
सुकुटेमा माओवादी केन्द्रको खवरदारी सभा, वर्तमान सरकार भ्रष्टाचारी भएको आरोप

निर्मल बस्नेत
१२ पौष (२०८१), सुकुटे । नेकपा (माओबादी केन्द्र ) सिन्धुपाल्चोकले पर्यटकीय नगरी सुकुटेमा खवरदारी सभा गरेको छ । सभामा उपस्थित माओवादी नेताहरुले वर्तमान एमाले र काङ्ग्रेसको गठबन्धन सरकार भ्रष्टाचारीहरुको संरक्षणको लागि बनेको आरोप लगाएका छन् । माओवादीका युवा नेताहरुले सिन्धुपाल्चोक २ का सांसद एवं काङ्ग्रेस नेता मोहोन बस्नेतलाई नीति, निर्माण र विकासको काममा प्रतिस्पर्धा गर्न चुनौती दिएका छन् । माओवादी चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १० ले आयोजना गरेको सभामा माओवादीका प्रभावशाली युवा नेताहरुले सम्बोधन गरेका थिए ।
पार्टीको केन्द्रीय सदस्य एवं संघीय सांसद माधव सापकोटा ‘सुबोध’ ले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारको फाईल खोलेर भ्रष्टाचारीलाई कार्वाही प्रकृया अगाडि बढाउन थाल्नसाथ भ्रष्टाचारीहरु एक भएको आरोप लगाएका छन् । उनले भने केही फाईल खुल्न मात्र के सुरू भएको थियो काङ्ग्रेस र एमाले अत्तालिएर रातारात अपवित्र गठबन्धन गर्न पुगे । त्यतिमात्र होईन वर्तमान सरकारले बिचौलियाहरुलाई बिजुली बेच्ने र उज्यालो नेपालका अभियान्तालाई गलहत्याउने प्रकृया सम्मपुगेको उनको आरोप छ । मन्त्रीपरिषदमा निर्णय लिन नसकेर लज्जास्पद रुपमा उदाङ्ग भएको उनले तर्क गरे ।
सापकोटाले सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्ने अर्का सांसद मोहोन बहादुर बस्नेतले त्रिपुरासुन्दरी गाउँपालिका जोडिने दावीखोला पुल उदघाटनका क्रममा आफू र पूर्वसभामुख अग्निसापकोटा बिरुद्ध तथानाम बोलेर मानमर्दन गरेको भन्दै सो को खण्डन समेत गरे ।
उनले बस्नेतलाई चुनौति दिएर प्रतिप्रश्न गर्दै भने, ‘तपाईं जतिको गिरेर प्रस्तुत हुन मलाई सुहाउँदैन, म यति भन्छु तपाईंको मर्यादा के हो ?’ जिल्लाको सवालमा सांसद बस्नेतले संसदमा कुनै आवाज नउठाएको भन्दै आफूले बाढी, पहिरो, माहामारी, जंगली जनावर आतंक, किसानको मलखाद बिउबिजन र दुधको भुक्तानी र बिकास निर्माणको सवालमा सदनमा ६७ पटक संबोधन गरेको सांसद सापकोटाले दावी गरे ।
२०७२ सालको संविधान संशोधनको लागि १४ वटा संशोधन विद्ययक दर्ता गराएको समेत ठोकुवा गरे । स्मरण रहोस सांसद सापकोटा माओवादी पार्टीमा प्रखर वक्ता र आसलाग्दो जनप्रतिनिधिको रुपमा चिनिएका छन् ।
यस्तै कार्यक्रममा पार्टी केन्द्रीय सदस्य एवं बागमती प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार बिकास मन्त्री युवराज दुलाल ‘शरद’ले सांसद बस्नेतप्रति लक्षित गर्दै सिन्धुपाल्चोकमा माओवादीप्रतिको बढ्दो जनविश्वास कारण आफुसंगै निर्वाचित एक सांसद बर्बराउन थालेको बताए । सांसद बस्नेतको बोली आतंकीत मानसिकताको उपज भएको उनको ठहर छ । ‘हामी जिउँदा शहिद हौ, मुक्ति र मृत्युको कसम खाएर आन्दोलनमा हेलिएकाहरुलाई जो कसैले कमजोर नठाने हुन्छ’, प्रदेश सांसद दुलालले भने । उनले कार्यकर्तालाई साना सिना घुर्की र धम्की पैतलामुनी राखेर बढ्न सुझाए ।
आफु मन्त्री हुँदा बागमति प्रदेश सरकारले प्रादेशिक सडक र लोकमार्गहरु नामाङ्कन गरि सडक निर्माणका लागि गुरु योजना बनाएर काम अगाडि बढाईएको दुलाएले दावी गरे । ‘हामीले योजनामा जिल्लाका अधिकांश भुगोललाई समेटेका छौँ’, दुलालले भने । मोहन बस्नेतको घरजाने बाटोसमेत सो क्षेत्रका संघीय सांसद माधव सापकोटा, प्रदेश सांसद सरल सहयात्री र अमृता नेपालको साथमा प्राविधिक नापजाँच र स्थलगत अवलोकन गरि बजेट सुनिश्चित गरेको उनको दावी छ ।
दुलालले आगामी दिनमा तथानाम बोल्ने भन्दापनि बिकासको काममा प्रतिस्पर्धा गर्न आग्रह गरे । पूर्वमन्त्री दुलाल सिन्धुपाल्चोकमा विकासवादी नेताको रुपमा परिचित छन् ।
खबरदारीसभामा काङ्ग्रेस, एमाले अन्य पार्टी परित्याग गरि दुई दर्जन व्यक्तिहरु माओवादी केन्द्र प्रवेश गरेका थिए । यसरी प्रवेश गर्नेहरुमा गत निर्वाचनमा वडाध्यक्षको उम्मेदवार देखि पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम गरिरहेकाहरु रहेका छन् ।
युवा नेता गणेश बिकको उद्घोषणमा पार्टीका नेता तथा कार्यकर्ता र जनताहरुको सहभागीतामा भएको सभामा माओवादीका जिल्ला संयोजक गोबिन्द पराजुली र महिला नेतृ मीना नेपाललेसमेत सम्बोधन गरेका थिए ।