हेलम्बुमा नेपालकै लामो झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा, साहसिक खेल बन्जी जम्पको तयारी

दिनेश दुलाल
कार्तिक ३, किउल (सिन्धुपाल्चोक) । पर्यटकीय क्षेत्र हेलम्बुमा नेपालकै लामो झोलेङ्गे पुल निर्माण भएको छ । हेलम्बु गाउँपालिका वडा नं. १ मा निर्माणधिन पुल निर्माणको काम अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।

नेपालकै लामो झोलङ्गे पुल मानिएको उक्त पुल चुनाव पछि सञ्चालनमा ल्याईने अध्यक्ष शेर्पाले बताए । बन्जिजम्पको उद्देश्य राखेर निर्माण गरिएको उक्त पुलको केही काम मात्र बाँकी रहेको उनले बताए । ‘अब पुल निर्माणको थोरै मात्र काम बाँकी छ केही दिनमै सकिन्छ’, गाउँपालिका अध्यक्ष शेर्पाले बताए । हेलम्बुमा निर्माण भएको उक्त पुल नेपालकै लामो पुल भएको अध्यक्ष शेर्पाको दावी छ । उनका अनुसार उक्त पुलको लम्बाई ३७० मिटर र उचाई १७३ मिटर छ ।

पर्वत जिल्लाको कुस्मामा रहेको पुल ३ सय ४४ मिटर मात्र लामो छ । पुल निर्माण सम्पन्न भएपछि सोही पुलबाट साहसिक खेल बन्जीजम्प संचालन गरिने अध्यक्ष शेर्पाले बताए । उसोत उक्त पुल निमार्ण भएसंगै आधा दर्जन हेलम्बुका गाउँलाई आवातजावत गर्न सहज हुनेछ । मेलम्ची खानेपानी आयोजनाको सुरुङ भन्दा माथि बन्न लागेको उक्त पुलले हेलम्बुको मेलम्ची घ्याङ, तार्केघ्याङ, घाङग्युल, नाकोते, सर्कथली लगाएत बस्तीका जनतालाई सहज हुनेछ ।

काठमाडौँबाट नजिकको पर्यटकीय गन्तव्य रहेको हेलम्बुमा उक्त पुल निर्माणले पर्यटन क्षेत्रमा थप टेवा पुग्ने अध्यक्ष शेर्पाको भनाई छ । बन्जी जम्पको लागि यशियाकै उत्कृष्ट ठाउँको रुपमा विकास गर्न लागेको गाउँपालिकाले आन्तरिक तथा वाह्य पर्यटकका लागि रिसोर्टको अवधारणा समेत बनाईएको अध्यक्ष शेर्पाको कथन छ । ग्रेटट्रेलले निकै चर्चामा रहेको हेलम्बु नेपालकै लामो झोलुङ्गे पुल निर्माण भएपछि झन् चर्चित बन्ने गाउँपालिकाको ठहर छ ।