सिन्धु एमालेको जागरण अभियान सुरु

भदौ २७, चौतारा । सत्तारुढ नेकपा एमाले सिन्धुपाल्चोकले जागरण अभियान सुरुवात गरेको छ । आजबाट उसले पहिलोचरणमा चौतारा साँगाचोकगढी नगरपालिकामा सुरुवात गरेको हो । नगरको आयोजनामा जागरण अभियान कार्यक्रम नगरभित्रका सयौं कार्यकर्ताको उपस्थितिमा जिल्ला पार्टी कार्यालयमा गरिएको नगरकमिटिका अध्यक्ष खिलबहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार पार्टी केन्द्रको नीति अनुरुप सवै जिल्लाहरुमा पालिकाले आफ्नो अनुकुलतामा अभियान सञ्चालन गर्ने निर्देशन मुताविक चौतारा साँगाचोकगढी नगरपालिकाबाट जागरण कार्यक्रम गरिएको हो ।

पार्टी स्थायी समिति सदस्य राजन भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा चौतारा नगरका अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सुरुवात चौतारा टुँडिखेलवाट पार्टी कार्यलयसम्म पार्टीको गीत घन्काउदै झण्डा सहितको ¥याली गरिएको थियो ।
कार्यक्रमलाई सम्बबोधन गर्दै पार्टी नेता राजन भट्टराईले देशको संकट व्यवस्थापनको लागि एमाले काङ्ग्रेसको संयुक्त सरकार गठन भएको बताए । उनले आगामी निर्वाचनको कमाण्डर र त्यसपछिको प्रधानमन्त्री पनि केपी ओली नै भएकोले यसभन्दा दाँयावाया नहुने तर्क गरे । एमालेले गरेको जनहितकारी कामलाई जनतासम्म पु¥याउन अभियानले भूमिका खेल्ने विश्वास लिएको बताए । त्यस्तै कार्यक्रममा पार्टीका युवा नेता महेश बस्नेतले माओवादीले पृथकतावादी र जातीवादी नारा अघि सारेर आपसमा भिडाउने काम गरेको आरोप लगाए ।

माओवादी उग्रवामपन्थी पथमा अघि बढेकोले नेकपा एमाले हाई–हाई साना पार्टी वाई–बाई भन्दै कार्यकर्ताहरुलाई हौसाएका थिए । पार्टी केन्द्रिय निर्वाचन समिति सदस्य अमानसिं तामाङले माओवादी बाँदर प्रवृति हावी भएकोले एकपछि अर्को गरि शक्ति कमजोर बन्दै गएको टिप्पणी गरे । उनले आगामी दिनमा एमालेप्रति झनझन जनलहर बढ्दै जाने ठोकुवा गरे ।

पार्टी जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठले चौताराबाट सुरु भएको जनजागरण कार्यक्रम जिल्लाभर हरेक पालिकामा सञ्चालन गरिने बताए । ‘आगामी दिनमा नेकपा एमालेलाई जिल्लाको पहिलो पार्टी बनाउनेछौँ,’ उनले भने, ‘जिल्लाका अन्य पार्टीमा रहेका एमालेमा आउन चाहनेहरु धेरै छन्, पार्टीमा प्रवेश गर्न सदैव ढोका खुला छ, हामी उचित वातावरणमा क्षमता, दक्षता र सक्रियताको आधारमा जिम्मेवारीहरु दिनेछौँ ।’

कार्यक्रममा पार्टीका केन्द्रिय, प्रदेश, जिल्ला तहका नेताहरु र नगारपालिकाका कार्यर्काहरुको उपस्थिति रहेको थियो ।
यसैबीच अभियानको सुरु कै दिन विभिन्न पार्टी परित्याग गरि ३ सय १९ जनाले नेकपा एमाले पार्टी प्रवेश गरेको सो पार्टीले जनाएको छ । यसरी प्रवेश गर्नेहरु माओवादी, काङ्ग्रेस र अन्य पार्टीका कार्यकर्ताहरु रहेका छन् ।