पर्यटन मार्फत समृद्व जुगल बनाउने युवाहरुको प्रयास, गार्डिएन्स ग्रुपले ग¥यो जुगल बेस क्यापको सफल अन्वेषण यात्रा

दिनेश दुलाल
जेष्ठ १९, सुकुटे । जुगल बेस क्यापको अन्वेषण ६ दिने यात्रा सकेर सुकुटे फर्किएका गार्डिएन्स ग्रुपमा सहभागी जुगल–६ का प्रविण श्रेष्ठ निकै थकित थिए । दैनिक १० देखि १२ घण्टा सम्म हिड्दा उनको ज्यान थिलो–थिलो भईसकेको थियो तर पनि मनमा भने उनी त्यति कमजोर देखिएनन । ६ दिने जुगल बेसक्याम्प सम्मको यात्रा आफुलाई एक अविश्मरणीय क्षण भएको र निकै फलदायी भएको सुनाए । यात्रा निकै कष्ट र सास्ती भोग्न परेपनि जुगल बेस क्याम्प पुग्दाको स्वर्गीय आनन्दले सबै दुःख भुलेको उनले सुनाए ।

उनका अनुसार जुगल बेसक्याम्प पुग्न दुुईवटा रुट छन् । दिपु हुँदै तेम्वाथाङ पुग्न जुगलबाट पुग्नको लागि सवारी साधनबाट पुग्न सकिन्छ भने पुरानै रुट गुम्बाबाट जानको लागि तलैदेखि पैदल जानुपर्ने हुन्छ । यो रुट पैदलबाट जानुपर्ने भएपनि पर्यटकहरुका लागि निकै रोमान्चकारी हुने श्रेष्ठको बुझाई छ । ‘जुगल खुल्ला छ’ भन्ने नारा दिएर सिन्धुपाल्चोक उद्योगवाणिज्य संघका महासचिव एवं जुगलकै स्थानीय रहेका समाजसेवी ईश्वर गुभाजूको सहयोग तथा जुगल गाउँपालिकाको समन्वय तथा सहयोगमा जुगल गार्डिएन्सको १२ जनाको टोली आईतबार फर्किएर सोमबार काठमाडौं पुगेको हो । जुगलकै वडा नम्बर ४ का गौरव श्रेष्ठले ‘जुगल खुल्ला छ’ भन्ने नारा लिएर जेष्ठ १३ गतेदेखि कोटेश्वरबाट जुगलको बेस क्याम्प पुगेर फर्किएको आफ्नो अनुभव सुनाए । यात्राका क्रममा खान्दुके सेलो र लालुङबा नाँच, भाषा र संस्कारले यात्रा रोमान्चकारी भएको उनले सुनाए । गुम्बामा बन्दै गरेको होम स्टेले पर्यटकको मन लोभ्याएको उनले सुनाए ।

टोलीका अर्का यात्री जुगल गाउँपालिका–३ का विक्रम तामाङले बेसक्याम पुग्नको लागि रुटको अन्वेषण निकै महत्वपूर्ण हुने उल्लेख गरे । छेन्दाङबाट नेपमेसाल कति टाढा हो र कति समय लाग्छ लगाएत यावत विषयहरु भोलीका दिन सिकाई हुने उनको तर्क छ ।
जुगलकै गोर्गेन लालुङबा लामाले दिपुसम्म मात्र नेटवर्कको व्यवस्था मात्र भएको हुनाले त्यस भन्दा माथि पर्यटकहरुलाई नेट समस्या हुने गरेको उनले बताए । त्यस्तै जुगल वेशक्याम्प पुग्ने रुटहरुमा सरसफाईको समस्या, ठाउँ–ठाउँमा होटल तथा बासको समस्या समेत भएको उनले बताए ।

‘जुगल इज ओपन’ अभियान अन्तर्गत स्थानीय युवाहरुको समुह ‘द जुगल गार्डिएन्स’ को नेतृत्वमा आयोजना गरिएको ६ दिने विशेष अन्वेषण यात्रा सफलतापूर्वक सम्पन्न भएकोमा अभियान्ता दाता सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका महासचिव इश्वर गुभाजूले बताए । ६ दिन र ५ रातको रोमाञ्चक एवं चुनौतीपूर्ण यात्रा पार गर्दै टोली ४,५०० मिटरको उचाइमा अवस्थित ‘जुगल भ्यु पोइन्ट’ पुग्न सफल भएकोमा टोलीलाई गुभाजूले बधाई दिए । पदयात्रीहरूका लागि यो स्थान अब जुगल बेस क्याम्पको रूपमा स्थापित भएको उनको कथन छ ।

राजधानी काठमाडौँबाट सबैभन्दा नजिक भएर पनि ओझेलमा परेको जुगल हिमाल क्षेत्रलाई पर्यटनको मूलधारमा ल्याउन यो एउटा ठूलो र महत्त्वपूर्ण कदम भएको गुभाजूले प्रतिक्रिया दिए । ‘अब प्रकृतिका प्रेमी र पदयात्रीहरूका लागि एउटा नयाँ, उत्कृष्ट र अद्भूत गन्तव्य खुला भएको छ’, टोलीलाई बधाई दिन सुुकुटे पुगेका सामाजिक अभियान्ता गुभाजूले भने ।

उक्त अभियानलाई सफल बनाउन जुगल गाउपालिकाको अध्यक्ष रेसम स्याङ्बोलाई समेत उनले धन्यवाद दिए । जुगललाई पर्यटन मार्फत समृद्व जुगल बनाउनको लागि जुगल गार्डिएन्स टोलीद्वारा थालिएको स्वत स्फुर्त अभियानले नयाँ सिकाई र अभ्यास भएको टोलीको निश्कर्ष छ । जुगल बेसक्याम्प पुग्ने पर्यटकको लागि ठाउँ–ठाउँमा बासस्थान, टेलिफोन टावर, गोरेटो बाटो निर्माण र पूर्वाधारको काम तथा सरसफाईको कामलाई गाउँपालिकाले बजेट व्यवस्थापन गर्नपर्ने उनीहरुले सुझाएका छन् ।