राजश्व असुलिमा तातोपानी भन्सारबाट अहिले सम्मकै उच्च गिरावट

साउन ८, तातोपानी । राजश्व असुलिमा तातोपानी भन्सारबाट यो साता अहिले सम्मकै उच्च गिरावट देखिएको छ । अघिल्लो महिनाको तुलनामा साउनको पहिलो हप्ता राजश्व असुलिमा अहिले सम्मकै उच्च गिरावट भएको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालले जानकारी दिए ।


राजश्व असुलीको लक्ष्य अनुसार यो साता ११ प्रतिशत भन्दा बढी पुग्न नसकेको प्रमुख भन्सार अधिकृत चुडालले बताए । उनका अनुसार साउन महिनाको ७ गतेको दैनिकी लक्ष्य १९ लाख ३३ हजार ७०० रहेकोमा २ लाख २० हजार ३ सय ३६ अर्थात ११. ३९ प्रतिशत मात्र उठेको छ । चालु आर्थिक बर्ष २०८२÷०८३ को वार्षिक लक्ष्य अनुासर दैनिक २ करोड ४४ लाख ७८ हजार ५ सय ५८ रुपैंया राखिएकोमा बुधबार सम्मको अवस्थालाई हेर्दा वार्षिक लक्ष्यको ०.९ प्रतिशत मात्र राजश्व असुली भएको हो । चीनबाट सामान कम आएको र त्यसमा पनि लत्ताकपडा भन्दा स्याउ र लसुन बढी आएत भएको उनले बताए । ‘मालबाहक ट्रककन्टेनर एकदम कम आउन थालेका छन्, उता बाटोको पनि समस्याले होला’, प्रमुख भन्सार अधिकृत चुडालले भने । केरुङ नाका बाढीका कारण यताको नाका अपेक्षित सुधार आउने अड्कल गरिएको थियो । उसोत भारतीय लगाएत कैलाशमानसरोबर जाने तिर्थालुहरु दैनिकी २०० सय जति तातोपानी नाका हुँदै जाने भएको कारणले कन्टेनर कमि आएको हुन सक्ने उनको अड्कल छ । तातोपानी स्थित सुख्खा बन्दरगाहमा भन्सार याडमा अहिले व्यापारीहरुले ल्याएका सामानहरु भरिभराउ भएको चुडालले बताए ।

व्यापारीहरुहरुसंग पैसा अभाव भएका कारण भन्सार गरेर सामान लैजान नसक्दा सामान थुप्रिएको तातोपानी भन्सार प्रवक्ता सूर्य काफ्लेले बताए । भर्खरै बाढीले पु¥याएको क्षतिका कारण व्यापारिहरुसंग पैसा नभएर र बजारमा माग अभावको कारण पनि हुनसक्छ’, काफ्लेले भने । व्यापारीहरुले पनि आफुहरुले सामान भन्सार गर्न केही ढिला हुने बताएका छन् ।