
सिन्धुपाल्चोकमा जिल्ला विपद सहायता कक्ष सञ्चालनमा

असार २१, चौतारा । मनसुनजन्य विपद न्यूनिकरण एवम् सहयोगका लागि गर्नका लागि सिन्धुपाल्चोकमा जिल्ला विपद सहायता कक्ष सञ्चालनमा ल्याइएको छ ।
प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले शुक्रबार सहायता कक्षको विधिवतरुपमा उद्घाटन गरेका हुन् । सो अवसरमा विपदबाट प्रभावितहरुका लागि विपद कक्षबाट तत्काल एकीकृत र समन्वय गर्दै प्रभावकारी ढंगबाट राहत, उद्धार र विपद प्रतिकार्यमा जुट्न कक्षले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
सहायक प्रमुख जिल्ला अधिकारी जीतबहादुर भण्डारीले गृहमन्त्रालयको निर्देशन अनुसार मनसुनजन्य लगायत विपदको समयमा उद्धार र राहतका कार्यलाई प्रभावकारीरुपमा व्यवस्थित गर्नका लागि विपद सहायता कक्ष सञ्चालनमा ल्याईएको बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी संयोजक रहने जिल्ला विपद सहायता कक्षमा जिल्लास्थित सुरक्षा निकायका प्रतिनिधिहरु, पत्रकार महासंघका प्रतिनिधि, उद्योग बाणिज्य संघ प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि सदस्य र जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका प्रतिनिधि सदस्य सचिव रहने व्यवस्था छ ।
जिल्ला सदरमुकाम चौतारामा रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रको भवनबाट नै जिल्ला विपद सहायता कक्ष सञ्चालन हुने सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले जानकारी दिए ।
विपदको समयमा महिला, जेष्ठ नागरिक, अपाङ्गता, बालबालिका, लगायत जोखियुक्त समूहको पहिचान गरि प्राथमिकता राख्ने, राहत वितरणमा एकद्वार प्रणाली अबलम्बन गर्ने र सहायता कक्षमा मोबाइल नम्बरसहितको सम्पर्क व्यक्ति तोकी सार्वजनिक गर्ने लगायतका कार्यदिशाका सहायता कक्ष सञ्चालनमा आउने सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।