको उपस्थितिमा रक्तदान, सुगर प्रेसरको चाँच, परिचयपत्र वितरण तथा अनलाईन संस्करणको शुभराम्भ लगाएत शुभकामना आदानप्रदान गरी मनाइएको छ ।

‘समाजको पहरेदार, म जिम्मेवार पत्रकार’ नारा दिएर मनाईएको ३४ औं स्थापना दिवसको औपचारिक कार्यक्रम अघि ¥यालीसहितको चौतारा बजार परिक्रमा गरेर शाखाको हलमा गरिएको हो । कार्र्यक्रमको चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले शाखाले निर्माण गरेको वेवसाइड खोलेर शुभराम्भ गरेका हुन् । उदघाटन पछिको मन्तव्यलाई सम्बोधन गर्दै नगर प्रमुख सापकोटाले लोकतान्त्रिक आन्दोलनको एउटा अंगको रुपमा उभिएको पत्रकारमहासंघ सिन्धुशाखाले लोकतान्त्रिक संस्कार निर्माण गर्दै मानव अधिकारको रक्षाका लागि खेलेको भूमिका प्रति प्रशन्नता व्यक्त गर्दै तीन दशक अवधिमा निकै ठूलो फड्को मारेको आफुलाई महसुस भएको बताए ।

कार्यक्रमका विशेष अतिथि पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उमिद बागचन्दले राजधानीबाट नजिक रहेको सिन्धुपाल्चोकमा उत्पादित अग्रज पत्रकारहरुले देशकै प्रतिनिधित्व गर्न सकेको भन्दै प्रसंशा व्यक्त गरे । अन्य जिल्ला शाखाहरु मध्ये सिन्धुपाल्चोक निकै क्रियासिलता सहित उत्कृष्ट रहेको उदघोष गरे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले पत्रकारिता जगतमा स्वच्छ, मर्यादित, नागरिक सर्वोच्चताको आवश्यकता औंल्याउँदै सोही अनुसार पत्रकारले सत्यतथ्य समाचार प्रकाशन गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा उपप्रमुख सीता थापा, एमाले नेता इन्द्र नेपाल, नेपाली कम्युनिष्ट पार्टीका जिल्ला संयोजक गोविन्द पराजुली, उद्योगवाणिज्य संघका अध्यक्ष बुद्वराज बस्नेत, शाखाका संस्थापक संयोजक विष्णुप्रसाद न्यौपाने, पूर्व अध्यक्ष ऋषिराम पौडेल, सोम सापकोटा, रामचन्द्र श्रेष्ठ लगाएत विभिन्न संगठनका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

शाखाले ३४ औं बर्षमा प्रवेश गरेको अवसरमा स्थापनाकालदेखिको हाल सम्मको शाखाको इतिहास तथा प्रगतिबारे शाखा अध्यक्ष ध्रुव दंगालले प्रस्तुत गरेका थिए । शाखाले यो कार्यकाल सुरु भएपछि आफ्नै वेवसाइड निर्माण गरिएको उल्लेख गर्दै शाखा सदस्यहरुको व्यक्तिगत विवरण समेत डिजिटल मार्फत राखिएको अध्यक्ष दंगालले जानकारी दिए ।

यसैबीच स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गरेका छन् । त्यस्तै ५० जनाको मधुमेह र १०० जनाको उच्च रक्तचापका विरामीको परिक्षण गरिएको अध्यक्ष दंगालले जानकारी दिए ।

स्मरण रहोस जिल्लाका सीमित पत्रकारहरुको उपस्थितिमा २०४९ मंसिर २५ मा तदर्थ समिति गठन गरेर सुरु भएको महासंघको यात्रा अहिले बाह्रौ अधिवेशनबाट निर्वाचित नेतृत्वले कार्यभार सम्हालिरहेको छ । महासंघ शाखाको मुख्य उद्देश्य पत्रकारहरुको हकहित, प्रेस स्वतन्त्रताको वकालत, संरक्षण तथा प्रवद्र्धन गर्ने मुख्य उद्देश्य लिएको छ । अहिले शाखामा १०२ सदस्य आवद्ध छन् ।

