तातोपानी नाकाको सन्दर्भमा सर्वपक्षीय छलफल, सडक लगाएत पूर्वाधार निमार्णमा सबैको चासो

बैशाख ५, तातोपानी । छिमेकी मुलुक चीनसंग जोडिएको उत्तरी नाका तातोपानी नाकाको सन्दर्भमा सर्वपक्षीय छलफल भएको छ ।
पुरानै लयमा फर्केको तातोपानी नाका पुग्ने सडक लगाएत पूर्वाधारको अवस्था नाजुक रहको भन्दै सरोकारवालाहरुले उक्त पूर्वाधार निर्माणमा जोड दिएका छन् । नेपाल चीन विचको व्यापारिक तातोपानी नाका पुग्ने अरनिको राजमार्गबारे सम्बद्ध सबैले चिन्ता व्यक्त गरेका छन् ।

सिन्धुपाल्चोक क्षेत्र न. १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा सुबोधको अग्रसरतामा बुधबार तातोपानी भन्सार कार्यालयमा भएको सर्वपक्षीय छलफलमा बाह्रविसेदेखि लिपिङसम्मको सडक मर्मत हुन नसक्दा नाका सञ्चालनको दिगोपनाबारे समेत चिन्ता व्यक्त गरे । संघदेखि स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, भन्सार प्रमुख, अध्यागमन, क्वारेन्टाइन, उद्योग वाणिज्य संघ र स्थानीयको उपस्थितिमा तातोपानी नाका सञ्चालन र चुनौतिबारे छलफल भएको हो ।

लामो समय बन्द रहेर गत भदौ १५ गतेदेखि मानव सहित दोहोरो आवत जावत खुलेको नाकाको सञ्चालन र चुनौतिबारे पूर्व बजेट छलफल र बर्षातको समय सुरु हुन लागेकोले छलफल राखिएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका माहासचिव ईश्वर गुभाजूले जानकारी दिए । उनका अनुसार कार्यक्रममा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नाका पुग्ने सडकको स्तरोन्नति चीनले गरिदिने विषयमा भएको सहमतीका सन्दर्भमा चिनियाँ पक्षसँग छलफल भएको भन्दै सांसद माधव सापकोटा सुवोधले आफ्नो धारणा राखेका थिए । सडक विभागले बनाएको डिपिआर अनुसार सडक स्तरोन्नति गरिदिन आग्रह गरिएको समेत सांसद सापकोटाले जानकारी गराएका थिए । चीनले नेपालले तयार गरेको डिपिआर अनुसार काम गरेर सडक हस्तान्तरण गर्ने अवस्था नभएमा अर्थ मन्त्रालयबाट बजेट विनियोजन गरेर सडक स्तरोन्नति गरिने उनको भनाई छ । सडक स्तरोन्नति, नाकामा अध्यागमन सहितको एकिकृत भवन, नेपालतर्पm स्वागतद्वारका विषयमा आफूले गम्भीरतापूर्वक अग्रसरता लिएर काम गरिरहेको सांसद सापकोटाले जानकरी दिए ।

जुरे देखि लिपिङखण्डलाई प्राथमिकता दिएर काम गर्न सडक विभागलाई सुझाव दिदैं सापकोटाले कोदारीको इको पहिरो क्षेत्र, डाक्लाङ क्षेत्र, जुरे र बाह्रविसे क्षेत्रमा सडक सुचारु गर्ने साधन तयारी अवस्थामा राख्न निर्देशन गरे । सांसद सापकोटाले सडक विभागका अधिकारीहरुलाई तत्कालिन र दीर्घकालिन प्राथमिकता अनुसार काम गर्न सुझाव दिए । भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पाले स्थानीय सरकारले नाका सञ्चालनका लागि सहजीकरण गरिरहेको बताए । अरबौंको राजश्व उठाउने तातोपानी नाकालाई राज्यले गाइको दुध खाएर स्याहार नगरेजस्तो भएको गुनासो गरे । उनले आगामी बर्ष सम्म पनि सडक सुधार नभए नाका सञ्चालनमा कठिनाइ हुन सक्ने भन्दै चिन्ता व्यक्त गरे । अध्यक्ष शेर्पाले राजश्व उठे अनुसार राज्यले तातोपानी नाकालाई विशेष ध्यान दिनु पर्ने माग गरे । उनले भन्सार क्षेत्रमा सार्वजनिक सौचालय नहुँदा अप्ठेरो अवस्था रहेको बताए ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले नाका क्षेत्रमा क्रमिक सुधार भएपनि धेरै काम हुन बाँकी रहेको बताए । बाटोलाई प्राथमिकता दिने सवालमा सबैको एकमत रहेको बताउँदै आचार्यले संघीय सरकारले बजेट निर्माण गर्दा सडक स्तरोन्नतिको विषयलाई प्राथमिकता दिनु पर्ने धारणा राखे । उनले नेपालका गाडी लिएर चीनतर्फ जाने विषयमा छलफलको पहल गरिदिन र निकट भविश्यमा हुने नेपाल चीन उच्चस्तरीय छलफलमा नाकासँज जोडिएका विषय उठाइदिन सांसद सापकोटासंग आग्रह गरे । त्यस्तै सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपि सन्तोष खड्काले प्रहरीले सिमा क्षेत्रको सुरक्षा संवेदनशीलतालाई विशेष ख्याल गरेको जानकारी दिँदै राजश्व चुहावट र अवैध सामान नियन्त्रणका सम्बन्धमा सुरक्षा सजकता अपनाइएको बताए । नेपाली पक्षबाट हुने सानो गल्तिले पनि नकारात्मक सन्देश प्रवाह हुने भएकोले प्रविधिमा भएको उच्चस्तरको विकासलाई सुरक्षा क्षेत्रमा प्रयोग गर्ने वातावरण बनाउनु पर्ने धारणा राखे ।

जिल्लाका सशस्त्र प्रहरी प्रमुख एसपि राजेश्वर पोखरेलले जनशक्ति र स्रोत साधनको अभावकाविच नाका क्षेत्रमा सुरक्षा दिइरहेको जानकारी दिए । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा ९ वटा सिमा पिल्लर रहेकोमा बोक्चेन क्षेत्रमा ५४.२ नंबरको पिल्लरको सुरक्षा एवं २०७१ सालमा भोटेकोशी बाढीले बगाएको ५४ .३ नंबरको सिमा पिल्लर राख्नु पर्ने आवश्यकता औंल्याए । अनुसन्धानका प्रमुख राजन प्रजापतिले भूराजनीतिक हिसाबले महत्वपूर्ण नाकाबारे विशेष ख्याल गरिएको बताए । तातोपानी भन्सार प्रमुख दयानन्द केसीले भन्सारले तोकिएको लक्ष्य अनुसार आठ अर्ब राजश्व उठिसकेको जानाकारी दिँदै यो बर्ष १२ अर्ब राजश्व उठ्ने विश्वास व्यक्त गरे । नाका सुचारु भएपछि व्यापार, राजश्व, मानिसहरुको आवतजावत बढीरहेको केसीले बताए । आगामी साउनदेखि तातोपानी नाका देशकै अत्याधुनिक नाका बन्ने चरणमा रहेको केसीको भनाई छ । उनले भन्सार पुरानै लयमा फर्किएपनि सडक र पूर्वाधारका कारण चुनौति कायम रहेको बताए । विगत १९ महिना यता भन्सार प्रमुख रहेका केसीले तातोपानी नाका भएर स्थलमार्गबाट आउने चिनियाँ पर्यटकको संख्या बढीरहँदा नेपालमा झमेला रहेनछ भन्ने भन्ने सन्देश दिन नहुने भन्सार प्रमुख केसीले बताए । तातोपानी नाका उज्जल भविश्य भएको नाका रहेपनि अहिले आउनेहरुले ७२ साल अघि भन्दा पनि कमजोर अवस्थाको बाटो देखेर दिक्क मान्ने गरेको केसीले सुनाए ।

कृषि मन्त्रालयलय अन्तरगत प्लान्ट, पशु र खाध्य गरी तीनवटा क्वारेन्टाइन हेरिरहेका कौशल ओझा, विकास धौभन्जर र कल्पना पाण्डे सहज रुपमा काम भइरहेको सुनाए । डिभिजन सडक कार्यालय चरिकोटका इन्जिनियर सुरज महर्जनले अरनिको हाइवेको बाह्रविसेदेखि कोदारी क्षेत्रको स्तरोन्नतिका लागि चार अर्ब खर्च लाग्ने देखिएको जानकारी दिँदै यसका लागि बजेट सुनिश्चित हुन नसकेको बताए । यो बर्ष बजेट अभावका कारण बिग्रेको बाटो पन्छाउने बाहेकका काम गर्न सकिने अवस्था नरहेको बताए । उलने अलि अलि भएको बजेटले टालटुलको काम मात्रै भइरहेको जानकारी दिए ।

अध्यागमन अधिकृत दिपेन्द्र पौडेलले तातोपानी अध्यागमन कार्यालय समेत नएर अफ्ठेरो झेलीरहनु परेको गुनासो गरे । सरदरमा दैनिक सय जना चिनियाँ पर्यटकले तातोपानी नाका भएर आवत जावत गर्ने गरेको जानकारी दिँदै उनले नेपाललाई देख्ने पहिलो मुहार अध्यागमन कार्यालय नै नाजुक अवस्थामा रहेकोले भौतिक अवस्थामा सुधारका लागि पहल गरिदिन आग्रह गरे । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका महासचिव ईश्वर गुभाजुले भन्सार कार्यालयले व्यापारीलाई गरिरहेको सहजीकरणप्रति धन्यवाद ज्ञापन गर्दै नाका खुलेको आठ महिनामा पलाएको आशा कायम रहने वातावरण बन्ने विश्वास व्यक्त गरे । राजनीतिक दलका तर्फबाट भीम पराजुलीले नाकालाई व्यापार र पर्यटन दुबै क्षेत्रमा ध्यान दिनु पर्नेमा जोड दिए । उनले बाह्रबिसे माथिको सडकको स्तरोन्नतिलाई प्राथमिकता दिनु बताए । भोटेकोशी गाउँपालिका वडा नं ३ का अध्यक्ष निमा सोनामा शेर्पाले खुर्सानीबारीदेखि नाकासम्म पुग्ने सडकलाई नै पहिलो प्राथमिकतामा राखेर काम गर्नु पर्नेमा जोड दिए । उनले पार्किङ व्यवस्थापनमा पनि काम गर्न आवश्यक रहेको बताए ।