मेलम्ची –शिखरपुर–पाँचपोखरी जोडिने मेलम्चीमा पक्की पुल बन्दै

युवराज दुलालको पहलमा ३७ करोड बजेट विनियोजन

१७ माघ, मेलम्ची । मेलम्ची बाढीले क्षतविक्षत बनेको करिब ४ बर्ष पछि मेलम्ची नदिमा पक्की पुल बन्ने भएको छ ।
मेलम्ची– पाँचपोखरी– शिखरपुर जोडिने उक्त पक्की पुल बाढीले बगाएपछि अस्थाई ह्युमपाईप राखेर सञ्चालनमा ल्याईएको थियो । बर्षेनी ह्युमपाईप राखेपनि बाढीले बगाएपछि दुईबर्ष अघि सेनाको सहयोगमा अस्थायी बेलब्रिज राखिएको थियो । सोही ठाउँमा पक्की पुल निर्माणको लागि बागमती प्रदेश भौतिक पूर्वधार विकास मन्त्रालयको तत्कालिन मन्त्री युवराज दुलालद्वारा आ.वा ८०÷८१ को बजेटमा रु.३७ करोड रकम विनियोजित गरिएको थियो ।

सोही क्षेत्रमा ११२ मि.लाम्बाइ र ११ मि.चौडाइको मेलम्चि पुल निर्माण हुने भएको हो । शिखरपुर जोड्ने पक्कि पुलका विषयमा बुधबार मेलम्चीमा पूर्वमन्त्री दुलाल सहित सरोकारवालाहरुसंग छलफल भएको मेलम्ची नगरपालिकाले जनाएको छ ।
मेलम्ची नगरपालिकाका अनुसार उक्त छलफलमा बागमती प्रदेशका पूर्व भौतिक विकास मन्त्री युवराज दुलाल, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, प्रदेश पूर्वाधार कार्यालयका प्रमुख प्रकाश पौडेल, वडा नम्बर ११ का वडा अध्यक्ष चन्द्रबहादुर तामाङ, निमार्ण व्यवसायी अनिल सिलवाल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य चन्द्रबहादुर थापा लगायत जनप्रतिनिधि, सरोकारवाला र स्थानियबिच छलफल भएको हो । जय विष्णु निमार्ण सेवा प्रा.लिले भ्याट बाहेक २५ करोडमा निमार्ण सम्झौता भएको पुलको कुनै समस्या नआए २ बर्षभित्रमा सम्पन्न गर्ने योजनाका साथ काम गर्ने प्रतिबद्धता जनाएको छ ।

छलफलमा पूर्व मन्त्री दुलालले निरन्तरको मिहेनत पछि पुल निमार्णको काम सुरु हुन आटेको भन्दै गुणस्तरीय र कुनैपनि विपद्ले क्षति नगर्ने काम काम गर्न निर्देशन दिए । नगर प्रमुख तामाङले काम गर्ने क्रममा आइपर्ने समस्या समाधान गर्न सहजिकरण गर्ने बताए ।