लिसंखुपाखरका एकै घरमा दुई डाक्टरः गाउँपालिकाले सम्मान गर्ने
सिन्धुज्वाला संवाददाता
जेठ २१, अत्तरपुर । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका वडा नम्बर ६, पेटकुका एकै परिवारका दुई दाजुबहिनीले चिकित्सा क्षेत्रमा सफलता हासिल गरेर गाउँकै गौरव बढाएका छन् ।
स्थानीय रुद्रबहादुर तामाङ र रमा तामाङका छोरी प्रमी तामाङ र छोरा सूर्यबहादुर तामाङ डाक्टर बनेपछि स्थानीयस्तरमा खुसीयाली छाएको छ । छोरी प्रमी तामाङ विगत केही समयदेखि चिकित्सा क्षेत्रमा सक्रिय छिन् । उनी हाल भक्तपुरको मध्यपुर अस्पताल र काठमाडौँको फ्रन्टलाइन अस्पतालमा आबद्ध भई बिरामीको सेवा गरिरहेकी छिन् ।
यसैगरी, उनका भाइ सूर्यबहादुर तामाङले पनि हालै नेपाल मेडिकल काउन्सिल (एनएमसी) द्वारा लिइने लाइसेन्स परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेका छन् । लाइसेन्स परीक्षा उत्तीर्ण भएसँगै सूर्यबहादुरलाई पनि आधिकारिक रूपमा चिकित्सा अभ्यास गर्ने बाटो खुलेको छ । एकै घरबाट दुई जना डाक्टर बनेपछि तामाङ परिवार र सिंगो पेटकु गाउँबासी उत्साहित भएका छन् ।
यस किसिमको शैक्षिक सफलताले गाउँपालिकाकै साख बढाएको भन्दै लिसंखुपाखर गाउँपालिकाले उनीहरूलाई प्रोत्साहन गर्ने नीति लिएको छ । गाउँपालिकाका अध्यक्ष राजु लामाका अनुसार उनीहरू जस्तै विभिन्न विधा र क्षेत्रमा उत्कृष्ट सफलता हाँसिल गरी पालिकाको नाम उच्च राख्ने व्यक्तित्वहरूलाई आगामी वर्ष विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरिनेछ । अध्यक्ष लामाले ‘सिन्धुज्वाला’ सँग कुराकानी गर्दै यस्ता प्रतिभाहरूले गाउँका अन्य बालबालिका र युवाहरूलाई पनि उच्च शिक्षा र व्यावसायिक सफलताका लागि ऊर्जा दिने विश्वास व्यक्त गरे ।

