मेयर कप खुला कराते प्रतियोगिता ः चौतारा टिम च्याम्पियन
जेष्ठ २१, मेलम्ची । मेलम्ची नगरपालिकाको आयोजनामा सम्पन्न दोस्रो मेयर कप खुला कराते प्रतियोगिताको उपाधि चौतारा टिमले जितेको छ । दुई दिनसम्म चलेको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै चौताराले सर्वाधिक स्वर्ण पदक हात पारेर टिम च्याम्पियन बन्न सफल भएको हो ।
प्रतियोगितामा काठमाडौंको टोखा नगरपालिका वादोकाइ कराते दोस्रो स्थान हासिल गर्दै उपविजेता बनेको छ भने काभ्रे तेस्रो स्थानमा रहन सफल भएको छ । विभिन्न जिल्लाका खेलाडीबीच भएको प्रतिस्पर्धात्मक खेलले कराते खेलप्रति युवापुस्ताको बढ्दो आकर्षणलाई समेत उजागर गरेको छ ।
टिम फाइटतर्फ पुरुष समूहमा टोखा नगरपालिका वादोकाइ कराते प्रथम बनेको छ । महिलातर्फको टिम फाइटमा काभ्रे प्रथम, चौतारा द्वितीय तथा हेलम्बु र मेलम्ची संयुक्त रूपमा तृतीय स्थानमा रहेका छन् ।
टिम च्याम्पियन बनेको चौताराले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता टोखा नगरपालिका वादोकाइ करातेले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्दा तृतीय बनेको काभ्रेले २० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको आयोजकले जनाएको छ ।
मेलम्चीमा आयोजित प्रतियोगितामा काभ्रे, मकवानपुर, काठमाडौं (टोखा), बाह्रबिसे, मेलम्ची, चौतारा र हेलम्बुबाट आएका २ सय २९ खेलाडीहरूको सहभागिता रहेको थियो । विभिन्न तौल समूह र विधामा भएको प्रतिस्पर्धाले खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरेको प्रतियोगिता संयोजक सानुबाबु गिरिले जानकारी दिए ।
प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले खेलकुदले अनुशासन, आत्मविश्वास र स्वस्थ जीवनशैली निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले मेयर कप प्रतियोगिताले स्थानीय तहमा कराते खेलको विकास, विस्तार र प्रवद्र्धनमा टेवा पु¥याउनुका साथै नयाँ प्रतिभाको पहिचान गर्न समेत महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।
मेयर तामाङले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै नगरपालिकाले आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता जनाए । उनले खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्न आवश्यक वातावरण निर्माणमा नगरपालिका सकारात्मक रहेको उल्लेख गरे ।
स्थानीय तहको पहलमा आयोजित प्रतियोगिताले सिन्धुपाल्चोकमा कराते खेलको विकास र खेल पर्यटन प्रवद्र्धनमा समेत सकारात्मक सन्देश दिएको सहभागी खेलाडी तथा प्रशिक्षकहरूले बताएका छन् । प्रतियोगिताले खेलाडीहरूबीच अनुभव आदानप्रदान, प्रतिस्पर्धात्मक भावना विकास तथा खेलमैत्री सम्बन्ध विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको गिरिले बताए ।
मेलम्चीमा आयोजित उक्त प्रतियोगितामा काभ्रे, मकवानपुर, काठमाडौं (टोखा), बाह्रबिसे, मेलम्ची, चौतारा तथा हेलम्बुका २ सय २९ खेलाडीले सहभागिता जनाएका थिए ।

