निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल सिन्धुपाल्चोकको वार्षिक साधारणसभा सम्पन्न

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल सिन्धुपाल्चोकको वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

जिल्लाको सुकुटेमा सम्पन्न भएकाे कार्यक्रमको उदघाटन निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपालका उपाध्यक्ष कृष्ण अधिकारीले गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि रहेका अधिकारीले तलव भन्दा बढी मिहेनत र मिहेनत भन्दा बढी बिश्वास गरेर निजि विद्यालयका शिक्षकहरु काममा खट्ने गरेको दावी गरे ।

उनले दक्ष विद्यार्थी उत्पादन गर्ने लक्ष्यका साथ अगाडि बढेको निजि विद्यालयले उत्पादन गरेका विद्यार्थीहरुले अहिले पनि उच्च र प्रशंंसनिय कार्य गरिरहेको बताए । अधिकारीले सरकारले विभिन्न शिर्षकमा निजि विद्यालयलाई विभेद गरेको भन्दै असन्तुष्टि जनाए । अब सिन्धुपाल्चोकमा मोडल विद्यालय स्थापन गरेर अगाडि बढाउन सुझाव दिदै जिल्लामा देखिएको सहकार्यले आफुलाई खुशी लागेको बताए । अबको विद्यार्थी हरुको शिक्षालाई सिप संग र सिपलाई शिक्षा संग जोडेर अगाडी बढ्नुको विकल्प नभएको उनले बताए ।

त्यस्तै शिक्षा विकास तथा समन्वय इकाई सिन्धुपाल्चोकका प्रमुख कृष्ण सुवेदीले सामुदायिक विद्यालय र संस्थागत विद्यालयको शैक्षिक स्थिति हेर्दा संस्थागत विद्यालयले उत्कृष्ट अंक ल्याउन सफल भएको बताए । उनले आफुले कहिल्यै पनि संस्थागत र सामुदायिक विद्यालय भनेर विभेद नगरेको उल्लेख गर्दै सधैंभरि हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए । स्थानीय सरकारसंग समन्वय गर्दै अगाडि बढ्न पर्ने उल्लेख गर्दै दक्ष विद्यार्थी उत्पादनमा महत्त्वपूर्ण भुमिका खेल्ने निजि विद्यालयलाई पनि स्थानीय सरकारले संगै जोड्दै लैजान पर्नेमा जाेड दिए ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन बागमती प्रदेशका सचीव ऋषिराम नेपालले प्याब्सन भित्र रहेका समस्या तथा चुनौतीलाई चिर्दै अगाडि बढ्नका लागी सुभकामना व्यक्त गरे । निजी तथा आवासीय विद्यालयको बर्तमान अवस्थाको बारेमा जानकारी गराउँदै नेपालले शिक्षालाई संस्कार र जिविकोपार्जन संग कसरी जोड्न सकिन्छ भन्ने बिषयमा छलफल गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा प्याब्सन सिन्धुपाल्चोकका अध्यक्ष ओमप्रकाश उप्रेतीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल पत्रकार महासघं सिन्धुपाल्चोकका उपाध्यक्ष दिनेश थापा,अनेरास्ववियु सिन्धुपाल्चोकका संयोजक शितल मोक्तान,अनेरास्ववियु क्रान्तिकारी सिन्धुपाल्चोकका सचीव सुवास गौतम लगायतले आफ्नो भनाइ राखेका थिए ।

प्याब्सनका उपाध्यक्ष दिनेश बस्नेतले स्वागत मनतव्य राखेकाे साधारणसभाकाे सांगठानिक प्रतिवेदन सचीव बुद्धिप्रसाद आचार्य र आर्थिक प्रतिवेदन प्याब्सनका कोषाध्यक्ष मदनकुमार सापकोटाले प्रस्तुत गरेका थिए । करिब २७ वटा निजि विद्यालय रहेको जिल्लामा १९ वटा विद्यालय प्याब्सनमा आबद्ध रहेको सचीव बुद्धिप्रसाद आचार्यले जानकारी दिए ।