
एघारौं जिल्ला स्तरीय रनिङ शिल्डको उपाधी चौताराको कब्जामा

२६ चैत्र, चौतारा । एघारौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि चौतारा साँगाचोकगढी नगरपालिकाले कब्जा जमाएको छ ।
मिनि रंगशाला चौतारामा तीन दिन सम्म चलेको प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिकाले ३० स्वर्ण, २० रजत र ७ काँस्य सहित कुल ५७ उपाधि जितेको हो ।
प्रतियोगितामा दोस्रो हुने बाह्रबिसे नगरपालिकाले १० स्वर्ण, ८ रजत र ८ काँस्य सहित कुल २६ पदक जितेको छ भने तृतीय हुने भोटेकोशी गाउँपालिकाले ७ स्वर्ण, १० रजत र ८ काँस्य सहित कुल २५ पदक जित्न सफल भएको छ ।
रनिङ शिल्ड प्रतियोगितामा कबड्डी, भलिबल, एथलेटिक्स, तेक्वान्दो, कराँते र उसु गरी विभिन्न ६ विधामा करिब छ सय विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए ।
जिल्ला खेलकुद विकास समिति सिन्धुपाल्चोकको आयोजनामा प्रतियोगितामा आइतबारदेखि संचालन भएको थियो। आज मंगलवार रनिङ शिल्ड अन्तर्गतका सम्पुर्ण खेलहरु सम्पन्न गरि चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
जिल्लाका १२ पालिकामध्ये त्रिपुरासुन्दरी, पाँचपोखरी थाङपाल, लिसंखुपाखर, र सुनकोशी गाउँपालिकाले प्रतियोगितामा सहभागिता जनाएनन । ८ पालिका सहभागि रहेको प्रतियोगितामा विजेता खेलाडीहरुले ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गरेका छन् ।