
माओवादी केन्द्रको जुगल गाउँ सम्मेलनमा जनताको देखियो उभार

निर्मल बस्नेत
२१ माघ, ढाँडे । यतिबेला माओवादी केन्द्र सिन्धुपाल्चोक गाउँ सम्मेलनको अभियानमा छ । गाउँ सम्मेलनको अन्तिमतिर आईपुग्दा सो पार्टीले आजबाट जुगल गाउँपार्टीको सम्मेलन सुरुवात गरेको छ ।
जुगल गाउँपालिकाको वडा नं ५ स्थित ढाँडे बजारमा हजारौं जनताको उपस्थितिमा आयोजित तेस्रो सम्मेलन पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज केशव नेपाल, संघीय सांसद एवम पार्टी केन्द्रीय सदस्य माधव सापकोटा सुवोधले संयुक्त उदघाटन गरी शुभराम्भ भएको हो । उदघाटन सत्रका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेताहरुले देशमा परिवर्तन र विकास माओवादीकै कारण सम्भव भएकोले भ्रममा नपर्न आव्हान गरेका छन् । नेताहरुले भ्रष्टाचार, अन्याय, अत्याचार र विभेद विरुद्ध आवाज उठाएर जन्मिएको माओवादी नै जनताको सच्चा पहरेदार भएको स्पष्ट गरेका हुन ।
नेताहरुले जुगल हिमाल आरोहण खुला गर्ने, तेम्बाथानसम्मको सडक, बिजुली, शिक्षा, स्वास्थ्य र पर्यटन विकासको नेतृत्व माओवादीले लिइरहेको तथ्य प्रस्तुत गरेका हुन् । सोही कार्यक्रममा एमाले, कांग्रेस लगायतका विभिन्न पार्टी परित्याग गरी २ सय ५० बढी नेताकार्यकर्ता माओवादीमा आवद्ध भएको सो पार्टीले जनाएको छ ।
उदघाटन सत्रको मन्तव्य दिने क्रममा पार्टी केन्द्रीय सदस्य एवं जिल्ला ईन्चार्ज केशव नेपालले समाजवाद निर्माणका लागि माओवादीले काम गरिरहेको बताए । आफ्नो शुभकामना मन्तव्यमा क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभासदस्य एवं माओवादी केन्द्रका केन्द्रीय नेता सापकोटाले जुगलले माओवादीले सुरु गरेको जनयुद्धमा आधारभूमिका रुपमा सहजिकरण गरेको स्मरण गर्दै सहिद, बेपत्ता, घाइते योद्धाहरुलाई स्मरण गर्दै सम्मान व्यक्त गरे । जुगलबाट पुराना सत्ताहरुको विघटन गरी जनसत्ताको सुरुवात गरिएको बताए । जनयुद्धमा होमिएका योद्धाहरुलाई पालिकाले गरेको सम्मानप्रति धन्यवाद ज्ञापन गर्दै इतिहासको सम्मान गरेर मात्रै वर्तमानमा राम्रो काम गर्न सकिने धारणा राखे । विगतको योगदानको सम्मान हुने तर अबका दिनमा वडापार्टी निर्माणलाई हेरेर मुल्यांकन हुने नेता सुबोधले स्पष्ट गरे ।
नेता सापकोटाले माओवादीको नेतृत्वमा सिंगो जुगललाई हराभरा बनाउन बहुमत आवश्यक रहेकोले एक्लै चुनाव लडेर, बहुमत वडासहित पालिका अध्यक्ष, उपाध्यक्ष जित्ने संकल्प गर्न आव्हान गरे । माओवादीलाई जुगलमा २०८४ को चुनाबमा दिग्बीजयको झण्डा गाड्न सक्ने नेतृत्व आवश्यक रहेको औल्याए । प्रचण्ड नेतृत्वको सुशासन समृद्धि र समाजवादको नारा लिएर भ्रष्टाचारीलाई जेल हाल्न सुरु गरेको स्मरण गर्दै उनले नेपालीलाई भुटानी शरणार्थी बनाएर बेच्ने, बालुवाटारको ललितानिवास जग्गा घोटाला, गिरीबन्धु टि स्टेटजस्ता भ्रष्टाचारमा संलग्नहरुलाई जेल हाल्न थालेपछि जनताले माओवादीलाई बुझ्न थालेको स्पष्ट गरे । ‘प्रचण्डको सम्बोधनले संसद र सडक तताउने काम गर्छ, संसदले सडक, सडकले संसदलाई सहजिकरण गर्छ’, सापकोटाले भने ।
यसैगरी बागमति प्रदेश सांसद सरल सहयात्री पौडेलले संसदमा आफूहरुले प्रदेश सभा र संघीय संसदमा बोलको आवाज जुगल लगायतका स्थानीय जनताको आवाज भएको बताए । उनले माओवादी त्याग, तपस्या र बलीदानको गौरवपूर्ण इतिहासले जन्मिएको पार्टी भएको उल्लेख गर्दै पार्टीप्रति गर्व गर्न आव्हान गरे । पार्टी र नेतृत्वप्रति गौरवगर्न लायक काम गरेर अघि बढ्न माओवादीपंक्ति तयार रहनु पर्ने उनको भनाई थियो । उनले अबको नेतृत्वले माओवादी केन्द्रको साख जोगाउँदै सातै वडामा अध्यक्ष, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष एकल जित्नेगरी नयाँ नेतृत्व चयन सक्ने गरि काम गर्नु पर्नेमा उनले जोड दिए ।
जुगल हिमाल आरोहण, मन्जुश्रीपार्क, तेम्बाथान सम्मको सडकको परिकल्पना माओवादी केन्द्रले गरेको समेत सांसद पौडेलले ठोकुवा गरे ।
कार्यक्रममा केन्द्रीय नेतृ एवं प्रदेश सभा सदस्य अमृता नेपालले माओवादीले आशा जगाएको उल्लेख गर्दै पार्टीको योगदानको चर्चा गरिन् । उनले माओवादीक कारण जाति, वर्ग, क्षेत्र र लंैगिक विभेद भोगिरहेका जनताले अधिकार पाएको स्मरण गरिन् ।
पार्टी वागमती प्रदेश सदस्य एवं जुगल गाँउपालिका अध्यक्ष रेशम स्याङ्वोले आफुले पार्टीको नीति अनुसार काम गरेको उल्लेख गरे । गाउँ सरकार प्रमुखका रुपमा आफूले बाँसखर्कको स्तुपा, मानेडाँडामा मिनिरंगशाला निर्माण, सिदुर्चेमा संस्कृतिको झल्को दिनेगरि २५ यस मिटरमा १२५ फिट जुगल भ्यु प्वाइन्ट, सञ्चगाउँमा गुम्बा, लिदी पहिरो पीडितको सम्झनामा ३९ फिटको छुर्तेन, ३ नं वडा जुगल हिमशृंखलाको आरोहण खुला गर्न सहजिकरण गरेको बताए । यसैगरी हाप्रामा नेवारी संस्कृतिको कुलघर निर्माण, मञ्जुश्री पार्क, याङलाकोटमा गुम्बा निर्माण कार्य गरिएको लगायत स्थानीय सडक पूर्वाधार, खानेपानी तथा सिंचाईहरुको माग र आवश्यकताको आधारमा बजेट व्यवस्थापन गरि बिकास निर्माणको कार्य गरिरहेको जानकारी गराए ।
पार्टीका जुगल अध्यक्ष इश्वर गुभाजुको अध्यक्षतमा भएको सम्मेलनमा अखिल क्रान्तिकारीमा नवनिर्वाचित उपाध्यक्ष विराज थापा, पालिका उपाध्यक्ष बहादुर गोले, पूर्व अध्यक्ष पदम बहादुर क्षेष्ठ, उपाध्यक्ष चिन बहादुर लामालगायतले सम्मेलन सफलताको शुभकामना व्यक्त गरे । जुगलमा एमाले कांग्रेसका २ सय ५० बढी नेताकार्यकर्ता माओवादीमा प्रवेश गरेको सो पार्टीले जनाएको छ । आज बेलुका बन्दसत्र सुरु भएर नेतृत्व लगाएत पालिका कमिटि सदस्य चयन गरिने समेत जुगल गाउँकमिटिले जनाएको छ ।