राष्ट्रबैंकद्वारा सिन्धु विकास बैंकका सञ्चालक श्रेष्ठलाई ५ लाख जरिवाना
३ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको अन्तिम त्रैमासमा पाँच विकास बैंक र तीन फाइनान्स कम्पनीलाई कारबाही गरेको छ ।
जसमध्य सिन्धुविकास बैंकलाई समेत कारबाही गरेको हो । सिन्धु विकास बैंकलाई पनि शीघ्र सुधारात्मक कारबाही गर्दै सो बैंकका सञ्चालक समिति अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठलाई राष्ट्र बैंकले ५ लाख नगद जरिवाना गरेको बताएको छ । संस्थामा गरिएका हरेक निर्णय व्यवस्थापनको सिफारिसमा गरिएको भनी निर्णयको स्वामित्व लिन नखोजी गैरजिम्मेवारपूर्ण तर्क पेस गरेको तथा संस्था सुधारका लागि पटक–पटक दिइएका निर्देशन पालना नगरेकोले श्रेष्ठलाई राष्ट्र बैंकले नगद जरिवाना सहित कारबाही गरेको हो ।
गत आर्थिक वर्ष २०८०÷८१ को चौथो त्रैमासमा विकास बैंक र फाइनान्स कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतलाई कारबाही तथा सचेत गराएको हो ।
सिन्धुविकास बैंक संगै राष्ट्र बैंक वित्तीय संस्था सुपरीवेक्षण विभागको कारबाहीमा पर्नेमा कर्णाली विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट र एक्सेल डेभलपमेन्ट बैंक छन् । फाइनान्स कम्पनीमा बेस्ट फाइनान्स, रिलायन्स फाइनास, र प्रोग्रेसिभ फाइनान्स कारबाहीमा परेका हुन् ।
उनीहरूले वार्षिक वित्तीय विवरण आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र लेखापरीक्षण सम्पन्न नगरेको र वार्षिक साधारणसभा समेत ढिलो सम्पन्न गरेकाले कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ । सिन्धुविकास बंंंैकका एक शेयर सदस्यका अनुसार उसले करिब ४ बर्ष देखि साधारणसभा समेत गरेको छैन भने लेखापरिक्षण समेत अनियमिता गरिएको पाईएको छ ।
उसोत ४ बर्ष अघि सिन्धुविकास बैंकमा कार्यरत कर्मचारी सुमन खरेल र रकम चलाउने ३ जनाविरुद्ध सीआइबीमा उजुरी परेको थियो । खरेलले एनसीसी बैंकमा रहेको खातामा जम्मा गर्नुपर्ने एक करोड उनासी लाख नब्बे हजार आठ सय पचपन्न रुपैयाँ आफुले निकाली बैंकको सम्पत्ति अपचलन गरेको भेटियो थियो ।
यो प्रकरण बाहिर आएपछि सिन्धु बिकास बैंकसँग डिपोजिटरहरु पनि शशंकित बनेका छन् । सिन्धु बिकास बैंकमा जम्मा गरेको रकम कर्मचारीले नै चलाईदिएको खबर बाहिर आएपछि कतिपय कम बुझ्ने डिपोजिटरहरुले बैंकबाट रकम निकालेका छन् भने कतिपयले खाता नै बन्द समेत गरेका थिए ।
राष्ट्रबैंकले सञ्चालक समिति अध्यक्ष श्रेष्ठ र सिन्धुविकास बैंकलाई सुधारात्मक कारवाही गरेको चर्चा आएसंगै बंैकले सर्वसाधारण बचतकर्ताको विश्वास गुमाएको जानकारहरु बताउँछन् । व्यापारी समेत रहेका श्रेष्ठ २ कार्यकाल सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अध्यक्ष, माहासंघको केन्द्रीय सदस्य तथा गत निर्वाचनमा प्रतिनिधिसभा क्षेत्र नम्बर १ को (ख) बाट नेपाली कांग्रेसबाट उम्मेदवार बनेर पराजय बनेका थिए । यस सन्दर्भमा श्रेष्ठसंग बुझ्दा उनले कुनै ग्राहकको चेक सम्बन्धी समस्या आएको र त्यो समस्या सञ्चालक समितिको नभई व्यवस्थापकीय दायित्व रहेको हुनाले आफूले राष्ट्रबैंकलाई जवाफ पठाईसकिएको उनले प्रतिक्रिया दिए । सञ्चालन समितिको ४ बर्ष सम्म साधारणसभा नबसेको भन्ने आरोपको खण्डन गर्दै गत साल गर्न नसकेपनि यसपालि देखि निरन्तर हुने बताए ।

