
जलबिरे भ्यालीमा प्रथम बर्ष अध्ययन गर्नेलाई भर्ना निःशुल्क

रामकृष्ण पराजुली
जलबिरे । बलेफी गाउँपालिकाले जलबिरे भ्याली क्याम्पसको प्रथम बर्षमा अध्ययन गर्नेहरुको लागि भर्ना निःशुल्क गरिदिने भएको छ ।
क्याम्पसको १४ औं वार्षिकोत्सव अभिभावक भेला तथा भूतपूर्व विद्यार्थी पुनर्मिलन समारोहको अवसरमा गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङले उक्त कुराको प्रतिबद्धता जनाउनु भएको हो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष चन्द प्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रम सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं.१ को प्रतिनिधिसभा सांसद माधब सापकोटा (सुबोध) को प्रमुख आतिथ्यतामा भएको हो ।
सांसद सापकोटाले अवको बिद्यार्थीले समाजको लागि सोच्ने र नराम्रो कार्यको खवरदारी नगर्ने हो भने अराजकता र बेथिती फैलने भन्दै त्यसतर्फ ध्यान दिन बिद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा बागमती प्रदेश संसद सरल सहयात्री पौडेल र अमृता नेपाल, बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङ, जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबो, स्वबियु सभापति अच्यूत अधिकारीले क्याम्पसको प्रगतीको शुभकामना व्यक्त गर्नुभएको थियो । क्याम्पस सञ्चालक समिति, शिक्षक, विद्यार्थी र अभिभावकहरूको उपस्थितिमा भव्यताका साथ सम्पन्न भएको छ ।
बलभद्र आचार्य अक्षयकोष दाता राजकुमार आचार्यले कोष बाट २ जान विद्यार्थीलाई ३ हजारका दरले प्रदान गरिएको थियो । त्यसैगरी खेलप्रेमी समाजसेवी प्रेम भण्डारीले व्यक्तिगत रूपमा २ जना बिद्यार्थीलाई जनही ५ हजार प्रदान गर्नुभएको छ । साहित्यकार चन्द्र प्रसाद न्यौपानेले व्यक्तिगत रूपमा १ लाख सम्मको लाइब्रेरी व्यवस्थापनको लागि किताबको व्यवस्था गर्ने बचनबद्धता जनाउनु भयो ।